१५ वर्ष विदेश बसेर कमाएको पैसा कृषिमा, महिनैपिच्छे ७० हजार हातमा

कृषि पोष्ट संवाददाता

काठमाडौँ, १७ असार ।

पोखरा महानगरपालिका– ३१, बेगनासका ३६ वर्षीय शिवहरि तिवारी १५ वर्ष विदेशी भूमिमा पसिना बगाएर स्वदेश फर्किए ।

वैदेशिक रोजगारीमा काम गर्दा तिवारीलाई नेपालमै कृषिमा केही गर्नुपर्छ भन्ने सोच बारम्बार दिमागमा आउने गरेको थियो । त्यही भएर वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि पेसा नै रोजेको तिवारीले जानकारी दिए ।

कतार, बहराइन, यूएई र जापानमा १५ वर्ष काम गरेर फर्किएका तिवारी हाल आफ्नै घर–गाउँमा ‘दिपिका–शिशिर कृषि फार्म’ सञ्चालन गरी बाख्रा र तरकारी खेती गर्न व्यस्त छन् ।

विदेशमा जस्तै नेपालभित्र कृषिमा पसिना बगाउँदा र परिश्रम गर्दा महिनामा सहजै ७० हजार रुपैयाँसम्म कमाइ हुनेगरेको तिवारीले जानकारी दिए ।

कृषि पेसा स्वरोजगार बन्ने सबैभन्दा बढी सम्भावना देखेरै लगानी गरेको शिवहरिले बताए । ‘आफ्नै घर–गाउँमा परिवारसँग बसेर स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ । खसीबोका, पाठापाठी र बाख्रा बेचेर वार्षिक विदेशभन्दा धेरै कमाउँछु भन्ने हिम्मत छ ।’ उनले भने, ‘खाडीका देशमा बालुवामा तरकारी फलेको देखेको छु । मरुभूमिमा ब्राखा, गाई र अन्य चौपाया पाल्छन् । नेपालमा त प्रकृतिले साथ दिएको छ, त्यही भएर कृषि गर्न सजिलो हुन्छ ।’

नेपालमा बाह्रमासे तरकारी र चौपाया पालन गर्न सकिन्छ । कृषिमा पैसैपैसा भएको उनको भनाइ छ ।

हाल फार्ममा जमुनापारी, खरी, बारबरी र बोयर जातका ५५ वटा बाख्रा छन् । साथै, मौसमअनुसारको तरकारी खेती र कुखुरापालन पनि गरिरहेको तिवारीले जानकारी दिए ।

विदेशको कमाइ लगानी गरेर कृषि फार्म सुरु गरेका उनले अहिलेसम्म ५० लाखभन्दा बढी लगानी गरिसकेका छन् । फार्मबाट मासिक सबै खर्च कटाएर ७० हजारभन्दा बढी कमाइ हुन्छ । व्यवसायबाट कमाइ भएको रकम पनि आफूले सोही व्यवसायमै लगानी गर्दै आएको आएको उनको भनाइ छ ।

फार्ममा उत्पादन भएका बाख्रा, कुखुरा र तरकारी स्थानीय बजार र पोखरा सिटीमा बिक्री हुने गरेको तिवारी बताउँछन् । उनले बाख्राको आहाराका लागि १२ रोपनी पाखो–बारीमा राईखन्यु, नेपिएर इपिल, किम्बुलगायत हिउँदे घाँसका बिरुवासमेत लगाएका छन् ।

कृषिको आयस्रोतबाट सात जना परिवारको खर्च धानिरहेको उनको भनाइ छ । कृषि पेसामा कसैले बेरोजगार र कामबिना बस्नु नपर्ने उनको भनाइ छ ।

जिल्ला पशु सेवा कार्यालय पोखराबाट बाख्रापालनसम्बन्धी आधारभूत तालिमसमेत उनले लिएका छन् ।
सरकारले कृषि पेसामा संग्लन किसानलाई अनुदान रकमभन्दा पनि बिउ–बीजन र अन्य कृषि सामग्रीका लागि सुविधा दिनुपर्ने उनको माग छ ।

सरकारले वितरण गरेको अनुदान रकमले केही समयका लागि कृषि क्षेत्रमा आकर्षण बढे पनि यसले कृषिमा खासै फाइदा पुग्दैन ।

व्यावसायिक रूपमा कृषि गर्ने किसानलाई अनुदानभन्दा पनि कृषि तालिम, बजारीकरण र आधुनिक प्रविधिको आवश्यकता रहेको उनले बताए । ‘सरकारले कृषिमा आधुनिकीकरण भित्र्याउन नसक्दा कृषक पराम्परागत खेती र चौपाया पालनमा निर्भर हुनुपर्ने अवस्था छ । व्यावसायिक रूपमा कृषि पेसामा लागेका किसान उत्पादन बढाउन खोज्छन् । तर, परम्परागत खेतीमै निर्भर हुँदा उत्पादन बढ्न सकेको छैन,’ उनले भने ।

नेपालले एक किसिमले कृषिमा फड्को मारिसके पनि सरकारले कृषिका योजना र उत्पादनलाई संस्थागत गर्न मात्र नसकेको तिवारीको भनाइ छ । कृषिमा किसान जिम्मेवार भएर लाग्न थालेका छन् । तर, सरकार भने कृषि र किसानका समस्याप्रति जिम्मेवार हुन सकेको छैन ।’

वैदेशिक रोजगारीमा काम गर्दा कृषिमा लागेका कृषक र व्यवसायप्रति त्यहाँको सरकारले गम्भीर भएर काम गरेको आफूले देखेको तिवारीले बताए । कृषकले उत्पादन गरेको सामग्री बिक्री नभए, कृषि व्यवसायको लगानी डुबे र बजारीकरणमा समस्या भए सरकारले जिम्मा लिने गरेको आफूले देखेको तिवारीले बताए ।

विगत एक दशकयता विदेशमा पढेर फर्किएका विद्यार्थी र वैदेशिक रोजगारीमा कृषिमा काम गरेर फर्किएका कामदारको कृषिमा आकर्षण बढ्दो छ । उनीहरूलाई सरकारले सहयोग र कृषिका योजना बनाउँदा प्राथमिकताभित्र राख्नुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏