घट्यो पत्याउनै नसकिने गरी कुखुराको मासुको मुल्य , प्रतिकेजी कति ?

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३० बैसाख ।

कोरोना संक्रमण बढेसँगै उकालो लागेको कुखुराको मासुको मूल्य फेरि घट्न थालेको छ । कोरोना सक्रमण बढ्दै गएपछि कुखुराको उत्पादनमा कमी आएपछि बढेको मूल्य घट्न थालेको छ । मासुको मूल्य उत्पादन बढेका कारण होइन,आपूर्ति सहज नभएका कारण घटेको हो । त्यस्तै,कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विभिन्न ४१ जिल्लाहरुमा निषेधाज्ञा घोषणा गरेको छ । जसले गर्दा मासुको माग बढी हुने होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएका छन् । त्यसकारण मासुको माग पनि कम भएको छ । होलसेल बजारमा पनि कुखुराको मासु घटिसकेको छ । अहिले खुद्रा मुल्य नै प्रतिकेजी ३५० रुपैँयामा झरिसकेको छ । सरकारले गरेको निषेधाज्ञाका कारण कुखुरा ल्याउन आवतजावत गर्ने समस्या भएका कारण मूल्य ओरालो लाग्न थालेको ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले बताए ।

प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउने मासुको मूल्य बढेर ४ सय ५० रुपैँयासम्म पुगेको थियो । कुखुराको पकेट क्षेत्र चितवनमा मूल्य घटेपछि काठमाडौंमा पनि विस्तारै घट्न थालेको छ । फागुनको सुरुमा ३ सय ५० रुपैँयाको हाराहारीमा रहेको मासुको मूल्य ४ सय ५० पुगेको थियो । खुद्रा व्यवसायीहरुले अझै बढेर ५०० रुपैँया पुग्ने बताएका थिए । आवतजावतमै समस्या भएका कारण मात्रै मूल्य घटेको हो । उत्पादन भने बढेको छैन ।

अघिल्लो वर्षको फागुनदेखि सुरु भएको कोरोना भाइरसका कारण कुखुराको मासु खपत हुने होटल व्यवसाय सबै ठप्प हुँदा मासुको मूल्य अत्याधिक घटेको थियो । मासु खपत नभएपछि खोरमै कयौँ चल्लाहरु नष्ट गरियो भने किसानहरुले सस्तोमै जिउँदो कुखुरा विक्री गरेका थिए । त्यहि कारण किसानले कुखुरा पालन गर्न डराएपछि मासुको मूल्य एक्कासी आकाशिएको थियो । आपूर्ति सहज हुने हो भने मासुको मूल्य अझै बढ्ने थियो । तर आपूर्तिमै समस्या भएका कारण विस्तारै मूल्य ओरालो लाग्दै गएको अध्यक्ष पोखरेलको भनाई छ ।
के भन्छन् किसान ?

चितवन,चैनपुरका कृष्ण भुषाल विगत १० वर्षदेखि कुखुरा पाल्दै आइरहेका छन् । विचमा मासुको मूल्य घटबढले सामान्य घाटा वेहोरेका उनले कोरोना कालमा निकै घाटा सहे । महँगोमा चल्ला किनेका भुषालले गुन्द्रुकको भाउँमा बिक्री गर्नुको विकल्प थिएन । त्यसैले यसपाली उनले कुखुराका चल्ला नै किनेन् । ‘चल्ला हालेर के गर्नु,फेरी घाटा खानुपर्छ ।’ भुषालले भने । कोरोनाको दोस्रो लहर सुरु भएका कारण सरकारले विभिन्न ४१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । आगामी दिनमा संक्रमण झनै बढ्ने डरले उनले चल्ला हाल्न नसकेको बताए ।

त्यस्तै,चितवन वीरेन्द्रनगर टाउनकी सरस्वती पौडेल पनि विगत ६÷७ वर्षदेखि कुखुरा पाल्दै आइरहेकी छन् । कोरोना कालमा उनले पनि कुखुरा व्यवसायबाट नोक्सानी बेहोरेकी छन् । अब पुनः कोरोनाको संक्रमण बढिरहेकाले उनले पनि कुखुराका चल्ला हाल्न छोडेर होटल व्यवसाय गर्ने मनसाय बनाएकी छन् । चैनपुरका भुषाल र टाउनकी पौडेल त प्रतिनिधी पात्र मात्रै हुन् । कोरोना संक्रमण सुरु भएदेखि यसै गरी कयौँ किसानको विचल्ली भएको छ । कयौँले व्यवसायमा घाटा खाए भने कयौँ किसानहरु व्यवसायबाट पलायन नै भए । अहिले साढे ८ लाख किलो मासुको माग छ, तर उत्पादन भने साढे ६ लाख केजीको हाराहारीमा मात्रै छ । कोरोना कालमा पोल्ट्री व्यवसायले १५ अर्वको हाराहारीमा घाटा बेहोरेको थियो ।

चल्ला र दाना महगो हुँदा झन समस्या

उत्पान नै कम भएपछि चल्लाको मूल्य पनि बढेर प्रतिगोटा ३० देखि ३५ रुपैयाँले भएको छ । हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेकाले माग धान्न समस्या भएको छ । त्यस्तै,दाना उद्योगहरुले पनि दानाको मूल्य पनि वृद्धि गरेकाले कुनै पनि किसानले घाटा खाएर कुखुरा पाल्ने मनस्थितिमा छैनन् । पछिल्लो समय दानाको भाउ पनि प्रतिकेजी ३ देखि ४ रुपैँयाका दरले वृद्धि भएको किसानको गुनासो छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏