मलाई किसान हुनुमा गर्व छः पुष्प खड्का

कृषि पोष्ट संवाददाता

काठमाडौं, २१ जेठ ।

गतबर्षको लकडाउनमा नायक पुष्प खड्काले काठमाडौंमा बिताए । अधिकांश समय चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने गरेर लकडाउनको समय सदुपयोग गरेका थिए पुष्पले । यसवर्ष निषेधाज्ञा पनि पुष्प काठमाडौंमा नै थिए । तर, निषेधाज्ञाको एक महिनापछि भने पुष्प गृहजिल्ला कैलाली पुगेका छन् ।

‘चलचित्र हेरौं भने गतबर्ष नै धेरै चलचित्र हेरिसकेको थिएँ । पुस्तक पढौं भनेपनि धेरै पुस्तकहरु गतवर्ष नै पढिसकेको थिएँ । काठमाडौंमा बस्दा दिक्क लागिरहेको थियो । यसैले, आफ्नै घरमा आएको छु । यहाँ आउँदा निकै रमाइलो लागिरहेको छ ।’

उनी घर पुगेको अर्को दिन कोदालो लिएर बारीमा पुगे र केही घन्टा बारीमै बिता । उनले सामाजिक सञ्जाल फेसबुकमा बारीमा काम गर्दै गरेका दुई तस्वीर समेत पोष्ट गरे । उनले लेखेका थिए–‘नेपाल कृषिप्रधान देश हो । म आफू किसान हुनुमा गर्व लाग्छ ।’ घरमा गएयता उनले दैनिक केही समय बारीमै बिताउन थालेका छन् ।
अरुलाई देखाउनका लागि मात्रै तस्वीर खिचेको होइन । मलाई एउटा किसानले गर्नुपर्ने हरेक कामहरु आउँछ । काठमाडौं जानुअघि धेरै कामहरु गर्थेँ’ पुष्पले सुनाए–‘घाँस काट्ने, गोबर फाल्ने, दूध दुहुने, खेतमा आली लगाउने, जोत्ने सबै काम गरेको छु । अहिले पनि ति कामहरु गर्दा आनन्द लाग्छ ।’z

गतवर्षसम्म पुष्पका बुबा–आमा भारतमा थिए । पुष्प र उनकी बहिनी भने काठमाडौं बस्दै आएका छन् । घरमा कोही नभएपछि खेत ठेक्कामा दिइएको थियो । अहिले घर वरिपरी केही जग्गामा उनको परिवारले खेती किसानी गर्दै आएको छ ।

पुष्पले निषेधाज्ञापछि घर पुगेर नजिकैको खेतमा आली लगाए । खन्ने, गोडमेल गर्ने काम गरे । ‘मकै र मुसुरो लगाउने सिजन हो अहिले, धान रोप्ने तयारी पनि हुँदैछ ।’, पुष्पले भने ।

‘काठमाडौंमा वर्कआउट पनि गर्न पाएको थिइनँ । अहिले खेतमा काम गर्दा वर्कआउट पनि हुने, परिवार एवं काम गर्ने ब्यक्तिहरुलाई पनि सहयोग हुने । आनन्द लागिरहेको छ’ पुष्पले उत्साहित हुँदै भने ।

पुष्प कृषिबारे आफूले राम्रोसँग बुझेको र आफू किसान हुनुमा गर्व गर्ने बताउँछन् । ‘कतिपय मानिसहरुलाई किसान भन्दा लाज लाग्न सक्छ । तर जसले जति भनेपनि नेपालमा ७० देखि ८० प्रतिशत मानिसहरु कृषिमा जोडिएका छन् ।

अहिलेका बालबच्चा, युवायुवतीहरु बोर्डिङमा पढेका होलान् । अंग्रेजी बोल्नमा अभ्यस्त होलान् । तर, उनीहरुको अभिभावकहरुमा कृषिको ज्ञान ९५ प्रतिशत हुन्छ जस्तो लाग्छ’ पुष्प सुनाउँछन्, ‘यसमा कसैले गाह्रो एव लाज मान्न आवश्यक छैन् । म कलाकारितामा सक्रिय भएपनि मेरो ब्याकग्राउण्ड कृषि हो । म किसानको छोरा हुँ । म आफू किसान पनि हुँ ।’

नेपाली जनता कृषिमा आश्रित रहेपनि सरकारले यसप्रति गम्भीर भएर सहयोग गर्न नसकेको र किसानले आफ्नो मेहनत अनुसारको मूल्य पाउन नसकिरहेको पुष्पको बुझाई छ ।

‘खेतीपाती गर्दा एकदमै दुःख हुन्छ । धेरै मिहिनेत परेको हुन्छ । तर, त्यो मिहिनेत अनुसारको मूल्य किसानले पाएजस्तो लाग्दैन’ उनी भन्छन्– ‘खेतीकिसानीमा लाग्नेजति मिहिनेत हामीले अरुमा गर्यो भने त्यो भन्दा राम्रो कमाई भएको हुन्छ । यसमा मूख्य कमजोरी सरकारको छ ।’ धान, गहुँकै कुरा गर्दा यसको राम्रो मूल्य किसानले पाउन नसकेको उनले बताए ।

उनले भने,–‘किसानले मिहिनेतका साथ धान, गहुँ फलाउँछन् । त्यो सस्तो मूल्यमा भारत जान्छ । त्यही धान, गहुँ प्याक भएर आएपछि हामीले महंगो मूल्यमा किन्नुपर्छ । यो हाम्रो लागि विडम्बना हो ।’

सरकारले नेपालमै धान, गहुँ प्रशोधनको उचित प्रबन्ध मिलाएर यहि प्याकिङ हुने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।

मलमा पनि नेपाल भारतमा आत्मनिर्भर हुने गरेको छ । पछिल्लो समय गाई भैसी पाल्ने क्रम पनि घट्दै गएकाले हिजोआज मलको आत्मनिर्भरता भारतप्रति अझ बढी रहेको उनको बुझाई छ ।

‘पहिले अधिकांशको घरमा गाईभैसी पालिन्थ्यो । कम्पोष्ट मलमा त्यति गाह्रो थिएन । अहिले त्यो पनि कम हुँदै गएको छ’ उनी भन्छन् । तरकारीमा पनि किसानले मिहिनेत अनुसारको उचित मूल्य पाउन नसकेको उनको बुझाइले बताउँछ ।

कृषि क्षेत्रको थप विकासका लागि सरकारले किसानका लागि ऋणमा पनि सहजता र सहुलियत दिनुपर्ने पुष्प बताउँछन् । अगाडि भने–‘यस्ता धेरै कुराहरु छन् । जसमा ध्यान जान जरुरी छ जस्तो लाग्छ । अनी मात्र कृषि क्षेत्रले थप फड्को मार्ने थियो ।’

चलचित्रमा पनि कृषि क्षेत्रलाई त्यति स्थान दिन सकिएको छैन । पुष्प यो कुरा स्वीकार्छन् । ‘कृषिमा धेरै मानिसहरु आवद्ध छन् । यसमा छुट्टै भावना जोडिएको छ । जसलाई हामी वास्ता गरिरहेका छैनौं । ति विषय वस्तुहरुलाई नियालेर हेर्ने हो भने प्राथमिकतामा पर्छ । चलचित्रकर्मीहरुले पनि यस्ता कुरामा ध्यान दिन सके राम्रो हुन्थ्यो’ उनले सुनाए ।

कृषि क्षेत्रमा धेरै चलचित्र बन्न नसक्नुको कारण के होला ? ‘सायद, लेखकहरुले यो विषयमा खोजी नगरेर हुनसक्छ । वा विषयवस्तुलाई ईस्यूको रुपमा लिन नसकेर होला । आशा गरौं, विस्तारै आउला’ पुष्प आशावादी हुँदै भने ।

पुष्प सधै फरक–फरक भूमिका गर्न रुचाउँछन् । विगतका अधिकांश चलचित्रमा उनले फरक भूमिका निर्वाह गरेका छन् । किसानको भूमिकामा काम गर्न पनि आफूलाई मन रहेको पुष्पले बताए ।

‘नयाँ भूमिका आउँछ भने त्यो म छोड्दै छोड्दिनँ । अझ, यो त मैले बुझेको विषय भयो’ उनले भने–‘किसानको भूमिकामा काम गर्नपनि एकदमै मन छ । यो भूमिका म सजिलै गर्न पनि सक्छु ।’ लेखकले राम्रो कथा लेखेर अभिनयका लागि आग्रह गर्दा आफू सधै सकारात्मक रहने उनको भनाई छ ।

काठमाडौंमा हुँदा पुष्प राती ढिलो सुत्ने गर्थे । यसैले, बिहान ढिलो उठ्ने गरेका थिए । घरमा गएपछि आफ्नो नियमित सेड्यूल मिलेको पुष्प बताउँछन् ।

उनी बिहान सबैर उठेर केही समय व्यायम गर्छन् । त्यसपछि घरायसी काममा सघाउँछन् । दिनमा काम नभए चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने कामलाई पनि निरन्तरता दिएका छन् ।

केही साता पहिला कोरोना संक्रमितलाई अक्सिजन अभाव भइरहँदा संक्रमितलाई अक्सिजन उपलब्धताका लागि पनि पुष्पले सहयोगी हात बढाए ।

उनले कैलालीको मैनादेवी फाउण्डेशनसँग सहकार्य गर्दै संक्रमितका लागि ५० सिलिण्डर अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका थिए । अहिले पनि आफू सो संस्थासँग नियमित समन्वयमा रहेको पुष्प बताउँछन् । अहिलेको विषम परिस्थितिमा सरकार र राजनीतिक दलका नेताहरु कुर्सीको खेलमा लाग्नु भने दुखद रहेको उनले बताए । अहिलेको अवस्थामा सरकारले सबै कुरा छाडेर जनतालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउनमा लाग्नुपर्ने उनी बताउँछन् ।

कोरोनाबाट बच्न नागरिकहरु उत्तिकै सचेत हुनुपर्ने उनले बताए । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर घरमै बस्ने, परिवारसँग समय विताउन पुष्पको सुझाव छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏