बेलबारीमा बाख्रा वितरणमा एक करोडको चलखेल : अस्ट्रेलियाको बाेयर भन्दै नवलपरासीका बाख्रा बाँडियो

कृषि पोष्ट संवाददाता

विराटनगर, २५ जेठ ।

मोरङको बेलबारी नगरपालिकामा बोयर जातको बाख्रा वितरणमा एक करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्ट्रेलियाको बाेयर भन्दै पश्चिम नेपालबाट आयात गरिएका बोयर जातको बाख्रा खरिद गरी वितरण गर्दा एक करोड रुपैयाँको चलखल भएको हो ।

नगरपालिकाले जेठ १५ गते पश्चिम नेपालबाट आयात गरिएका ९२ वटा बोयर जातका बाख्रा वितरण गरेको थियो । ‘फूल ब्लड’ बोयर आयातका लागि नगरपालिकाले जेठ ३ गते ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

अस्ट्रेलियाबाट प्लेन चार्टर गरेर ल्याउने भन्दै ठेक्का पाएको ठेकेदार कम्पनीले नवलपरासी र आसपासका जिल्लाका किसानबाट सङ्कलन गरेर ल्याएको थियो ।

तर ठेकेदार कम्पनीले अस्ट्रेलियाबाट भारतको लखनउ हुँदै सुनौली भन्सारबाट बाख्रा आयात गरेको दाबी गरेको थियो । तर भन्सारमा बुझ्दा बाख्रा आयात भएको नदेखिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।

पियोर बोयर जातको बाख्रा नभएको पाइएपछि बाख्रा लिएर गएका फार्म र किसानले विरोध गरका थिए । ‘आयातकर्ताले ल्याएको बाख्रा आइपुगेकै दिन बाँडियो,’ शाहले भने, ‘कागजपत्र पछि बुझाउँछौ भनेपछि वितरण गरियो । तर भोलिपल्टबाट शुद्ध बोयर होइन भन्ने कुरा आयो ।’

नगरपालिकालाई बाख्रा बुझाएको सप्लायर्सले अझैसम्म कागजात नबुझाएको उनले बताए । कागजात नबुझापछि भुक्तानी रोकिएको उनले बताए ।

बाख्रा आयातका विषयमा छानबिनका लागि उपप्रमुखको संयोजकत्वमा समिति गठन भएको उनले बताए । उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा बनेको समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए ।

कागजात माग्दा सप्लायर्सले कागज नबुझाएको र भन्सारमा बुझ्दा पनि बाख्रा आयात भएको नदेखिएको उनले बताए ।

नगरपालिका स्रोतका अुनसार सेटिङमा बाख्रा आयातको जिम्मेवारी पाण्डेले लिएका थिए । मोरङका ६ वटा स्थानीय तहको फोहोर व्यवस्थापन र सौर्य ऊर्जाको सम्भाव्यता अध्ययनको जिम्मेवारी पनि उनकै कम्पनीले गरिरहेको छ । तर किसानले ठगिएको गुनासो गरेपछि भुक्तानी रोकेर छानबिन सुरु भएको हो ।
स्रोतका अनुसार एक करोड २४ लाख रुपैयाँ बजेट पाएको सप्लायर्सले नवलपरासीबाट सरदर २५ हजारका दरले बाख्रा खरिद गरेको थियो ।

खरिदमा गरेको जालसाजी बाहिरिएपछि पाण्डेले यो विषयमा बोल्न चाहेका छैनन् । ‘मलाई डाक्टरले नबोल्नु भनको छ,’ उनले भने, ‘अहिले म बोल्न सक्दिनँ, बिरामी छु ।’

सम्झौतापत्रमा हस्ताक्षर गरेका गोविन्द राय भने आफूलाई बाख्रा आयात गरेको विषयमा जानकारी नभएको बताए । नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले सप्लायर्स र नगरपालिकाका कारण किसान ठगिएको बताए ।

‘राज्यको दुरुपयोग गर्दा किसानमाथि अन्याय भयो,’ उनले भने, ‘यी अस्ट्रेलियाबाट ल्याएका बाख्रा होइनन्, समूहका किसानले पालेको बाख्रा सङ्कलन गरेर पूर्व पठाएको सूचना छ ।’

बेलबारीमा ४४ वटा फर्म र केही किसानलाई बाख्रा वितरण गरिएको थियो । वितरण पनि पारदर्शी नभएको भन्दै किसाले विरोध गरिरहेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏