ब्रोइलर कुखुराको मासु दोब्बरले बढ्यो, किसान भन्छन्– पुरानै मूल्यमा बेच्न बाध्य छौँ

कृषि पोष्ट संवाददाता

काठमाडौं, १६ वैशाख ।

मुलुकमा सबैभन्दा धेरै माग हुने ब्रोइलर कुखुराको मासुको मूल्य झण्डै दोब्बरले महँगिएको छ । केही साताअघि मात्र प्रतिकिलो करिब २ सय ८० रुपैयाँमा खरिदबिक्री हुने गरेको ब्रोइलरको मासु दैनिक रूपमा बढ्दै गएर अहिले ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

कुखुरा व्यवसायी संघका अनुसार गत चैतको अन्तिममा २ सय ८० रुपैयाँआसपासमा खरिदबिक्री भएको थियो । हाल उपत्यकाभित्रका लागि प्रतिकिलो ४ सय २० रुपैयाँ मूल्य निर्धारण गरिएको संघले जनाएको छ ।

कुखुराको मासुको माग धेरै भएको र बर्डफ्लुका कारण उत्पादन घट्दा मूल्य बढेको संघका अध्यक्ष जंगबहादुर बीसीको भनाइ छ । उनले भने, ‘देशभर ८ देखि ९ लाख किलो कुखुराको मासु दैनिक खपत हुने गरेको छ । अहिले कुखुराको मासुको माग बढ्यो । त्यही भएर मूल्य पनि बढेको हो ।’

उनका अनुसार उपत्यकाभित्र मात्र दैनिक ५ देखि ६ लाख किलो कुखुराको मासु खपत हुन्छ । ३५ प्रतिशत कुखुराको मासुको उत्पादनमा गिरावट आउँदा आपूर्ति कम भयो । जसले गर्दा मूल्य बढेको हो ।

उनले भने, ‘बर्डफ्लुको त्रासले गर्दा किसानले अहिले नयाँ चल्ला खरिद गर्न छाडेका छन् । तराईमा उत्पादन भएको कुखुराको मासु काठमाडौंमा आपूर्ति गर्नुपर्दा पनि मूल्य बढेको हो ।’

कृषक पुरानै मूल्यमा बेच्न बाध्य

काठमाडौंलगायत देशभरका केही जिल्लामा बर्डफ्लुको संक्रमण देखिन थालेपछि कुखुराको मासुको मूल्य दोब्बरले वृद्धि भएको छ । तर, कुखुरा उत्पादकले भने पुरानै मूल्यमा बेच्न बाध्य भएको बताएका छन् ।

कुखुरा उत्पादक किसानले भने बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएर दाेब्बर पुगे पनि आफूहरूले चाहिँ प्रतिकिलो २ सय ६० रुपैयाँमा बेच्न बाध्य भएको राष्ट्रिय कुखुरा पालक संघका अध्यक्ष झनक पौडेलले बताए ।

उनले भने, ‘उपत्यकाआसपासका किसानले बजारमा भाउ बढेअनुसार केही बढी मूल्य पाएका होलान । तर, कुखुरा उत्पादन गर्दै आएका वास्तविक किसानले भने पुरानै मूल्यमा मासु बिक्री गरिरहेका छन् । अहिले पनि तराईका किसानले २ सय ६० रुपैयाँ प्रतिकिलोमा कुखुराको मासु व्यापारीलाई बिक्री गरिरहेका छन् ।’

कुखुराको मूल्य बढेसँगै व्यापारीले दाना र चल्लाको भाउ पनि बढाउँछन् । त्यही भएर किसानलाई कुखुराको मासुको मूल्य बढ्दा खुसी हुने अवस्था नरहेको उनको भनाइ छ । किसानले बिक्री गरेको मूल्यभन्दा उपभोक्ताले प्रतिकिलो करिब २ सय रुपैयाँ बढीमा कुखुराको मासु खरिद गरिरहेको कुखुरापालक संघले जनाएको छ ।

संघका अनुसार मासुको भाउ बढेसँगै दाना र चल्लाको भाउ पनि बढेको छ । दानाको मूल्य प्रतिकिलो ७० रुपैयाँ र चल्ला ८० रुपैयाँ प्रतिगोटा रहेकोमा अहिले १ सय १० रुपैयाँमा बिक्रीवितरण हुन थालेको छ । बजारमा कुखुराको मासुको मूल्य बढ्दा किसानलाई आर्थिक भार थपिएको संघको भनाइ छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏