‘किसानको हितकालागि निजी मिडियाहरुसंग सहकार्य गर्दै जान्छौ’

कृषि पोष्ट संवाददाता

कृषि सूचना केन्द्रको नाम अहिले परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र भएको छ । यस केन्द्रले कृषि क्षेत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेका कार्यलयका सूचना तथा विकासका गतिविधिलाई मास मिडिया मार्फत सर्वसाधरणसम्म पुर्उँदै आईरहेको छ । यस केन्द्रको दायित्व र जिम्मेवारी पनि थपिएको छ । संगै, बजेट पनि तीन गुणा बढेको छ । यस केन्द्रमा गत साउनदेखि प्रमुखको रुपमा निरु पाण्डे दाहाल आएकी छन् । उनै प्रमुख दाहालसंग हलोखबरकालागि मनोज श्रेष्ठले गरेको कुराकानी ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रको मुख्य कामहरु के के हुन ?
सामान्यतय, पहिलेको भन्दा केही जिम्मेवारी थपिएको छ । समग्रमा भन्नुपर्दा कृषि क्षेत्रका गतिविधि आम कृषकसम्म पुर्याउदै आएको यस कृषि सूचना तथा प्रशिक्षण केन्द्रले अव प्रशिक्षण दिने काम पनि गर्छ । नयाँ तथा पुराना कर्मचारीको स्तरवृद्धिकालागि विभिन्न किसिमका प्रशिक्षण दिने काम पनि गर्दै आएको छ । मास मिडिया मार्फत कृषि क्षेत्रको गतिविधी तथा कृषिमा विकास भएका कुरा सर्वसाधरण किसानसम्म पुर्याउँदै आएको छ ।

हुन त तपाई भर्खरै आउँनुभएको छ, छोटै समय भएपनि के बुझ्नुभयो ?
म पनि सिक्दै छु । वुझ्दै छु । समग्रमा भन्नुपर्दा यहाँबाट सूचना सम्प्रषण गर्ने कामहरु भईरहेको रहेछ । कृषि क्षेत्रमा भएको कार्यक्रम, यस क्षेत्रमा भएको गतिविधी, प्रविधि विकास जस्ता कुराहरु रेडियो, टेलिभिजन मार्फत सर्वसाधरण किसानसम्म पुर्याउँदै आईरहेको रहेछ । पक्कै पनि यसले राम्रै सन्देश दिने गरेको रहेछ । साथै म आईसकेपछि पनि केही कार्यक्रम परिमार्जन गर्ने सोच्दैछु । साथै कृषिमा कर्मचारीको स्तरवृद्धिकालागि केही प्रशिक्षणका कामहरु पनि भएका छन् । पक्कै पनि राम्रै होला भन्ने सोचिएको छ ।

खासमा यस केन्द्रले उत्पादन गरेको कार्यक्रमहरु प्रभावकारी छन त ?
पक्कै पनि राम्रा छन् । तर, लक्षित समुदायसम्म भनेजस्तैगरी पुर्याउन भने सकिएको छैन् । यसमा हामीले पनि कमजोडी स्वीकार गर्नुपर्छ । विस्तारै यसलाई प्रभावकारी बनाउँदै लैजानुको विकल्प छैन । अहिले रेडियो, टेलिभिजनका साथै बार्षिक तथा त्रैमासिक रुपमा पत्रपत्रिकाहरु प्रकाशन गर्दै आएका छौ । यसलाई थप प्रभावकारी बनाउँदै लैजाने छौ ।

थप भन्नाले कस्तो योजनाहरु आउँदैछ ?
अव युट्युव तथा एप्सहरु पनि ल्याउँने तयारी हुदैछ । यहाँ भएका कर्मचारीका साथै अन्य विज्ञ हायर गरेर भएपनि यसलाई प्रभावकारी बनाउँदै लैजाने लक्ष्य छ । यसमा सवैको सहयोगको आवश्यकता पर्छ ।

अहिलेसम्म यस केन्द्रबाट उत्पादन भएको कार्यक्रमहरु के के छन् ?
किसानलाई सूचना दिने काम नै मूख्य हो । यसकालागि हामीले रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरु मार्फत सूचना पुर्याउँदै आईरहेका छौ । नेपाल टेलिभिजनबाट दैनिक, रेडियो नेपालबाट पनि कृषि कार्यक्रम संचालन हुदै आएको छ । त्यो बाहेक कृषक वुलेटिन त्रैमासिक तथा बर्षमा एउटा कृषि डाईरी प्रकाशन हुदै आएको छ । अर्को भने कृषकसंग प्रत्यक्ष रुपमा सातामा ३ दिन विज्ञसंग कुराकारी गराईन्छ । त्यस बाहेक देश संघीयतामा गएपछि यस केन्द्रको काम थपिएको छ । अघि पनि भनिसके कृषि क्षेत्रको प्रशिक्षण दिने काम पनि सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रम कस्तो प्रकृतिको हुन्छ ?
कृषिका विभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको स्तरवृद्धिकालागि आवश्यक कृषि प्रशिक्षणहरु हुन्छन् । उनीहरुले यस्तो तालिम लिएपछि बढुवामा समेत काम लाग्ने हुन्छ । नयाँ प्रवेसी कर्मचारीहरुले पनि भविष्यमा गर्नु पर्ने कामबारे थाहाँ पाउँछन् । यसैगरी विभिन्न विषयसंग सम्वन्धित कुराहरु पनि यहाँबाट पस्कदै लैजाने छौ । कृषि प्रशिक्षण केन्द्रका रुपमा सूचना तथा संचारका कामका साथै कृषि र पशुपंक्षी तालिम, कृषि अनुसन्धान तथा विकास प्रतिपर्धी काषको व्यवस्थापन गर्ने जिम्मा पनि आएको छ ।

यस केन्द्रको स्टकचर पनि परिवर्तन भएको छ ?
अवस्य पनि । ३७ जनाबाट ४४ जना कर्मचारी संख्या पुगेको छ । बजेट पनि ५ करोडबाट १६ करोड पुर्याईएको छ । पक्कै पनि अव चुनौति थपिएको छ । नविनतम प्रविधिका बारेमा जतिसक्दो चाँडो किसानसम्म पुर्याउँने कोसिस हुनेछ ।

टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाले एउटा फर्मेटमा काम गरिरहेको छ, यसलाई परिवर्तन गर्नु जरुरी छैन ?
पुरानै ढाचामा काम भईरहेको सही हो । तर, यसलाई विस्तरै परिवर्तन गर्दै लैजाने सोच छ । नार्कको प्रविधि पनि किसानसम्म नपुगेको गुनासो आउँछ । त्यस्तै हामीले दिने सूचना पनि संम्वन्धित ठाउँमा नपुगेको हुन सक्छ । यसलाई हामी करेक्सन गर्दै लैजाने छौ । संघीयतामा गईसकेपछि व्यवस्थापन हुनेक्रम भईरहेको छ ।

फिल्ड गएर कार्यक्रम निर्माण गर्ने योजना छैन ?
भर्खरै तनहुँमा सुन्तलाबारी निरिक्षण गर्न गएका थियौ । सुन्तलाको बगैचाबारे बुझ्ने मौका मिल्यो । र, त्यहाँका कृषकका कुराहरु हामीले भिडियोमा कैद गरेर ल्याएका छौ । त्यसलाई टेलिभिजन मार्फत किसानसम्म पुर्याउँछौ । यसैगरी अन्य ठाउँमा पनि समय समयमा हामी फिल्ड गएर रिपोर्ट तयार पाछौ । सफलताको कथाहरु पनि प्रसारण गर्ने गरेका छौ ।

यति धेरै वजेट छ, कृषि क्षेत्रमा पनि धेरै मिडिया आएका छन्, उनीहरुसंग कसरी सहकार्य गर्ने योजना छ ?
पक्कै पनि हामी सवैको उद्येश्य कृषकको विकास नै हो । त्यही भएर हामीले प्राईभेट मिडियालाई वाईपास गरेर जादैनौ । निजी मिडियासंग पनि सहकार्य गर्ने कार्यविधि बन्दै छ । अव यसबारे सहकार्य गर्ने दिन आउँदैछ ।

यस केन्द्रको वेबसाईट किन यति लामो समयसम्म बन्द छ ?
वेबसाईट बन्दै छ । नयाँ संरचना अनुसार बनाउँनुपर्ने भएको हुदा केही ढिला भएको हो । चाँडै वेबसाईट बन्छ । तर, सवै नयाँ स्वरुपमा ल्याउँनुपर्ने भएको हुदा केही ढिला भएको हो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏