कुखुराले अण्डा नपारीकन सिधै चल्ला जन्माएपछि…

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ ।
तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ ।

ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् ।

स्थानीय इच्छापुर गाउँमा बस्ने अम्बिका माझी नामका व्यक्तिले घरमा पालेको पोथी कुखुराले हालै अण्डाको साटो कोरलिएको चल्ला नै जन्माएको छ । यद्यपि जन्मेको १० मिनेटमा उक्त चल्ला मरेको थियो ।

कुखुराले ९ वटा अण्डा पारेपछि अम्बिका माझीले ती अण्डा टिपिरहेका थिए । तर त्यो कुखुरा अचानक केही टाढा गएर बस्यो । कुखुरा लामो समयसम्म एक्लै पर गएर बसेको देख्दा सायद उसले अर्को अण्डा पो पार्न लागेको हो कि भन्ने अनुमान लगाइयो । तर जब उक्त कुखुराले अण्डा पार्नुको साटो चल्ला नै जन्मायो तब कुखुरा धनी अम्बिका माझी तिनछक परे ।

कुखुराले बच्चा जन्माएको खबर छिमेकमा फैलिएपछि धेरै मानिसहरु हेर्न आए । कतै कुखुराले अण्डा पारेर तत्कालै कोरलेको त होइन ? भनेर उनीहरुले फुटेको अण्डाको बोक्रा छ कि भनेर यताउता खोजे । तर कुखुराले साँच्चीकै चल्ला नै जन्माएको रहेछ । तर विडम्बना उक्त चल्ला जन्मिएको १० मिनेटमै मर्यो ।

कुखुराले अण्डाको साटो चल्ला जन्माएको घटना निकै दुर्लभ हो । स्थानीय पशु चिकित्सा अधिकारीहरुले पनि यस्तो घटना आफुहरुले पहिलोपटक देखेको बताए । उनीहरुका अनुसार कुखुराको प्रजनन तन्त्रमै उक्त अण्डा बाहिर निस्किनु अगाडि कोरलिएको र अण्डा पार्ने बेलामा चल्ला नै जन्मिएको हुनसक्ने बताएका छन् ।

सन् २०१८ मा भारतको केरलास्थित वायनाडमा कुखुराले चल्ला जन्माएको घटना सार्वजनिक भएको थियो । त्यसअघि सन् २०१२ मा श्रीलंकाको एक पहाडि क्षेत्रमा कुखुराले चल्ला जन्माएको खबर सार्वजनिक भएको थियो । यद्यपि चल्ला जन्माउने क्रममा प्रजनन अंगमा घाउ बनेका कारण उक्त कुखुरा पछि मरेको थियो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏