ह्वात्तै बढ्यो प्याजको मूल्य,प्रतिकिलो कति पुग्यो त? हेर्नुहोस्

कृषि पोष्ट संवाददाता
काठमाडौं, १७ कात्तिक । 

कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार असोज दोस्रो सातादेखि प्याजको मूल्य निरन्तर वृद्धि भएको हो ।

भन्सारबाट कम प्याज आयात भएको वा आयात हुन बन्द भएका कारण नेपाली बजारमा प्याजको मूल्यमा वृद्धि भएको होइन । भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको उहाँले बताउनुभयो ।

‘भारतमा प्याजको मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य वृद्धि हुने र भारतमा मूल्य घट्दा नेपालमा पनि प्याजको मूल्य घट्ने हुन्छ,’ उहाँले भन्नुभयो । अघिल्लो महिनाको असोज दोस्रो सातादेखि प्याजको भाउ उकालो लाग्न थालेको उहाँले बताउनुभयो । यद्यपी अहिले ७० देखि ८० रुपियाँको हाराहारीमा प्याज बिक्री भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

भन्सार विभागले भन्सारबाट दैनिक प्याज आयात भइरहेको जनाएको छ । विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले प्याज आयात भइरहेको बताउनुभयो । काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा दैनिक ८० देखि १०० टन प्याज भित्रिएको कालिमाटीका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले प्याजमा आन्तरिक उत्पादन नभएका कारण पनि प्याजका लागि भारतमा निर्भर हुनुपरेको उहाँले बताउनुभयो ।

‘प्याजमा आन्तरिक उत्पादन खासै छैन । आन्तरिम उत्पादन भएपनि बजारसम्म आइपुग्दैन । आन्तरिक उत्पादन बजारमा आइहाल्यो भने एकदमै कम आउँछ ।,’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘आन्तरिक उत्पादित प्याजले बजारको मागलाई धान्न सक्दैन । जसका कारण प्याजका लागि भारतमा निर्भर हुनुपरेको हो ।’आर्थिक वर्ष ०७७–७८ मा भारतबाट करिब एक लाद २७ हजार मेट्रिक टन प्याज आयात भएको थियो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏