गोलभेँडाको मूल्य प्रतिकिलो १२ रुपैयाँ !

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३१ बैसाख ।

घरानमा गोलभेँडाको मूल्य घटेको छ । धरानमा प्रतिकिलो ३० रुपैयाँमा कारोबार हुँदै आएको गोलभेँडा को भाउ घटेर प्रतिकेजी १२ रुपैयाँ पुगेको हो । निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्ट बन्द भएका कारण गोलभेँडाको खपत घटेको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

धरानमा निषेधाज्ञा अघि दैनिक ६० टनभन्दा बढी कारोबार हुने गरेकोमा अहिले दैनिक २५ टन मात्र गोलभेँडा बिक्रि हुदै आएको छ । निषेधाज्ञा जारी भएपछि धनकुटा,मोरङ, झापा लगायतका कृषकले लगाएका गोलभेडा बिक्रि नहुदा बारीमै कुहिन थालेका छन् ।

लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम

जिल्लाको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत रु ४० हजार प्राप्त गरेका छन । त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ ।

गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको रु ४० हजार, तीन जना कृषकलाई ६ रोपनीको रु ३० हजार, एक जना कृषकलाई डेढ रोपनीको रु सात हजार पाँच सय र १३ जना कृषकलाई रु ६५ हजारका दरले प्रोत्साहन रकम वितरण गरेको छ । कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘नगदेबालीतर्फ आकर्षण बढाउन चालु आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौ, आगामी वर्षपनि यसले निरन्तरता पाउँछ,’ उनले भने ।

गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यावसायिक रुपमा उत्पादन गर्ने कृषक कम रहेका छन् । प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनीमा उत्पादन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरेका थियौ, निवेदन परेपछि फिल्डमै गएर मूल्याङ्कनका आधारमा रकम प्रदान गर्ने मापदण्ड बनाइएको छ,’ उनले भने ।

कृषकलाई बोयर बोका

तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेकोे वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको थियो । — रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏