गाउँमा तरकारी खेती गरेर महिनाकाे १ लाख कमाउँछन् पाँचथरका सुमन न्याैपाने

कृषि पोष्ट संवाददाता

काठमाडौं, १६ वैशाख ।

पाँचथरकाे फिदिम नगरपालिका, नागिनका सुमन न्यौपानेले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । २९ वर्षीय सुमनले पूर्वी पहाडी जिल्ला पाँचथरमा ‘नमुना कृषि फार्म’ खाेलेका छन् ।

उनी फार्ममा तरकारी गाेडमेल, रेखदेख अनि उत्पादित तरकारी बजारमा पुर्‍याउनमै ब्यस्त हुन्छन् । आधुनिक प्रविधि अपनाएर तरकारी खेती गरिरहेका सुमन रोजगारीसँगै पैसा कमाउने सम्भावना देखेरै यो पेसामा लागेको बताउँछन् । ‘पाँच वर्षयता मेरो दैनिकी नै तरकारीखेतीमा बित्ने गरेको छ । कमाइ पनि राम्राे छ । पाँचथरमा कृषिलाई व्यावसायिक बनाउन प्रयासरत छु’, उनले भने, ‘गाउँघरमा उत्पादन भएको तरकारी अर्ग्यानिक हुन्छ । पहाडको हावापानीमा तरकारी उत्पादन गर्दा कुनै पनि औषधि प्रयोग हुँदैन । त्यही भएर तरकारी अर्ग्यानिक हुन्छ ।’

ग्रामीणक्षेत्रमा कृषिको राम्रो सम्भावना छ । सरकारले ग्रामीण भेगको कृषिलाई विकास गर्ने र अगाडि बढाउन खास याेजना ल्याउनुपर्ने उनी बताउँछन् ।

फार्ममा ४० लाख रुपैयाँ लगानी रहेकाे सुमनले बताए । महिनाकाे २ लाख रुपैयाँकाे तरकारी बेच्ने गरेका उनले सबै खर्च कटाएर प्रतिमहिना १ लाख रुपैयाँ बचत हुने गरेको बताए ।

फार्ममा उत्पादित तरकारी फिदिम बजार र झापामा बिक्री हुने गरेको छ । तरकारी किन्नेहरू फार्मसम्मै पनि पुग्ने गरेका छन् । तरकारीको माग धेरै छ । बजारमा माग भएअनुसार उत्पादन गर्न नसकिएको उनकाे भनाइ छ ।

फार्ममा टमाटर वार्षिक ३५ हजार केजी, काँक्रा ५ हजार केजी, फर्सी, सिमी, प्याज, साग उत्पादन हुने गरेको सुमनले बताए । उनले फार्ममा पाँच जनालाई राेजगारी दिएका छन् ।

फार्ममा परिवारका सबै सदस्य खटिन्छन् । सुमन नागिनमा कृषि पेसामा लागेकामध्ये उदाहरणीय युवासमेत हुन् । उनकै कारण गाउँका अन्य युवा पनि कृषि पेसातिर आकर्षित हुन थालेकाे स्थानीयवासी बताउँछन् ।

सुमनले कृषि फार्म सञ्चालनका लागि प्रदेश १ सरकारबाट १५ लाख रुपैयाँ अनुदानसमेत पाएका छन् । सरकारले दिएको अनुदानले कृषिमा टिकेर काम गर्न हाैसला मिलेकाे उनी बताउँछन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏