किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौँ : मन्त्री अर्याल

कृषि पो्ट संवाददाता

काठमाडौं, ३० बैसाख ।

कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्‍मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताएकी छन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपज÷वस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधबार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडि बढ्ने बताउँदै मन्त्री अर्यालले जनतालाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै त्यसको आवश्यक समाधानका निम्ति पहल गर्ने बताइन् । “जनतालाई अप्ठ्यारो पर्दा कोही पनि टुलुटुलु हेरेर बस्ने सकिँदैन। सामूहिक समस्या समाधान गर्न के गर्न सक्छौँ त्यसमा हामी लाग्छौँ,” मन्त्री अर्यालले भनिन्, “संकटमा गर्नुपर्ने कामसँग जोडिएका कुरासँग हामी अगाडि बढ्छौँ । यो हामी सबैको साझा समस्या हो । त्यो महशुस गरेर एकजुट भएर समस्या समाधानमा अगाडि बढ्नेछौँ।” अहिलेको महामारीले सबैलाई समस्यामा पारेको भन्दै त्यसको समाधानका लागि सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो।

कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै उनले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ बि भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यसविषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने बताइन् । तत्कालको समस्या समाधानसँगै दीर्घकालका लागि पनि समस्या समाधान गर्नेगरी अगाडि बढिने उनले बताइन् । मन्त्री अर्यालले भनिन्, “तत्कालको समस्या समाधानसँगै दीर्घकालका लागि पनि केही समाधान गर्नेगरी खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ कि भनेर हामी छलफल गर्छौँ। अनलाइनमार्फत् माग आपूर्ति र व्यवस्था संकलन गर्न तथा टेलिफोनबाट कृषकको अवस्था बुझ्ने कार्यलाई पनि अगाडि बढाउछौँ।”

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपन्क्षी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न मन्त्रालय गम्भीर रहेको र आवश्यक छलफल गरी पहलकदमी अगाडि बढाइने बताए।

कार्यक्रमका सहभागी किसानहरुले महामारीका कारण कृषि उत्पादनका मूल्य न्यून हुँदा बिक्री वितरणमा समस्या उत्पादन भएको बताएका थिए । कतिपय तरकारी स्वदेशमा नै उत्पादन भइरहेको सन्दर्भमा भारतबाट पनि आयात भएका कारण किसान मर्कामा परेको उनीहरुले बताए । अहिले खासगरी ताजा तरकारीहरुमा मूल्यमा किसानहरु मर्कामा परेको तर ढुवानीमा भने समस्या नभएको उनीहरुको भनाइ थियो ।

यसअघि कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको पहिलो दिनमै त्यस्तै मन्त्री अर्याल र मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखि ढुवानीमा सहजिकरण गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

मन्त्रालयले वैशाख १५ गते भेटेनरी अस्पताल, क्लिनिक, प्रयोगशाला, पशु चिकित्सा सेवा सञ्चालन, पशुपन्क्षी तथा मत्स्य फार्म सञ्चालन, पशु तथा पशुजन्य उद्योगसम्बन्धी कार्यहरु, पशुपन्क्षीको ओसारपसारमा प्रयोग गरिने ढुवानीका साधनहरु, दुध तथा दुग्ध पदार्थ, अन्डा, मासु तथा मासुजन्य पदार्थको ढुवानी बिक्री वितरण, दाना तथा दानाको कच्चा पदार्थ, चल्ला क्रेट, घास, पराल, फिड सप्लिमेन्ट, भेटेनरी औषधि तथा खोप, सिमेन, तरल नाइट्रोजनको ओसारपसार तथा बिक्री वितरणमा निषेधाज्ञाका अवधिमा स्वास्थ्य सम्बन्धी मापदण्डलाई पालना गर्नेगरी उक्त सेवाहरु सञ्चालनमा आवश्यक सहजिकरण गरिदिन आग्रह गरेको थियो।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏