कोरोना प्रभावित कुखुरा व्यवसायीलाई अनुदानमा कुखुराको चल्ला वितरण

कृषि पो्ट संवाददाता

काठमाडौं, १० चैत्र ।

लमजुङमा व्यावसायिक कुखुरा पालन गर्दै आएका ७२ जना कृषकलाई अनुदानमा कुखुराको चल्ला वितरण गरिने भएको छ । कोरोना प्रभावित कुखुरा व्यवसायीलाई चल्ला आयात गर्न राहात स्वरुप बढीमा ७५ प्रतिशत अनुदानमा ३५ हजार कुखुराको चल्ला वितरण गरिने भएको हो । जिल्लामा बोइलर कुखुरा चल्ला राहतका लागि ४५ जना र लेयर्स कुखुराको चल्लाको लागी २७ जना कृषक छनौट भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार जिल्लामा २० हजार बोइलर कुखुराको चल्ला र १५ हजार लेयर्स कुखुराको चल्ला वितरण गरिनेछ । तर कार्यालयमा भने ३२ हजार ६ सय ५० कुखुराको चल्लाका लागि मात्रै निवेदन परेको र अब बाँकी चल्लाका लागी फेरी सुचना प्रकाशन गरीने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

कार्यालयबाट छनौट भएका ७२ जना कृषकमध्ये एक जनालाई एक सय चल्ला, पाँच जनालाई दुई सय ५० चल्ला, आठ जनालाई तीन सय ५० र अन्य बाँकीलाई पाँच सयका दरले चल्ला राहत उपलब्ध गराउने भएको छ । कृषकलाई कार्यालयले तोकेको मूल्य बराबरको रकम उपलब्ध गराउने र कुखुराको चल्ला कृषक आफैंले खरिद गर्नुपर्ने हुन्छ ।

चल्ला वितरणका लागि निर्धारित कार्यविधिअनुसार कम्तीमा दुई वर्ष पहिलेदेखि सम्बन्धित निकायमा दर्ता भई व्यावसायिक कुखुरा पालन गरेको हुनुपर्छ । कृषकबाट प्राप्त निवेदनका आधारमा कार्यविधि अनुसार चल्ला वितरण गरिने कार्यालयले जनाएको छ ।

कुखुरापालक कृषकहरुलाई ब्रोइलर र लेयर्स कुखुराको चल्लामा विशेष अनुदानका लागि २३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो कार्यालय प्रमुख श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा व्यावसायिक कुखुरापालन गर्दै आएका कृषकहरुको निम्ति कुखुरा चल्ला विशेष राहात प्याकेज ल्याएको हो ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏