जसलाई बैंकको जागिर भन्दा कालिज प्यारो लाग्यो !

कृषि पो्ट संवाददाता

बेनीबजार ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ लस्तीका यामनाथ आचार्य केही बर्षअघि बैंकको जागिर खाइरहेका थिए । विहान सबेरैदेखि बेलुवा अबेरसम्म काम गर्नपर्ने बैंकको जागिर छोडेर उनी कृषि पेशामा आवद्ध भएका छन् ।

आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन् । उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन् ।

रु. ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गरेका आचार्यले यस पेशामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाएका छन् ।

कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए । उनको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन् ।

तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए । पौने दुई किलोसम्मको एउटा कालिज रु. तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ ।

कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ । कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन् ।

हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए । उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् ।

निकट भविष्यमा ‘ह्याचिङ मेशिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए ।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ ।

कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ ।

आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए । उनको फार्ममा कालिज, टर्की र बाख्रा छन् ।

तीनवटा पोखरीमा माछापालन पनि सुरु गरेका छन् । जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु। ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लोसमय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो । दृष्टि साप्ताहिकबाट

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏