किसान महासंघको भेलामा के भने प्रधानमन्त्री ओलीले ? ‘भोलि भन्नेछु धेरै कुरा…’

कृषि पो्ट संवाददाता

काठमाडौं, २२ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानले समेत छर्लंग बुझेका कुरा नाम चलेका नेताहरुले नबुझेको भन्दै आन्दोलनरत प्रचण्ड -माधव कुमार नेपालतर्फ कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई किसानसँग दाँज्दै उनले भने, “तपाईहरुले जति तिनले बुझेकै छैनन्। नत्र किन सडकमा जान्थे उफ्रिन्थे ?”

किसान महासंघको भेलामा सम्बोधन गर्दै उनले किसान जागरणको निम्ति सम्पूर्ण अगुवालाई बधाई समेत दिए । सामाजिक जागरण र परिवर्तनका लागि एउटा तुफान भेलको रुपमा यस्ता किसान आन्दोलनले काम गर्न सक्ने उनको भनाई छ ।

अर्को एक प्रसंगमा उनले मान्छे बिग्रियो भने कहाँ पुग्छ ? भन्ने प्रश्न गर्दै प्रचण्ड-नेपाल तर्फ संकेत गर्दै भने कम्युनिष्टको बर्को ओढेर बाटोमा बसेकोप्रति आपत्ति जनाए । कम्युनिष्ट एकताको विरोध गर्ने मानिसले कम्युनिष्टको खोल ओढेको भन्दै विगतमा पनि बदनाम र ध्वस्त बनाएको उनले आरोप लगाए ।

पूनजागृत भएर फेरि आन्दोलनलाई अघि बढाउन जागरुक भएकोप्रति उनले शुभकामना दिएका हुन् ।

विगतमा किसान आन्दोलन परिवर्तन अत्यन्तै महत्वपूर्ण अंगको रुपमा रहेको स्मरण गर्दै उनले थपे, “कम्युनिष्ट पार्टीको अस्तित्व किसान आन्दोलनमा अडिएको थियो ।”

इतिहास हेर्दा पनि तराईमा अनेक रुपका किसान आन्दोलन त्यस अवधिमा भए । शोषण, असमानता, दमन, अन्याय, अत्याचार, समानता लगायतका अनेकन आन्दोलनका विरुद्ध किसान आन्दोलनले ठूलो सफलता र उपलब्धी पाएको बताउँदै उनले कम्युनिष्ट पार्टी स्थापनासँगै आन्दोलनमा जुट्यो तर मोहनशमशेर प्रधानमन्त्रीबाट मातृकाप्रसाद प्रधानमन्त्री बनेपछि कम्युनिष्ट पार्टी बन्दै गरिदिएका कारण युवा, किसान, विद्यार्थी लगायतका नामबाट क्रियाशिल रुपमा लागिरहेको उनको भनाई छ ।

“६५ प्रतिशत मानिस किसानमा आधारित छन् ।” उनले थपे, “म राजनीतिमा छु मेरो भाई र बुबा किसान हुनुहुन्छ । म कृषिसँग जोडिएको छु । मेरो पृष्ठभुमी किसान नै हो । अनौठो लाग्छ होला तर मलाई कृषि कर्ममा गरिने काम सबै आउँछ ।”

कृषिको आधुनिकिकरण, प्रविधी, व्यवसायिक कृषि क्षेत्र, आत्मनिर्भर, निर्यात नबढाई नहुने भएको उनले बताए ।

आयातमा निर्भर रहेको कारण आजका दिनमा पौष्टिकता हराउँदै गएको कुरा सुनाउँदै उनले भने- “किन आयात गर्छौ हामी ? आनीबानी बिग्रेर । १० प्रतिशत खाद्यवस्तु आवश्यकताभन्दा बढीपछि आयात बढी गर्छौ हामी । यो बदल्नुपर्छ । किसानलाई बास्मती होईन बढी फल्ने, स्वस्थ्यकर, पौष्टिक फलाउनूस् ।”

कृषिको व्यवसायिकीकरण कार्यक्रमलाई अझ अघि बढाउन पनि उनले जोड दिँदै सुझाव दिए । उनले भने” कृषिको आधुनिकीकरण आजको आवश्यकता हो । जमिनको सदूपयोग गर्नुहोस् खाली राख्नै नदिनुहोस् । सहकारीको नीति अपनाउनुहोस् ।”

सरकारले कृषिमा दिएको करोडौँ अनुदान टाठाबाठाले लिइरहेको भन्दै उनले लक्षित वर्ग र किसानले त्यो नपाएको बताए । सरकारले आधुनिक र वैज्ञानिक प्रणाली र प्रविधीबारे काम गरिरहेको उनको भनाई छ । प्रविधीका धेरै कुरा ‘आउटडेटेड’ हुने भन्दै उनले थपे, “कृषि पेशा, व्यवसायको उपादेयता कहिल्यै पनि ‘आउडेटेड हुँदैन ।”

एक पक्षको मात्रै होईन किसान आन्दोलनको महत्व बहुआयामिक रुपमा छन् । उनले भने- “सरकारले किसान सम्बन्धी गलत नीति ल्याएर थोपर्दा किसानका लागि यस्ता जागरणहरु आवश्यक छन् । हाम्रो ध्यान किसानको उल्लेख्य कामहरु गर्नेमा छ ।”

त्यस्तै प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गर्न आग्रह गरेका छन् । उत्पादन र उपलब्धीका क्षेत्रमा प्रगति गर्नुपर्ने उनको भनाई छ । उनले भने- “त्यसलाई संगठित रुपमा अघि बढाउन आवश्यक छ । कृषि क्षेत्रको मात्रै होईन किसानले देशव्यापी रुपमा राजनीतिक जागरणलाई अघि बढाउनु पर्नेछ ।”

त्यस्तै भूमिको समस्या समाधानको लागि आयोग बनाएको विगत सुनाउँदै उनले ५१ सालमा आयोग बनाएर ६५ हजारलाई धनी पूर्जा वितरण गरिएको तर पछि अनेकन कानूनी जटिलता समेत ल्याएर अड्को थापेको र यो काम नै नगरी टुंगाइएकोप्रति उनले खेद व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डपक्षका नेता माधव कुमार नेपाल को नाम लिएर उनले भने “नेपालजी टाउको ठोकीनेगरी उफ्रिनुभयो । उनले कृषि क्षेत्रका समस्या भूमि क्षेत्रको समस्या समाधान गर्न बनाएको आयोग अड्काउनुभयो । अहिले कपाल लुछ्नुको कारण पनि त्यहि नै हो । कृषिको विकासमा बाधा हाल्ने मान्छे को हो ?

त्यस्तै आज प्रचण्ड-नेपाल पक्षले आमहड्तालको क्रममा तोडफोड भएको विषयमा कटाक्ष गरेका छन् । “बाटोको छेउमा बेचिराखेको तरकारी सडकमा फ्यालेर, अरुको गाडी जलाएर आफू गाडी चढ्ने अनि क्रान्तिकारीता देखाएँ भन्ने उहाँहरु नियम तोड्न खोज्नुहुन्छ । धाक धक्कु लगाउनुहुन्छ । कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनलाई हप्कीदप्की गर्नुहुन्छ । ति दिन गए प्रचण्डलाई म सम्झाउन चाहन्छु कानूनको पालना गर्नुहोस् । निर्वाचनको तयारी नगर हामी यहाँ छौँ भनेर समेत निर्वाचन आयोग पुग्नुभयो। धेरै कुरा म भोली भन्नेछु गम्भीरतापूर्वक किसानका समस्या समाधान गर्ने गरी सरकार लागेको छ।” उनले थपे ।

सम्बोधनको अन्तिममा पार्टीको शुद्धिकरण, सुदृढिकरण, विशुद्धिकरण आवश्यक छ भन्दै उनले भने- “चुनाव हुँदैन भन्ने भ्रममा नबस्नुहोस् । बहुमत आउँदैन की भन्ने डरमा नबस्नुहोस् । पार्टी फुट्यो भन्नेहरुलाई उनले जवाफ दिए ३ करोड मानिसमा २र४ जना जाँदैमा केहि हुँदैन । हामी जित्न सक्छौँ । हामीले जित्नेछौँ भन्ने मनोबलसहित फिल्डमा जानूस् । लोकपथ डटकम

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏