२५ वर्षदेखि बढेन चैते धानको मूल्य, किसानलाई लागत उठाउनै मुस्किल

कृषि पोष्ट संवाददाता

काठमाडौँ, २७ जेठ ।

केही दिनयता खैरहनीको सुल्तानास्थित आधारभूत विद्यालयको चौर धानले भरिएको छ।

मंगलबार दिउँसो वर्षा हुने छाँट देखिएपछि सुकाइएको धानलाई सुरक्षित बनाउन किसानलाई हम्मे भयो। उनीहरूले झटपट धानलाई थुप्रो पारेर त्रिपालले छोपिहाले।

खेतबाट सिधै बिक्री गर्दाभन्दा केही सय रुपैयाँ बढी मूल्य आउने भएकाले यस क्षेत्रका प्रायः चौरहरू सुकाइएका धानले भरिएका भेटिन्छन्। खैरहनी–७ का सीताराम महतोको परिवारलाई केही दिनयता धान थन्काउने चटारो छ।

बहिनी बनियाँ महतो पनि उनलाई सघाउन आइपुगेकी छन्। यसपालि चार बिगाहा जमिनमा चैते धान रोपेका थिए सीतारामले। एक बिगाहा जमिनको धान बेचिसके। दुई बिगाहा जमिनबाट उत्पादन भएको धान विद्यालयको चौरमा सुकाएको दुई दिन भयो, अझै सुकेको छैन। बाँकी एक बिगाहामा रहेको धान पाकिसकेको छैन।

‘समयमा मल नपाउँदा यसपालि धानको उत्पादन निकै घट्यो,’ उनले सुनाए, ‘किन्न खोज्नेले जति मूल्य भन्छ त्यतिमै बेच्नुपर्ने बाध्यता छ।’ यसपालि धानबाट लागत खर्च पनि नउठ्ने अवस्था आएको उनले बताए।

धान रोप्दा प्रतिबिगाहा सात हजार रूपैयाँसम्म खर्च हुन्छ। कम्वाइन्ड हार्भेस्टरले काट्दा प्रतिघण्टा ६ हजार रूपैयाँ तिर्नुपर्छ। दुई बिगाहाको धान काट्न यो मेसिनलाई डेढ घण्टा समय लाग्छ। ‘गोड्दाको खर्च, बिउ, औषधी, मल लगायतको खर्च पनि ठूलो छ,’ उनी भन्छन्, ‘परिवारले गरेको मेहनतको मूल्य त छँदैछ।’

बाजेका पालादेखि यही ठाउँमा किसानी गर्दै आएको सीतारामको परिवारलाई यही अवस्था रहने हो भने धान रोपेर पार लाग्दैन भन्ने लागेको छ। ‘त्यत्रो मेहनत गर्दा पनि घाटा लाग्छ भने त यसको के अर्थ भयो र?,’ बनियाँले भनिन्, ‘घाटा लग्नेगरी धान रोप्नुभन्दा त किनेरै खान फाइदा छ।’ उनले किसानले किन्न खोज्दा पनि सरकारले मल उपलब्ध गराउन नसक्दा घाटा सहन बाध्य भएको बताइन्।

‘१० कट्ठामै १४ क्विन्टल फल्नुपर्ने धान एक बिगाहा १५ क्विन्टल फलाउन पनि हम्मे भयो,’ उनले भनिन्, ‘यस्तो अवस्थामा त के खेती गर्न सकिएला र।’

धानका क्रेताले अहिले नसुकेको धान प्रतिक्विन्टल एक हजार पाँच सय र सुकेको धान दुई हजार दुई सय रूपैयाँसम्ममा खरिद गर्ने गरेका छन्। त्यसरी बिक्री गर्न पनि यसपालि गाह्रो भइरहेको सीतारामले बताए। ‘लकडाउन भएर हो कि पहिले जसरी झट्टै बिक्री भइरहेको छैन,’ उनले भने।

धान उत्पादक किसान हुमा चौधरीले भने बेलैमा मल किन्न भ्याएकाले उत्पादन राम्रै भएको छ। उनले तीन बिगाहा जमिनमा करिब एक सय क्विन्टल धान फलाएकी छन्। तैपनि यसपालि धानबाट घाटा लागेको उनी बताउँछिन्।

‘धानको मूल्य पाउनै सकिएन। पोहोर खेतैमा आएर धान बुक गर्नेले हरियो धानकै दुई हजार रुपैयाँ दिएका थिए,’ उनले भनिन्, ‘यसपालि हरियोको एक हजार पाँच सय पाउँदा पनि के–के न भयो भन्ने भएको छ।’ उनले खेती गरेर खाने वातावरण नभएको बताइन्।

वीरेन्द्रनगर, भण्डारा, खुरखुरेमा रहेका सप्लायर्सहरूमा पूर्व-पश्चिम राजमार्गबाटै धानका ठूला–ठूला रास देखिन्छन्। त्यसलाई बोरामा राख्न र गाडीमा लोड गर्न कामदारहरूलाई भ्याइनभ्याइ छ। वीरेन्द्रनगरस्थित एक सप्लायर्समा बिक्री गर्नका लागि ट्याक्टरभरि धान राखेर आइपुगेका रामध्यान चौधरी मूल्य नपाएर निराश थिए। ‘दुःख गरेर उब्जाएको अन्नको लागत पनि नआउने भो,’ उनले भने, ‘जति भन्यो त्यतिमा नदिए यही मूल्य पनि नआउने डर छ।’

चैते धान प्रायः चिउरा उत्पादनमा प्रयोग हुन्छ। यो धान वर्षे धानभन्दा बढी फल्नेगर्छ। तर, चैते धानको परालको उपयोग नहुने भएकाले यो भन्दा वर्षे धानबाट बढी फाइदा हुने गरेको किसानहरू बताउँछन्। वर्षे धानमा परालबाट मात्रै प्रतिबिगाहा ४० हजार रूपैयाँभन्दा बढी आम्दानी हुन्छ। ‘धान कम फले पनि परालबाट फाइदा लिन सकिन्छ,’ किसान सीताराम महतोले भने, ‘समयमै मल पाइयो, सिँचाइको राम्रो व्यवस्था भयो भने दुबै धानबाट राम्रो फाइदा छ।’

चितवनमा सात हजार पाँच सय हेक्टर जमिनमा चैते धानको खेती हुने गरेको छ। यसको ७० प्रतिशत हिस्सा पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा छ। बाँकी माडी नगरपालिका र भरतपुर महानगरपालिकामा छ।

२०७५ सालमा चैते धानको उत्पादन प्रतिहेक्टर ४.४ मेट्रिक टन थियो। गत वर्ष उत्पादन घटेर प्रतिहेक्टर ४ मेट्रिक टन पुग्यो। गत वर्ष धानमा घाँटी मरुवा, गबारोलगायतका रोगको असर परेको थियो। यस वर्षको तथ्यांक लिने क्रम चलिरहेको कृषि ज्ञान केन्द्रले जानकारी दियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले किसानले धानको उचित मूल्य नपाएको गुनासो गरेको बताए। ‘२०५३ सालमा जति मूल्यमा धान बेचे अहिले पनि त्यही मूल्यमा बेच्नुपरेको बाध्यता किसानहरूले सुनाएका छन्,’ उनले भने, ‘यो धानको प्रकृति नै त्यस्तै छ। लामो समय राख्न मिल्दैन, जतिसक्दो छिटो बेच्नुपर्ने भएकाले किसानले भनेको मूल्य पाउन सकेका छैनन्।’ राम्रो मूल्यको आसामा धेरै समय थन्काएर राख्दा धान कुहिएर जाने डर हुने उनले बताए।

उनले उस्तै धान भारतमा दुई हजार आइसीमा बिक्री हुने तर नेपालमा १ हजार ५०० रूपैयाँ पनि बिक्री नहुँदा किसानहरू दुःखी भएको बताए। ‘समयअनुसार मूल्य पाउनुपर्ने हो। २५ वर्षसम्म पनि मूल्य नबढ्दा लागत धान्नै मुस्किल भएको देखियो,’ उनले भने।

वर्षे धान भने यहाँ १९ हजार हेक्टर जमिनमा उत्पादन हुन्छ। चैते धान थन्काएका किसानले अहिले वर्षे धानका लागि ब्याड राख्न थालेका छन्। यहाँका केही स्थानमा मेसिनको प्रयोग गरेर पनि धान रोप्न थालिएको छ। ‘मेसिनबाट धान रोप्नका लागि पनि बीउ राखिएको छ,’ पौडेलले भने, ‘असारको पहिलो हप्ता देखि वर्षे धानको रोपाइँ पनि सुरू हुन्छ। राजेश घिमिरे/चितवन

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏