कृषि व्यवसायीबाट वार्षिक १० लाख कमाइ

कृषि पोष्ट संवाददाता

पढेको लेखेको युवाले माटो, गोठ अनि गाईवस्तु छुन हुन्न भन्ने विचार आजको जमानामा बदलिएको छ । ‘प्लस टु सकिनु बित्तिकै विदेशतर्फ लाग्ने युवाको ट्रेण्ड केही समय यता विस्तारै घट्न थालेको छ । जसको एक ज्वलन्त उदाहरण हुन्, विरेन्द्रनगर–९ सुर्खेतका कृषि व्यवसायी दिपेन्द्र कार्की । हाल उमेरले ३१ वर्ष टेकेका दिपेन्द्र कार्कीले ११ वर्ष अघि कृषि पेशालाई आफ्नो मुलधारको पेशाको रुपमा अंगालेका थिए । जति बेला उनी केवल २१ वर्षका थिए ।

अध्ययन कै क्रममा उनले कृषक बन्ने ढृडता लिए । कृषक बन्ने दिपेन्द्रको योजना उनको परिवारले पनि सहर्ष नै स्वीकारे । किसानीको लागि उनी आफै परिवारबाट प्रेरित भएका थिए । ‘मेरो प्रेरणा नै मेरो बुबा हुनुहुन्छ’, कृषि व्यवसायी कार्की भन्छन्, ‘ बुबाले गर्नु भएको परम्परागत कृषि पेशालाई नै आधुनिक तरिकाले गर्न चाहेको हो । ’

११ वर्षको अन्तरालमा उनले कोपिला एग्रिकल्चर एन्ड लाइभस्टक प्रा.लिको रुपमा आफ्नो फार्म स्थापना गरेका छन् । करिब चार बिघा को क्षेत्रफलमा दुई बिघा तरकारीखेती र, बाँकी दुई बिघामा गाईपालन गरिएको छ ।उक्त फार्ममा उनले ७० लाख बराबरको लगानी गरेका छन् । भने, वार्षिक आम्दानी औसतमा पनि १० लाखको हुने कृषि व्यवसायी दिपेन्द्र कार्की बताउँछन् ।

समानान्तर हुँदै तरकारी खेती तथा गाईपालन व्यवसाय

कार्की भन्छन्, ‘दुई व्यवसायलाई एकसाथ संचालन गर्न केही गाह्रो भए पनि यी व्यवसाय एकअर्कोको परिपुरक हुन् । ’ सबैभन्दा ठुलो र उपयोगी फाइदा भने टनेलमाबाट निस्कने घाँसपात गाईवस्तुको लागि र गाईवस्तुका मलको उपयोग तरकारीमा भइरहेको जानकारी कार्कीले दिए । सोही कारण पनि उनले आफ्नो फार्मलाई प्रारंगारिक फार्मको रुपमा स्थापना गर्न सकेका छन् ।

उनीसँग हाल ३२ वट गाई छन् । जसमध्ये, १७ वटा माउ गाई र बाँकी बाछाबाछी छन् । १७ वटा माउ गाईबाट उनले दैनिक एक सय ३० लिटर दुध उत्पादन गरिरहेका छन् । दुध डेरी उद्योगमा दिने गरेको उनले जनाए । भने, तरकारी खेतीतर्फ करिब ३० वटा स्थायी टनेलको निमार्ण उनले गरेका छन् । मौसमी तथा बेमौसी तरकारी दुवै प्रकारको तरकारी उनले उत्पादन गर्दै आएका छन् । ६ जना स्थायी र आवश्यकता अनुसारले अस्थायी कर्मचारीले उनको काममा सहयोग गर्दै आएका छन् ।

साना किसान बैंकसँगको सम्बन्ध

‘सन् २०१५–१६ मा, साना किसान विकास बैंकमार्फत इजरायलमा एक वर्षको लागि कृषि शिक्षा लिन जाने अवसर मिल्यो ,’ बितेका समयको स्मरण गर्दै उनले भने, ‘ तीन प्रतिशतको आवादीले आफ्नो देशमा मात्र नभई ३०–३५ देशहरूमा समेत आयात गर्नसकेको छ । ’ उनले भने, ‘ यति थोरै जनसंख्या र उर्वरा क्षेत्र हुँदा पनि कृषिमा यति प्रगति गरेको छ भने हामी त कृषि प्रधान मुलुक हामीले धेरै गर्न सक्छौँ र गर्नु पनि पर्छ ।’

कृषि पेशा आफैमा पनि उनको रुचिको पेशा वा भनौ व्यवसाय थियो । जसमा उनलाई इजरायलको एक वर्षको ‘लर्न एन्ड अर्न’ कार्यक्रमले थप मलजल गर्‍यो । यसको लागि उनी साना किसान बैक प्रति सदैव आभारी छन् । त्यस्तै, आफ्नो व्यवसायलाई अझ विस्तृत गर्न उनले साना किसान बैंकबाट उनले ४० लाखको ऋणसमेत लिएका थिए ।

‘साना किसान बैंकले किसानको आवश्यकता अनुसार, सरल र सहज माध्यमा किसानलाई ऋण मात्र प्रदान गर्दैन कि उत्पादित वस्तुको बजारीकरणमा पनि मद्दत गर्छ । ’ त्यस्तै, साना किसानकै सहयोगमा उनको समुदायमा सामुहिक प्रारंगारिक तरकारी खेती पनि संचालन भइरहेको छ ।

उक्त सामूहिक प्रारंगारिक खेतीबाट उत्पादन हुने तरकारी तथा खाद्यन्न नजिकै रहेको कोपिला भ्यालीमा पुर्‍याउने गर्छन् । उक्त विद्यालयमा अनाथ तथा टुहुराहरू अध्ययन गर्ने विद्यालय रहेको जानकारी समेत उनले दिए । सामुदायिक तरकारीखेतीको उत्पादन करिब ६ सय विद्यार्थीका लागि अनुमानित खाद्य तथा सब्जी पुगे पछि, बाँकी बजारतिर पुग्ने गर्छ ।

सरकारबाट बजारीकरणमा सहजता हुनु पर्ने

हरेक पेशामा आफ्नै प्रकारको कठिनाइ हुन्छ । उनका अनुसार, कृषि उत्पादनमुखी व्यवसाय भएको कारण बजारसम्म पुर्‍याउनु पर्ने हुन्छ । तर, उचित बजार नपाउँदा कृषक वा भनौ कृषि व्यवसायी मारमा पर्छन् । भन्छन्, ‘उत्पादन क्षेत्रमा काम गरिरहेको मान्छेलाई बजारको सहजता सबैभन्दा महत्वपुर्ण पुर्ण हो ।’ यसका साथै, जनशक्तिको पनि अभाव पनि कम हुन थालेको उनीको अनुभव छ । आजकल गोठमा काम गर्ने, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने कामदारहरूको समस्या देखिन थालेको छ ।

‘सरकारले यस पक्षलाई सम्बोधन गरि दिएका हामीजस्ता युवा कृषकलाई हौसला मिल्ने थियो’ , उनी भन्छन् । कृषि क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई आत्मसाथ गर्न उनी युवाहरूमा आग्रह गर्छन् । आगामी देशको समृद्धि कृषिबाट नै रहेको र युवाले कृषिमा क्रान्ति ल्याउनलाई अहम् भुमिका खेल्ने उनको भनाइ छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏