काठमाडौंमा फेरि देखियो बर्ड फ्लु

कृषि पोष्ट संवाददाता

काठमाडौं, १२ जेठ ।

काठमाडौं फेरि बर्ड फ्लु देखिएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लु देखिएको हो ।

बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बुधबार बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालका अनुसार अस्वाभाविक रूपमा टर्की मर्न थालेको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ ।

यसअघि काठमाडौं तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏