प्लास्टिक घरमा तरकारी खेती, किन र कसरी?

कृषि पोष्ट संवाददाता

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो ।

नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा वि.श .२०४२ सालतिर भएको हो | बिगत ७-८ बर्षबाट नेपालका अधिकांश मध्य पहाडी जिल्लाहरुमा किसानहरुले सूर्यको परावैजनी किरण खप्न सक्ने सिल्पाउलिन प्लास्टिकको प्रयोग गरि बेमौसमी तरकारी खेति गर्न थालेका छन् ।

प्लास्टिक घरमै किन ?

० बेमौसमी तरकारी उत्पादन गर्न र बजारमा बेमौसमी तरकारीको उच्च माग

० चिसो मौसममा पनि बिरुवालाई अनुकुल बाताबरण सिर्जना गर्न

० विषादीको प्रयोग कम गरि उत्पादन लिन

० झार तथा किटहरुको प्रकोप कम गर्न

० सिंचाईको उचित ब्यबस्थापन

जग्गा तथा प्लास्टिक छनोट

सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घर भित्र तरकारी खेति गर्न राम्रो मानिन्छ | भिरालो र बर्षामा भेल पस्ने तथा पानि जम्ने ठाउमा प्लास्टिक घर बनाउनु हुदैन ।

प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जी.एस.एम. सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ | धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिदैन ।

माटोको निर्मलीकरण

माटोमा रहेका विभिन्न हानिकारक जीवाणु तथा कीटहरु नष्ट गर्ने प्रक्रियानै माटोको निर्मलीकरण हो । सूर्यको प्रकाश, ताप, रसायन (जस्तै फर्मालिन) तथा सयपत्री, तोरी लगायतका बिरुवाको प्रयोग (बायोफ्युमिगेसन) गरि माटो निर्मलीकरण गर्न सकिन्छ । सामान्यतया प्लास्टिक घर बनाउने जमिनमा कम्पोस्ट मल राखी राम्रो संग जोतेर सिंचाई गरि सफा पारदर्शी प्लास्टिकले चर्को घाम लाग्ने स्थानमा करिब ३५ देखि ४५ दिन ढाक्नुपर्छ ।

प्लास्टिक घर

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ । सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ । प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ । प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ ।

प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरू

प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ । बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ । सामान्यता गोलभेडा, काक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिंडी, काउली, बन्दा, फर्सि, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏