कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?

कृषि पोष्ट संवाददाता

सामान्यजनलाई मात्र होइन, वनस्पतिविद्लाई समेत कमै मात्र जानकारी भएको डायोइसी प्रजातिका यी वनस्पति कुसुम, गान्टे र रामगुवाको संरक्षण र व्यावसायिक खेतीबारे स्थानीय सरकारले चासो दिनुपर्ने देखिन्छ। 

गायक कुमार बस्नेतले गाएको ‘लप्सीको गेडो चुसेर, ज्यामिर–निबुवा साँधेर ’ बोलको गीत त सुन्नुभएकै होला। लप्सी कत्तिको खाने गर्नुभएको छ कुन्नि? यो मध्यपहाडी भूभागका जङ्गलमा कतैकतै पाइने फल हो। यसमा एमिनो एसिड, मिनरल्स र भिटामिन सी प्रशस्त हुन्छ। यसबाट जाम, क्यान्डी, अचार आदि धेरै परिकार बन्छन्।

वसन्तको आगमनसँगै वनजङ्गलमा ‘काफल पाक्यो काफल पाक्यो’ भने जसरी चरा कराएको पनि त सुन्नुभएको होला। काफल पनि उपयोगी जङ्गली फल हो। त्यसै खान पनि मीठो हुने काफल दम, अल्सर, रक्तअल्पता, ज्वरो, पखाला, नाक, कान, घाँटी आदिको उपचारमा समेत प्रयोग गर्ने चलन छ। 

लप्सी र काफल दुवै उपयोगी फल हुँदाहुँदै पनि बिरलै रोपिन्छन्। कारण, तिनको रूखका भाले–पोथी छुट्टाछुट्टै हुन्छन्। फलका निम्ति रोपिने बोट नफलेसम्म पोथी हो कि भाले नछुट्टिने भएकाले त्यति रोप्ने गरिँदैन, जङ्गलमा आफैँ उम्रिएर हुर्केबढेका रूखहरूबाटै फल लिने गरिन्छ। 

विज्ञानमा भाले र पोथी छुट्टाछुट्टै बोट हुने वनस्पतिलाई ‘डायोइसी’ भनिन्छ। अमेरिकन जर्नल अफ बोटनी को वर्ष ८२ अङ्क ५ मा प्रकाशित ‘डायोइसी एन्ड इट्स कोरिलेट्स इन द फ्लावरिङ प्लान्ट्स’ (सन् १९९५) लेख अनुसार, फूल फुुल्ने वनस्पति ‘एन्जिओस्पर्म्स’ मध्ये करीब ६ प्रतिशत ‘डायोइसी’ छन्। यीमध्ये पनि रूख वर्गका वनस्पति बढी डायोइसी हुन्छन्।

नेपालमा करीब ६५०० जति फूल फुुल्ने वनस्पति छन्। तीमध्ये पंक्तिकारको अनुमानमा ६०० जति रूख प्रजातिका छन्। अमेरिकन जर्नल अफ बोटनी मा प्रकाशित लेखलाई आधार मान्ने हो भने नेपालमा ३६ प्रजातिका डायोइसी रूख हुनसक्छन्।
गान्टेको फूल। तस्वीर : कमल मादेन
डायोइसी प्रजातिको सङ्ख्या कम त छँदै छ, भएकामा पनि रूखको सङ्ख्या झनै कम छ। अधिकांश वनस्पतिविज्ञहरू समेत रूख प्रजाति चिन्नसक्ने क्षमता कम राख्छन्। त्यसैले हामीकहाँ डायोइसी वनस्पतिबारे थोरै मात्र जानकारी छ। यो लेखमा झापाको जलथल जङ्गलमा भेटिएका फल खान हुने तीन थरी डायोइसी रूख प्रजातिबारे चर्चा गरिँदै छ। 

हामीमध्ये कतिले कुसुमको फल खाएका छौँ?

झापाको जलथल जङ्गलमा भने अर्कै थरी कुसुम पाइँदो रहेछ। विद्युतीय सञ्जालमा ‘बर्मिज ग्रेप’ भनेर खोजे प्रशस्त जानकारी पाइने यो कुसुमको वैज्ञानिक नाम ‘ब्याकुरिआ रेमीफ्लोरा’ हो। अघिल्लो र पछिल्लो कुसुम क्रमशः ‘सेपिन्डेसी’ र ‘फाइलेन्थेसी’ वनस्पति परिवारका हुन्।

कुसुुम।
बर्मिज ग्रेप उपनामबाटै अनुमान लगाउन सकिन्छ, यो बर्मामा प्रशस्त पाइनुुपर्छ र आकार अंगुर जस्तो हुनुपर्छ। जानकारहरूका अनुसार, जलथलमा यो फललाई आकार र स्वादका कारण कुसुम भनिएको हो।  नेपालमा बर्मिज ग्रेप इलामको गाँजाबारी र चितवन राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा राप्ती नदी नजिक पाइएको अभिलेख प्रकाशित छ।

योे फलमा भिटामिन सी, प्रोटिन र आइरन प्रशस्त हुुन्छ। भारतको गुहाटी विश्वविद्यालयका विश्वदीप गगोईले सन् २०१७ मा ब्याकुरिआ रेमीफ्लोराबारे एन्नल्स अफ् प्लान्ट साइन्स जर्नलमा यो वनस्पतिका बोक्रा, पात, बिउ सबै औषधि बनाउन प्रयोग हुन्छन् भनेर लेखेका छन्।

यस्तै, मेघा राघवन र एमडी रामजनले जर्नल अफ मेडिसिन प्लान्टस् को वर्ष ६ अंक ३ मा ‘बर्मिज ग्रेपः अ प्रोमिसिङ फ्रुट क्रप फर फ्युचर जेनेरेसन्स्’ (सन् २०१८) भन्ने लेखमा यसलाई भावी पिँढीका निम्ति एक महत्त्वपूर्ण फल प्रजातिका रूपमा चित्रित गरेका छन्।

बर्मिज ग्रेप फलको रसमा कार्बोहाइड्रेड, पानी, फाइबर, प्रोटिन, आस र लिपिड क्रमशः ५१.८, ३५.५, २०.४, ५.८५, ३.८४ र ०.७३ प्रतिशत हुन्छन्। सय ग्राम फलको रसमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, आइरन, क्याल्सियम, सोडियम क्रमशः ७३०, ५०४, १३२, १००, ७५ र ३५ एमजी हुने जनाइएको छ।

ब्याकुरिआ जातिका वनस्पति विशेषतः दक्षिण–पूर्व र दक्षिण एसियामा पाइन्छन्। यसका अहिलेसम्म ५० भन्दा बढी प्रजाति सूचीकृत भएका छन्। तीमध्ये नेपालमा एउटा मात्र प्रजाति पाइएको छ भने भारतमा तीन प्रजाति भेटिएका छन्। यो वनस्पतिबारे नेपालमा थप खोजबिन जरुरी छ।

गान्टे।

झापाको हल्दीबारी गाउँपालिकास्थित बडाबडी चोकभन्दा दक्षिणतिरको जङ्गलमा एउटा अर्को खान हुने फलका केही रूख भेटिएका छन्। रूखको मुख्य काण्डमै कटहर झैँ फल्ने डायोइसी प्रजातिको यो फल बेलभन्दा केही ठूलो हुन्छ। स्थानीय बासिन्दाले ‘गान्टे’ भन्ने यो वनस्पतिको फूल फुलेको बेलाको तस्बीर पंक्तिकारले चैत महीनाको अन्तिमतिर खिच्न पाएको थियो। बोटमा गत सिजनका एकाध फल पनि बाँकी थिए।

यो वनस्पतिको वैज्ञानिक नाम ‘गाइनोकार्डिया ओडोराटा’ हो। फूलको ओभरी अर्थात् अण्डाशयको आकृति महिलाको मुुटुको जस्तो हुने भएकाले यसलाई ‘गाइनोकार्डिया’ जाति र यसको फूलले निकै बास्ना दिने हुनाले ‘ओडोराटा’ प्रजाति नामकरण गरिएको रहेछ। गाइनोकार्डिया जाति अन्तर्गत गाइनोकार्डिया ओडोराटा भन्ने प्रजाति मात्रै छ। यो ‘एकारिएसी’ परिवारको वनस्पति हो।

डा. तीर्थबहादुर श्रेष्ठले सन् १९६९ मा इलामबाट सङ्कलन गरेको गान्टेको नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीमा संगृहीत छ। जलथल जङ्गलमा चाहिँ गैरसरकारी संस्था फरेष्ट एक्शन नेपालका अनुुुसन्धानकर्ताले गत साल फलेको अवस्थामा यो फल फेला पारेका थिए। 

गुहाटी विश्वविद्यालयका दीपज्योति कलिता र निलाक्शी देवीले गान्टेबारे ‘अ सर्ट रिभ्यु अन गाइनोकार्डिया ओडोराटाः अ पोटेन्ट मेडिसिनल प्लान्ट अफ आसम’ (सन् २०२०) लेखमा आसमको खाँसी समुदायले यो फलको बिउको अचार बनाउने उल्लेख गरेका छन्। अन्य विभिन्न लेखले यो वनस्पतिलाई खाने परिकारका निम्ति भन्दा बढी औषधि–उपचारका निम्ति प्रयोग गरिने जानकारी दिएका छन्। यो फलको धूलो माछा मार्न पनि प्रयोग गरिन्छ। 

गान्टे। तस्वीर : प्रतीक पाण्डेय
भारतको मेघालयमा फल पिँधेको धूलो ताजा घिउमा मिसाएर छालाका विभिन्न रोग निको पार्न प्रयोग हुने जनाइएको छ। बिउको तेल पनि छालाका रोग निको पार्न प्रयोग गरिने रहेछ।

अमलकुमार घिमिरे र अरूहरूले लेखेको ‘वाइल्ड इडिबल प्लान्ट्स अफ द इलाम हिल्स् एन्ड देयर मोड अफ युुज बाई द लोकल कम्युुनिटी’ (सन् २०१०) लेखमा यसको बिउ भुटेर पेलेर निकालेको तेल खान प्रयोग गरिने उल्लेख छ। 

चीनको तिब्बतदेखि मलेसियासम्म पाइने यो वनस्पतिको फलको सारतत्त्वलाई विभिन्न किसिमका ब्याक्टेरिया निर्मूल पार्ने, अल्सरबाट जोगाउने आदि प्रयोजनमा उपयोग गर्दा लाभदायी परिणाम दिने लेखिएको पाइन्छ। 

रामगुुवा

हिमालखबर मा १८ वैशाख २०७८ मा ‘जलथलमा कसरी जोगाउने दुर्लभ वन सुपारी रामगुवा?’ शीर्षकमा लिलानाथ शर्माको लेख प्रकाशित भएको थियो। डायोइसी प्रजातिको यो वनस्पतिको वैज्ञानिक नाम ‘हर्सफिल्डिया किङ्गी’ हो। यसको फल सुपारी जस्तै हुने भएकाले ‘वन सुपारी’ भनिँदो रहेछ। 

रामगुवा।
मेचे र राजवंशी समुदायले यसलाई रामायण का रामसँग जोड्छन्। रामले यो फल सुपारीका रूपमा खाएका थिए भन्ने किंवदन्ती पाइन्छ। त्यसैले यो रूखलाई ‘रामगुवा’ अर्थात् ‘भगवान् रामको सुपारीको बोट’ भनिँदो रहेछ।

इलाममा यो फल सुपारीका अतिरिक्त जाम र अचार बनाउन पनि प्रयोग गरिन्छ। हिमालखबरमा लेख प्रकाशित भइसकेपछि यो वनस्पति इलाम, मोरङ, तेह्रथुम, पाँचथरमा पनि पाइने जानकारी थपिएको छ। वनस्पतिविद् गंगादत्त भट्टले जानकारी गराए अनुसार, सिन्धुपाल्चोकको जलबिरेबाट १५ जेठ २०७५ मा सङ्कलन भएको रामगुवाको एउटा नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा संगृहीत छ। 

कुसुुम।
संरक्षणको खाँचो 

डायोइसी वनस्पतिमा मौरी, पुतली जस्ता कीरा, चरा, चमेराबाट मात्र परागसेचन हुन्छ। त्यसैले भाले–पोथी रूख टाढा–टाढा छन् वा धेरै टाढा नभए पनि त्यस्ता जीव भएनन् भने परागसेचनको सम्भावना कम हुन्छ। परागसेचन नभएपछि पोथी रूखमा फूल फुल्ने र फल लाग्ने कुरै भएन।

जङ्गली फलका बोटबिरुवालाई एक ठाउँबाट अर्कोमा फैलाउने काम स–साना स्तनधारी जनावर र चराचुरुङ्गीले गर्छन्। फल खाएपछि अर्कैै ठाउँमा बिस्ट्याउँदा तिनका गेडाबाट बिरुवा उम्रन्छन्। हिजोआज त्यस्ता जनावर र चराचुरुङ्गीको सङ्ख्या पनि घट्दै गएकाले पहिलेको तुलनामा डायोइसी प्रजातिका रूखहरू प्राकृतिक तवरमा पनि कमै मात्र फैलिएका छन्। जलथल जङ्गलमा पनि डायोइसी रूखका स–साना हुुर्कंदै गरेका बोटबिरुवा देखिएनन्।

हामीकहाँ डायोइसी वनस्पतिको पहिचान नै कम भएको छ। वनजङ्गलसँग प्रत्यक्ष सरोकार राख्नेहरू नै यसबारे बेखबर छन्। अब जिल्ला वन कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहहरूसँग सम्बद्ध व्यक्तिले यस्ता रूख प्रजातिप्रति चासो राख्नुपर्छ। सामुुदायिक वनका उपभोक्ताले आफ्नो वन क्षेत्रमा भएका डायोइसी रूख पहिचान गरी तिनको संरक्षण गर्नेतर्फ पाइला चाल्नुपर्छ। सरकारी निकाय र संरक्षणमा काम गर्ने संघसंस्थाले यस्ता फलको आधुनिक तवरले व्यावसायिक खेती गर्न के गर्नु आवश्यक छ, अध्ययन गर्नुपर्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏