शिक्षण पेशासँगै कृषि व्यवसाय अंगाल्दै प्रधानाध्यापक आचार्य

कृषि पो्ट संवाददाता

काठमाडौं, १८ भाद्र ।

सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन्। सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यवसायिक खुर्सानी खेतीमा पनि व्यस्त छन्। घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन्।

दुई सय रोपनी बाझो खेतबारीमा व्यवसायिकरूपमा खुर्सानी खेती गरेका प्रधानाध्यापक आचार्यले रु एक करोड आम्दानी हुने अनुमान गरेका छन्।

यसैगरी चालिस रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक रु सात लाख र गोलभेंडा खेती तथा कुखुरापालन व्यवसायबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन्।

परिवारको सहयोगका कारण शिक्षण पेशासँगै कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरेका हुन्।

प्रधानाध्यापक आचार्य र कृष्ण भट्टराईद्वारा सञ्चालित त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फार्मको सो खुर्सानी खेतीले सबैको मन लोभ्याएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वन एकाइको चक्लाबन्दी कार्यक्रमबाट उक्त खेतीका लागि सहयोग मिलेकाले बाझो जमिनमा व्यवसायिकरूपमा खेती गर्न थालिएको प्रधानाध्यापक आचार्यको भनाइ थियो।

परियोजनाको सहयोगका कारण पहाडको भिरालो जमिनलाई उत्पादनशील बनाउँदै आम्दानीको स्रोत बनाउने प्रयास गरिएको उनले बताए।

‘शिक्षित तथा अशिक्षित युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन्। गाउँमा बाझो खेतबारीमा लाखौं आम्दानीको सम्भावना छ’, प्रधानाध्यापक आचार्यले भने, ‘आउनुहोस् सँगै मिलेर कृषिमा काम गरौं, स्वरोजगार बनौं र रोजगारीका अवसर सिर्जना गरौं।’

परम्परागत अन्नबाली धान र मकैखेतीबाट प्राप्त आम्दानी कम हुने भएकाले सो व्यवसाय छाडेर व्यवसायिकरूपमा खुर्सानी खेतीमा आकर्षण बढेको हो।

रैथाने अन्नबाली उत्पादनमा बढी श्रम खर्चिनुभन्दा सयौं गुणा बढी फाइदा हुने, बाँदरलगायत वन्यजन्तुबाट नोक्सानी न्यून हुने यस खेतीप्रति आफू आकर्षित भएको उनले बताए।

१५ परिवारको खेतबारीमा खुर्सानी खेती

अधिकांश मानिस घर नै खाली राखी सहर प्रवेश गरिरहेकाले १५ परिवारको २०० रोपनी खेतबारी वार्षिक प्रतिरोपनी रु ६०० का दरले पाँच वर्षसम्मका लागि भाडामा लिएर खोर्सानी खेती थालिएको हो।

झाडी हटाएर खुर्सानी खेती

दश/बाह्र वर्षदेखि बाझो रहेको जमिनमा व्यवसायिक अहिले अकबरे खुर्सानी खेतीले त्यहाँको जमिन हराभरा बनेको छ। रु एक लाख ३५ हजार खुर्सानीका बिरूवा अहिले हराभरा देखिएको हो। अनुत्पादनक क्षेत्रका रूपमा बदलिएका बाझो खेतबारीका घाँस तथा झाडी हटाएर यो खेती थालिएको सञ्चालक आचार्यले बताए।

घरबाटै खुर्सानी विक्री

खुर्सानीे प्रतिकिलो रु २५० मा घरबाटै विक्री हुँदै आएको अर्का सञ्चालक भट्टराईले बताए।

अकबरे खुर्सानी विक्रीका निम्ति कुनै समस्या छैन। चाउचाउ कम्पनीबाट ठूलो परिमाणमा खुर्सानीको माग भइरहेको छ। पाकेपछि विक्री गर्न अप्ठ्यारो नहुने उनले बताए।

वैशाखमा रोपिएका खुर्सानी १२५ किलोभन्दा बढी विक्री भइसकेको छ। झण्डै रु २५ देखि ३० हजारसम्मको आम्दानी यो असारमा भएको छ।

नियमितरूपमा खुर्सानी टिपेर बेच्ने काम अब हुन्छ। झार हटाउनुपर्ने, खुर्सानी टिप्नुपर्नेलगायत कामको चाप बढ्दो छ। आम्दानीसँगै खर्च र मेहनत पनि प्रशस्त रहेको सञ्चालक भट्टराईको भनाइ थियो।

बिरूवाबाट ५० हजार आम्दानी

अहिलेसम्म खुर्सानीको बिरूवाबाट रु ५० हजार आम्दानी भएको छ। हामीले चैतमा खुर्सानी रोपेकामा असार महिनासम्म बिरूवा खरिद भएको थियो। भदौको अन्तिमतिरबाट खुर्सानीको ठूलो मात्रा निकासी गरिने र कात्तिक महिनासम्म यसबाट उत्पादन हुने उनले बताए।

करोड आम्दानी गर्ने योजना

परियोजनाका माध्यमबाट इलामको खुर्सानी खेतीका लागि अध्ययन, अवलोकनका साथै प्राविधिक र यान्त्रिक सहयोग मिलेको छ।

मल्चिङ प्रविधिका कारण उत्पादन बढी हुने र थोरै जनशक्तिबाटै काम गर्न सकिने हुँदा खर्चसमेत न्यून हुने प्रधानाध्यापक आचार्यको भनाइ थियो।

यस वर्ष खुर्सानी खेतीबाट रु एक करोड ३५ लाख बढी आम्दानी हुने अनुमान छ। रासस

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏