लगातार घटयो सुनको मूल्य, आज कति छ तोलामा ?

रेडियो दर्पण संवाददाता

३१ भदौ, काठमाडौं ।

सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ ।साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ रुपैयाँले सुनको मूल्य घटेको हो ।बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।

बैतडीमा बिना प्रशिक्षक खेलाडी प्रशिक्षणमा

बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका एक सय ५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् ।

यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्डहल नै ।

खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।”

कराते, भारोत्तोलन, ब्याडमिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छनोट भएका छौँ तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुने गरेको छ ।”

प्रशिक्षकबिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने गरेको खेलाडी दिनेश ठगुन्नाले बताउनुभयो । बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउनुहुन्छ । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ ।

उहाँले भन्नुभयो, “खेलमैदान नहुँदा सडक तथा विद्यालयका स–साना खेलमैदानमा छनोट खल खेलाउनुपरेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसँग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेको छैन ।”

साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उहाँले भन्नुभयो, “जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैँ पूर्वखेलाडी भएकाले प्रशिक्षक अभावमा आफैँले प्रशिक्षक बनेर धेरै खेल खेलाउने गरेको छु ।” प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटक–पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएकोे भण्डारीको दुःखेसो छ ।

पहाडी जिल्लामा प्रशिक्षक आउन आनाकानी गर्ने गरेका र उनीहरूलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ ।

बहुउद्देश्यीय कभर्डहल कञ्चनपुरमा निर्माण हुने

कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताउनुभयो । “यहाँ विभिन्न खेलका स–साना टहराहरू मात्रै भए”, मन्त्री रावलले भन्नुभयो, “इन्डोर खेल सञ्चालनलाई करिब रु २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।”

कञ्चनपुरमा हाल नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आठ खेलको प्रदेशस्तरीय छनोट शनिबारदेखि हँुदैछ । यहाँ भलिबल, कबड्डी, कराते, कुस्तीलगायतका खेलको प्रदेशस्तरीय छनोट हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कञ्चनपुरबाट मात्रै ३१ खेलका चार सयभन्दा बढी खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भइरहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।