गड्यौलामल कसरी बनाउने ? यस्ता छन् कृषकलाई फाइदा

कृषि पोष्ट संवाददाता

गड्याउला मल किसानहरुको लागि पछिल्लो समय विशेष आकर्षण बन्दै गएको छ । रासायनिक मलभन्दा सस्तो सहज र उत्पादनमुलक हिसावले बढि हुनेभएपछि किसानहरु यता आकर्षित देखिएका हुन् ।

शहरी क्षेत्रमा भइरहेका साना तरकारी खेती कौसी खेतीलगायतमा माग बढ्दो छ । गड्यौलालाई जैविक फोहर खुवाएर मल बनाउनको लागि गड्यौला पालन गर्ने कामलाई गड्यौलाखेती भनिन्छ ।

यस प्रविधिद्वारा तयार पारिएको मललाई नै गड्यौला मल (Vermicompost) भनिएको हो । यसरी उत्पादित मलमा नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा सन्तुलित रुपमा हुने र रसायनिक मलभन्दा कम लागत खर्चमै तयार गर्न सकिन्छ । यो मल उन्नत मानिन्छ।

गड्यौला मल बनाउन मुख्यतया निम्न प्रजातिका गड्यौलाहरु प्रयोग गरिन्छः

इस्निया फोईटीडा (Eisenia foetida),
युड्रिलस युजिनीयल (Eudrillus eugineal),
पेरियोनक्स एक्याभेट्स (Perionyx excavatus) र लुब्रिकस रेवेलिअस (lubricous rebellious)

गड्यौला पालन गर्ने तरिकाः

१. काठको बाकस, प्लास्टिक बाल्टिन, डालो वा कन्क्रिट पिट तयार पार्ने
२. बाल्टिन वा बाकस छ भने पिंधमा मसिना छिद्र बनाउने र कन्क्रिट पिट हो भने ड्रेनेजको व्यवस्था हुनुपर्छ ।

३. बाकसको पिंधमा हल्का खस्रो तथा सुक्खा चिजहरु जस्तैः पराल, छ्वाली, कागजको टुक्रा आदि, करीब १ देखि १.५ इन्च जति भर्ने ।

४. त्यसमाथि थोरै मात्रामा हल्का माटो छर्ने र ओसीलो बनाउन हल्का पानि पनि छर्ने ।

५. त्यसपछि गाई भैसीको सुकेको गोबर, खेर गएका तरकारीका टुक्रा, अन्य घाँसपातहरु, कागजका टुक्रा आदि सड्ने र गल्ने किसिमका जैविक चिजहरुलाई मसिनो पारी काटेर राख्ने र ओसीलो हुने गरी पानि छरिदिने

६.अब गड्यौलाहरु फिँजाएर राख्ने र त्यस माथि कालो कपडा वा पराल आदिले ढाकिदिने ।

७. उक्त बाकस र भाँडो कन्क्रिट पिट सिधै घाम तथा पानी नपर्ने ठाउँमा हुनुपर्छ।

मल संकलन गर्ने तरिका

गड्यौलाले जैविक चिजहरु खाएर भर्खर निस्केको मल कालो, चिप्लो, खोक्रो र चियापत्तिको दाना जस्तो देखिन्छ ।

यस्तो मल २ ईन्चभन्दा बाक्लो देखिएपछि मल निकाल्ने समय भएको बुझ्नु पर्दछ र तल लेखिए अनुसार संकलन गर्नु पर्दछ ।

१ .यदि बाल्टिन, डोकोमा पालेको छ भने घोप्टाएर नगलेका वा खान बाँकी चिजहरुलाई छुट्याउने र मललाई चुचुरो बनाई केही बेर त्यसै छोड्ने

गड्यौला उज्यालोमा नबस्ने भएकोले यो तल तल जान्छ र मललाई माथिबाट हल्का तरिकाले निकाल्ने र पुनः चुचुरो बनाईदिने र केही बेर त्यसै छाड्ने ।

यो प्रकृया मलभन्दा गड्यौलाको मात्रा बढी नभएसम्म दोहोर्याउने र बाँकी रहेको गड्यौलासहितको मललाई फेरि सोही भाँडोमा राख्ने

२. यदि काठको बाकस र कन्क्रिट पिटमा पालन गरिएको छ भने त्यसमा रहेको कम्पोस्टलाई गड्यौलासहित एक कुनाबाट अर्को कुनामा सार्ने

– खाली ठाँउमा पहिले झैँ बेड बनाउने र खानेकुराहरु राखिदिने ।
– त्यपछि पहिलेझैँ छोपेर केहिदिन त्यसै छाडिदिने ।
– गड्यौलाहरु पहिलेको स्थानमा खानेकुरा सकिएपछि नयाँ ठाँउमा जान्छन् र पहिले राखेको स्थानबाट मल निकाल्ने र पुनः त्यस ठाँउमा पनि खानेकुरा राखिदिने।

यो मल साधारण कम्पोष्ट मलभन्दा पनि बढि प्रभावकारी हुनाले यसको उपयोग प्राङ्गारिक खेती, व्यवसायिक खेती र कौशीखेतीमा पनि बढदो छ।

त्यसकारण तपार्इहरू पनि यो अवसरको फाइदा लिनका लागि व्यवसायिक योजना बनाइ अघि बढनुहोस साथ हामी दिनेछौं ।

एग्री आर्टको वालबाट

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏