अष्ट्रेलियाबाट फर्केकी कुसुम गाउँमा कृषिकर्मकी अगुवा

कृषि पोष्ट संवाददाता

पशुपतिनगर ।

नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल हुनुभएको छ ।
घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अष्ट्रेलिया गएकी थिएँ”, दाहालले भन्नुभयो, “अष्ट्रेलियाको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो ।” अहिले उहाँ यही व्यवसायमा संलग्न हुनुहुन्छ । त्यस्तै निजी वनमा रुख हुर्काएर पनि वर्षेनी लाखौँ आम्दानी गर्नुभएको छ । उहाँल गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अष्ट्रेलिया जान मन लागेको भन्दै केही वर्षअघि अष्ट्रेलिया गएको बताउनुहुन्छ । दाहालले भन्नुभयो, “उहाँ विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ”, दाहाल भन्नुहुन्छ । दाहालले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताउनुभयो । विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उहाँ बताउनुहुन्छ । दाहालले भन्नुभयो, “हामीले परम्परागतरुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ ।”

नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिनुभयो । तालिमपछि उहाँले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम शुरु गर्नुभयो । पुरानो पेशा व्यापारलाई निरन्तरता दिएर माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन शुरु भयो । दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏