व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्दै डडेल्धुराका कृषक

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

पछिल्लो समयमा डडेल्धुराका कृषक व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषक किवीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

डडेल्धुरामा किवी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको अमरगढी नगरपालिका-२ का हिक्मत खडायतले ९ रोपनी बढी जमिनमा किवी खेती गरिरहेका छन् ।

किविभन्दा अघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती पनि गरेका थिए । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए । ‘करिब ५ हजार बोट किवी लगाएको छु । प्रतिबोट ५ सयका दरले बिक्री गर्छु,’ उनले भने, ‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवि रोपेर नै ५ जनाको परिवार पालिरहेको छु ।’

उनले अगाडि थपे, ‘बेर्ना हुर्कन कम्तीमा एक/डेढ वर्ष लाग्छ । रोपेको करिब ३ वर्षदेखि ५०/६० वर्षसम्मै किवीले आम्दानी दिने सुनेको छु ।’ किवी खेतीबाटै घर खर्च कटाइ वार्षिक १/२ लाख बचत गर्ने गरेको उनले सुनाए ।

किवी खेती गरेमा समय पनि बचत र आम्दानी राम्रो हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी नगरपालिका–१ का गणेशबहादुर ऐरले बताए । सुरुमा ५ लाख लगानी गरेर किवी खेती गरेको उनले सुनाए ।

छोराछोरीको पढाइ खर्चदेखि लिएर घरपरिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेकाे उनी बताउँछन् । ७ वर्षदेखि उनी किवी खेती गरिरहेका छन् । किवी खेती गर्नुभन्दा पहिले आफू भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ ।

‘किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०/१२ जना हामी सहभागी थियौँ । तर, किवी खेती गर्न कसैले मानेनन्,’ उनले भने, ‘जिल्लामा पहिलो पटक मैले यो खेतीको सुरुवात गरेँ । सुरुमा १ सय बोट लगाएँ । अहिले त जिल्लामा किवी खेती गर्ने ३०/४० किसान पुगिसके ।’

गत वर्ष १६ क्विन्टल मात्र फलेको किवी यो वर्ष भने मौसमले साथ दिएकाले करिब ३० क्विन्टल उत्पादन हुने ऐरको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकाले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान याे खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए ।

किवी खेती मौसमका अनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुवात गरिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

उनका अनुसार किवी खेती समुद्री सतहबाट १ हजार २ सय मिटरदेखि २ हजार ४ सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन ।

लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्त्वपूर्ण औषधिको रूपमा लिइन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏