मलेसिया बाट आयो खुशीको खबर,मलेसियामा मृत्युदण्डको सजाय पाएका नेपाली युवा जोगिए !

रेडियो दर्पण संवाददाता

२३ भदौ, मलेसिया ।

मलेसियामा मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली मृत्युदण्डको सजायबाट बचेका छन् । साविकको धनुषा जिल्ला गोविन्दपुर -२ घर भएका सुरज देव शाह तेलीको सजाय परिवर्तन भएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका सुरज कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । दुतावासका अनुसार मलेसियाको इपो राज्यको उच्च अदालतले सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो ।

उक्त अदालतको फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले आज सन् २०२२ सेप्टेम्बर बिहीबारका दिन श्री सुरज देव साह तेलीको कसूरलाई मलेसियन जदारी संहिताको दफा ३०२ बाट दफा ३०४ ( क ) मा परिवर्तन गरी बाह्र वर्ष जेलसजाय कायम गरेको छ ।

सोही बमोजिम श्री सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्किने छन् ।

सुरज देव विरुद्ध डिसेम्बर २, २०१६ मा बिहान १.३० देखि ४.०५ बजेको बीचमा हुतान मेलिन्टाङको कम्पुङ मुटियारा बटु १० स्थित घरमा ३४ वर्षीय हरितासको हत्या गरेको अभियोग छ ।

क्रिकेट कप्तान लामिछानेमाथि पक्राउ पुर्जी जारी
बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।

अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।

जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको छ ।