के हो एभोकाडो ? यसका फाइदा र खेती गर्ने सम्पूर्ण जानकारीसहित

कृषि पोष्ट संवाददाता

एभोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय राम्रो नगदे फल हो । यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना” हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।

समुन्द्र सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन । विभिन्न अध्ययनमार्फत यसमा अत्यन्तै फाइदाजनक तत्व हुने देखिएको छ ।

नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइए पनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन । संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन । पाखा, खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ ।

नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो फल्छ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो सम्म फल उत्पादन हुन्छ ।

खेति प्रविधि :

समुन्द्र सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । ३ फिट लम्बाई ३ फिट चौडाईको खाडल खन्नुपर्छ । १ः१ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।

बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयमा दिनको एकपटक पानी दिनु पर्छ । बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।

रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ । बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ, श्रावन देखि कार्तिक मंसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भदौ असोज हो ।

एभोकाडोको बजार :

एभोकाडो बिदेशमा प्रती केजी १ हजार पर्छ भने, नेपालमा एभोकाडो ३ सयदेखी ५ सय प्रती बिक्रि हुन्छ ।

फाइदा :

एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ ।

यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो कोहीले सेवन गर्न सक्छ, त्यस्तै पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ ।

केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

एभोकाडोमा हुने फाइबर अर्काे एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्जन जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

https://www.youtube.com/watch?v=WmCfjQWvORA

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏