कफी खेती कसरी गर्ने ? यस्तो छ तरिका

कृषि पोष्ट संवाददाता

कफी संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ । कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन् ।

रोपिएको ३ देखि ४ वर्ष भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ । कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो ।

कफीको बोट दश मिटरसम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ । कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेती दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ । धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ ।

नेपालमा वि.सं. १९९५ मा हिरा गिरीले भित्र्याएका थिए । वि.संं २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिएपछि वि.सं. २०४७ सालमा कृषकहरूको संगठन स्थापित भयो । वि.सं. २०४९ को ऐन अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

मध्य पहाडका ४० जिल्लाहरूमा कफी खेती गरिएको छ । केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ ।पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लामा कफी खेतीको विस्तार हुँदै गयो ।
भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, प्यूठान, रोल्पा, दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायिक कफी खेतीको सुरुवात भएको छ । यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लामा फाटफुट रूपमा कफी खेती भइरहेको छ ।

रूपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र ‘नेपाल कफी कम्पनी प्रा.लि’को २०४० मा स्थापना भएसँगैँ अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको बिक्री वितरण सुरू भयो । आर्थिक वर्ष २०५२÷५३ मा १६ टन कफी हल्यान्ड पठाइएको थियो ।

नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कफी खेती हुने भएकाले विश्व बजारमा अर्गानिक, र चिसो हावापानीमा उत्पादित कफीको रूपमा चिनिन्छ ।

नेपाल सरकारले कफी नीति २०६६ पास गराएको र कफी नीति कार्यान्वयन निर्देशिका २०६६ स्वीकृत गराएको छ ।
नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ ।

हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटरभन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादन भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने सङ्केत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।

नेपालमा अहिले करिब तीन हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । २०७२ को उत्पादन रेकर्डअनुसार कुल एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा करिब ४५० मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङ्गारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ ।

कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब नै गर्ने हो भने वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको पाँच प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन ।

नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे सात करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट नौ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढिरहेको छ ।

हावापानी
चिसो, आद्र्र र तुसारोरहित हावापानी कफीका लागि उपयुक्त मानिन्छ । उष्ण तथा उपोष्ण उच्च क्षेत्रमा कफी राम्ररी फस्टाउँछ । वार्षिक ५० इन्च (१२७ से.मि.) वर्षा र छोटो सुख्खा याम कफीका लागि उपयुक्त हुन्छ । उर्वर, गहिरो र पानी हुनु राम्रो हुन्छ ।

ठूलो हावाहुरीले कफीको उत्पादन घटाउन सक्ने हुँदा अग्ला अग्ला रूखका छहारीमा कफी लगाउने गरिन्छ । नेपालमा विविध किसिमको भौगोलिक बनावट तथा हावापानी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ ।

साथै भौगोलिक हिसाबले हेर्ने हो भने नेपालको मध्य पहाडी जिल्लाको ८ देखी १७ सय मिटरसम्मको उचाइसम्म अराविका जातको कफी खेती गर्न सकिन्छ ।

अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटरसम्म वर्षा र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टीग्रेड तापक्रम, अधिकांश उत्तर–पूर्वी र दक्षिण–पूर्वी मोहडा यही भौगोलिक क्षेत्रभित्र पाइन्छ ।

नेपालका सबै पहाडी जिल्लामा कृषि लगायत ग्रामीण सडकका साथै यातायात सञ्जालको विकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका विभिन्न कार्यक्रमअन्तर्गत सिँचाइ, बिजुली सबै ठाउँमा पुगिसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।

रोपाइ र बिरुवा घर
कफीका बोटमा फल्ने दानाहरूलाई नै बिउका रूपमा प्रयोग गरिन्छ । प्रशोधन नगरिएका कफीका दानालाई रोपेर बिरुवा उमार्न सकिन्छ । ठुलठुला ड्याङ बनाएर छहारीयुक्त बिरुवा घरमा कफीका दाना रोप्न सकिन्छ । टुसा हालिसकेपछि बिरुवालाई ड्याङ्बाट उखेलिन्छ र मलिलो माटो भरिएका बेग्लाबेग्लै भाँडामा रोपिन्छ ।

स्थायी रूपमा रोप्न लायक नहुन्जेलसम्म ती बिरुवालाई चर्को घामबाट जोगाएर राखिन्छ भने नियमित रूपमा पानी पनि हाल्ने गरिन्छ । खास गरी चिसो याममा बिरुवा रोपिन्छ । यसो गर्दा बिरुवाका वरिपरिको माटो चिसो रहन्छ र बिरुवाका जराले चाँडै माटो समाउँछन् ।

कफी बाली उठाउने
कफीका नयाँ बोटमा फल लाग्नका लागि ३ देखि ४ वर्ष लाग्दछ । कफीका फललाई कफी चेरी भनिन्छ । जब कफीका दाना पाक्दछन् ती चम्किला गाढा रङका हुन्छन् ।

यसपछि टिप्ने बेला हुन्छ । हातले वा औजारको प्रयोग गरेर कफी टिप्न सकिन्छ । हातले टिप्नु पर्दा बढी श्रमको आवश्यकता हुनाका साथै प्रशोधन गर्न पनि गाह्रो हुन्छ । निम्नलिखित दुई तरिकाबाट कफी टिप्ने गरिन्छ ।

क) एकै पटकको टिपाइ
एकै पटक सबै दानाहरू टिपिन्छ । हातैले वा औजारहरूको प्रयोग गरेर यो काम गर्न सकिन्छ । हाँगामा रहेका सबै चेरीहरूलाई एकैपटक टिपिन्छ ।

ख) छानेर टिपिने
पाकेका चेरीहरूलाई छानीछानी हातले टिपिन्छ । कफी टिप्ने व्यक्तिले ८÷१० दिनको अन्तर पारेर रूख रूख चहार्ने गर्नुपर्ने हुन्छ । उटा कुशल व्यक्तिले एक दिनमा १०० देखि २०० पाउन्डसम्म कफीका दाना टिप्न सक्छ जसबाट २० देखि ४० पाउन्डसम्म कफीका दाना निकाल्न सकिन्छ । दिनभरि टिपिएको कफीलाई भेला गरिन्छ र प्रशोधन गर्ने ठाउँमा लगिन्छ ।
कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन, कफीको बोटको काँटछाँट , तालिम र पुनर्योबनिकरण ।

कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन
बीउको छनौट

कफीका लागि बीउको छनौट गर्दा माउ बोट कम्तीमा ८ बर्षको हुनपर्छ । बोटका कफीका दानाहरू पुष्ट, स्वस्थ एवं मध्यम आकारको हुनुपर्छ ।

कफीका दानाहरू परिपक्क साथै हेर्दा राम्रो देखिने खालको हुनुपर्छ । माउ बोटको मध्य भागका हागाहरुबाट र मध्य भागमा रहेका राम्रोसँग पाकेका कफीका दानाहरू टिप्नु पर्दछ ।

कफीका दानाहरूलाई पानीले भरिएको बाल्टिनमा खन्याउने र बाल्टिनमा माथि उत्रेका दानाहरूलाई हटाउनु पर्दछ । बाल्टिनमा ढुवेका दानाहरूलाई जम्मा गनुपर्दछ ।

पानीमा डुबेका कफीका दानाहरूलाई हातले मिचेर वा पल्पर मेशिनको सहायताले बोक्रा हटाउन सकिन्छ । बोक्रा हटाइ सकेपछि फक्लेटा बनाउनु पर्दछ ।

उक्त फक्लेटाहरू मध्य कुहिएका, बिग्रिएका र मसिना फक्लेटाहरू हटाइदिनु पर्दछ । त्यसपछि ती फक्लेटाहरूलाई राम्रोसँग चालिएको खरानीको धुलो फक्लेटाको सतहमा पर्ने गरी मिलाउनु पर्दछ ।

यसरी खरानी दलेको बीउलाई छहारीमा मान्द्रोमा राखी हावा खेल्न पाउने गरी सुकाउनु पर्दछ । छहारीमा सुकाउदा दिनको तीन पटकसम्म चलाउनु पर्छ जसले गर्दा बीउ एकनासले सुक्न पाउछ ।

सुकाएको पाँच दिन पछि बढी भएको खरानी हटाउनु पर्छ । त्यसपछि बीउलाई केही बाक्लो गरी फेरि छायाँमा सुकाउनु पर्छ । यसरी कफीको बीउ रोप्नको लागि तयार हुन्छ । तयारी बीउलाई एक महिनाभित्र रोप्नु पर्छ ।

नर्सरीको लागि जग्गाको छनौट
कफी नर्सरीको लागि राम्रो उर्वराशक्ति भएको दोमट माटो भएको बिरुवाको बृद्धि विकास राम्रोसँग हुन सक्ने स्थानको छनौट गर्नु पर्दछ । छनौट गरिएको जग्गाबाट झारपात ढुंगा आदि हटाई जमिनलाई ३–४ पटक खनजोत गरी डल्ला फोरी माटोलाई मसिनो र बुर्बुराउँदो बनाउनु पर्छ ।

व्याडको तयारी
जमिन तयार भई सकेपछि १ मीटर चौडाई, आवश्यकता अनुसार लम्बाई र उचाई १५ से.मी.का ब्याडहरूको बीचमा १.५ फिटको बाटो राख्नु पर्छ ।

यसरी बनाइएको ब्याडमा ६ भाग जङ्गलको माटो, ४ भाग कम्पोष्ट वा गोबर मल र १ भग बालुवा मिसाई ब्याडको माथिबाट १ इन्च बाक्लो हुनेगरी राख्नु पर्छ । तयारी बीउलाई फागुन महिनामा रोप्नु उपयुक्त मानिन्छ ।

बीउ रोप्ने समय र तरिका

तयार पारिएको ब्याडमा लामो लठीको सहायताले २.५ से.मी. को फरकमा १.५ से.मि. गहिराइका सिधा लाइनहरू बनाई २.५ से.मी.को फरकमा बीउलाई घोप्टो पारी रोप्नु पर्छ ।

नर्सरी ब्याडमा बीउ रोपी सकेपछि खर वा परालले पातलो गरी ब्याडलाई ढाकी हजारीद्वारा पानी दिनु पर्छ । बीउ रोपेको ४५–६० दिन भित्रमा बीउ उम्रन्छ । बीउ उम्रन थालेपछि नर्सरी ब्याडमा राखेको छापो हटाउनु पर्छ र नर्सरी ब्याडमा छहारीको राम्रो व्यवस्था गर्नुपर्छ ।

दोश्रो नर्सरीमा बिरुवा स्थानान्तर
कफीको बीउ ब्याडमा उम्रन शुरु गरेपछि जब बिरुवा टोपी अवस्थामा जान्छ त्यसपछि दोश्रो नर्सरीमा स्थानान्तरण गनुपर्छ ।

बिरुवा स्थानान्तरण २ तरिकाले गर्न सकिन्छ ।

पोलिथिन ब्यागमा बिरुवा सार्ने तरिका
जंगलका माटो ६ भाग, कम्पोष्ट वा गोबर मल २ भाग र बालुवा १ भाग मिसाई यस मिश्रणलाई मसिनो बनाउनु पर्छ । यसरी मिश्रण तयार गरी सकेपछि ९/६ इन्चको पोलिथिन ब्यागमा उक्त मिश्रणले ब्याग नखुम्चने गरी भुर्न पर्छ । पोलिथिन ब्याग भरी सकेपछि ब्यागको बीच भागमा बिरुवा रोप्नु पर्छ ।

बिरुवा रोपेको ब्यागलाई बासको कप्टेराले बनाएको १ मिटर चौडाई र आवश्यकता अनुसारको लम्बाई भएको चौकोस भित्र ५–६ फिट अग्लो छाप्रोको व्यवस्था भएको स्थानमा मिलाएर राख्नु पर्छ रहजारीद्वारा पानी दिनुपर्छ ।

जमिनमा तयारी ब्याडमा बिरुवा सार्ने तरिका
पहिला बीउ जमाउन बनाएको जस्तै ब्याड तयार गरी बिरुवाको टोपी अवस्थामा दोश्रो नर्सरीमा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ३० से.मि.कायम गरी रोप्नु पर्छ । बिरुवालाई रोपी सकेपछि हजारीद्धारा पानी दिनु पर्छ । यसरी स्थानान्तरण गरेका बिरुवालाई चर्को घाम, पानी र असिनाबाट बचाउन छाप्राको व्यवस्था गनुपर्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏