पाँच हजार ऋण काढेर उखुको भुक्तानी माग्न काठमाडौंमा

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३० मंसिर ।

सर्लाही रामनगरका रामेश्वर यादव छिमेकीसँग पाँच हजार रुपैयाँ ऋण लिएर उखुको भुक्तानी लिनका लागि संघीय राजधानी काठमाडौं आएका छन् । चिनी मिलले तीन वर्षदेखिको भुक्तानी नदिएपछि उनी ऋण काढेरै राजधानी आएका हुन् । माइतीघरमा आन्दोलनका लागि पुगेका उनीजस्ता दर्जनौं किसानको व्यथा उही छ ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने सरकारको बाचा पूरा नभएपछि आइतबारदेखि किसानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । तराईका विभिन्न जिल्लाबाट दुई सय किसान अहिले राजधानीमा भेला भएका छन् र आइतबारदेखि माइतीघरमा धर्नामा सहभागी भए ।
“तीन वर्षदेखि उखुको भुक्तानी पाएको छैन,” यादव भन्छन्, “साथीहरूले आन्दोलन गर्न जाउँ भनेपछि पाँच हजार रुपैयाँ ऋण मागेर आएको छु ।” अन्नपूर्ण सुगरमिलबाट १ लाख ७३ हजार रुपैयाँ लिन बाँकी रहेको उनी बताउँछन् । दुई बिघा जग्गामा उखु खेती गरी ९ जनाको परिवार यसैबाट पाल्नुपर्ने भए पनि भुक्तानी नपाएकाले घरखर्च चलाउन नै समस्या परेको उनको भनाइ छ । उखुको रकम पाउनका लागि तीन पटकसम्म काठमाडौमा आए पनि अहिलेसम्म पाउन नसकेकाले यसपाली रकम नपाएसम्म आन्दोलनमै बस्ने उनी बताउँछन् ।

सर्लाहीकै दीपेन्द्र यादवले पनि तीन वर्षदेखि उखु बिक्री गरेवापत ७ लाख रुपैयाँ पाएका छैनन् । उनी पनि उखुको रकम नपाएको भन्दै आन्दोलनमा राजधानीमा आएका छन् । उखु खेतीबाट जीविका चलाउँदै आएका उनी चिनी मिलले उखुको रकम नदिँदा घरखर्च चलाउनै कठिन भएको बताउँछन् । १८ जनाको परिवार उखु खेती गरेरै पाल्नुपर्ने उनको बाध्यता छ । उनीमात्र नभएर अधिकांश किसानले तीन÷चार वर्षदेखिको रकम पाउन सकेका छैनन् ।
गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न किसानले माग गरेका छन् । माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । उखु किसान संघर्ष समिति सर्लाहीका संयोजक राकेश मिश्रका अनुसार सरकारले किसानसँग गरेको पटक पटकको बाचा अनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति भएको छैन । “तिहारअघि पनि उद्योगमन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौ, मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए तर अहिलेसम्म रकम नपाएकाले यसपाली पैसा नपाएसम्म आन्दोलनमै उत्रने छौ,” उनले भने ।

किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि बाध्य भएर यस्तो चिसोमा आन्दोलनको लागि सडकमा आउन परेको उनको भनाइ छ । काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रम अन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने दिने र माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसान तयार भएको मिश्रको भनाई छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नवलपरासीको लुम्बिनी चिनी उद्योग प्रालिले ८ करोड ४१ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिजले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसले ७४ लाख भुक्तानी गरिसकेको छ । यस्तै सर्लाहीमा रहेको अन्नपुर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालिले ३३ करोड १० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसले ३ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । रौतहटमा रहेको श्रीराम सुगर मिल्सले पनि २६ करोड ७७ लाख ७८ हजार ६ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यो उद्योग तीन महिना अघिदेखि बन्द भएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏