कुखुराको मासुः किसानलाई प्रतिकिलो २७०, बिचौलियालाई १६० रुपैयाँ

कृषि पोष्ट संवाददाता

काठमाडौं, ८ वैशाख ।

कुखुराको मासुमा किसानभन्दा बिचौलिया मोटाइरहेको देखिएको छ । मासुको मूल्य आकाशिँदा अहिले उपभोक्ताले प्रतिकिलो ४३० रुपैयाँसम्म तिरिरहेका छन् । तर, कुखुरा उत्पादक किसानले भने केवल २७० रुपैयाँ मात्र हात पारिरहेका छन् ।

बिचौलियाले प्रतिकिलो १६० सम्म कमाइरहेको भेटिएको हो । मंगलबार काठमाडौं उपत्यकाका लागि कुखुरा व्यवसायी संघले प्रतिकिलो ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गर्दा बजारमा ४ सय ४५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ ।

मासुमा यसरी अत्यधिक मूल्य वृद्धि भए पनि किसान भने मूल्यवृद्धिबाट लाभान्वित भइरहेका छैनन् । कुखुरा व्यवसायी संघका अनुसार देशभर प्रतिदिन ८ लाख किलो कुखुराको मासु खपत हुन्छ भने काठमाडौंमा मात्र ५ लाख किलो मासु दैनिक खपत हुन्छ ।

राष्ट्रिय कुखुरापालक संघका अध्यक्ष झनक पौडेलका अनुसार अहिले तराईका कुखुरापालक किसानले केवल प्रतिकिलो २ सय ७० मात्र पाइरहेका छन् । किसानले दाना र चल्ला लगायतका पूर्वाधारमा उच्च मूल्य तिरिरहनु परेको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏