यसरी फलाउन सकिन्छ कौसीमै लहरे तरकारी

कृषि पोष्ट संवाददाता

काठमाडौं, १५ पुस ।

बर्खा लाग्न सुरू भएसँगै लहरे तरकारी बालीको सिजन सुरू भएको छ। जरा सकभर कम फैलने तथा जरा गहिराईमा सीमित हुने र लामो समयसम्म छिटो छिटो उत्पादन दिने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ।

खुर्सानी, भिण्डी, करेला, काँक्रो, लौका, घिरौला, सिमी, बोडी, फर्सी, स्कुसलगायतका तरकारी कौसीका लागि उपयुक्त हुन्छन्। कौसीका लागि खेती गरिने स्थानको हावापानी तथा बोटबिरूवालाई चाहिने हावापानी अनुसारको बाली छनोट गर्नुपर्ने वागवानी विकास अधिकृत भरत बहादुर आचार्यले जानकारी दिए।

माथि उल्लेख गरिएको तरकारीको विभिन्न जात हुने भएकाले आफूले खेती गर्ने स्थानको हावापानी अनुरूपको जातको बीऊ लगाउन उनी सुझाउँछन्।

यस्ता बालीका लागि बलौटे माटो उपयुक्त हुन्छ। लहरे बाली लगाउँदा बिरूवाको छेँउमा लठ्ठि राखि थाँक्रो दिनु पर्छ। जसले गर्दा बिरूवा माथि–माथि जान पाउँछ र उत्पादन पनि सोही अनुसार राम्रो हुन्छ।

यस वर्गका वालीमा सरदर दिनमा १८–२४ डिग्री सेल्सियस र रातमा १५–१८ डिग्री सेल्सियस तापक्रम भएमा राम्रो उत्पादन दिन सक्छ। यस्ता बालीमा पानीका कमी भएमा काँक्रा तितो हुने तथा नबढ्ने लगायतको समस्या हुन्छ।

उनका अनुसार लहरे तरकारी गर्मी समयमा रोपिने भएपनि बेमौसमी खेती गर्दा फागुन महिनाबाट गरे पोथी फुलको संख्या बढी उत्पादन समेत बढ्छ। बैमौसममा भने यी बाली तराई क्षेत्रमा कार्तिकदेखि फागुन, मध्य पहाडमा कात्तिकदेखि बैशाख र उच्च पहाडमा फागुनदेखि जेठसम्म लगाउँछन्।

नेपालमा ५४ हजार ६ सय ४८ हेक्टरमा यस समुहका तरकारी वालीहरूको खेती हुने गरेको छ। यस समुहका वालीहरूको सरदर उत्पादकत्व १४.१९ मे.टन हेक्टर रहेको छ।

यस समुहका बाली मध्ये नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खेती हुने बालीहरूमा क्रमशः करेला, काँक्रो, लौका र फर्सी रहेका छन्। त्यस्तै, सबैभन्दा बढी उत्पादकत्व हुनेमा काँक्रो, लौका र घिरौला रहेका छन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏