गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुसी

कृषि पोष्ट संवाददाता

काठमाडौं , ६ मंसिर ।

गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका-४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् ।

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुसीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै थिए । ‘यसपालि राम्रो भाउ पायो, प्रति किलो ५० बाट उँधो झरेकै छैन, किलोको ७०/८० सम्म आएको छ, धेरै खुसी छौँ,’ गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।’

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उनको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै एक लाख बुझेका थिए । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् । कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ ।

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत छ । उनको मास झण्डै दुई मुरी र धटमास एक मुरी उत्पादन हुन्छ । २० वर्षदेखि तरकारी खेतीमा आवद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउँछन् ।

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् ।

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक आठ÷दश लाख कमाइ गर्ने गरेको सुनाए । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उनी भन्छन्, ‘गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमिका त्यही पसिना चुहायो भने सुन फल्छ ।’

यस गाउँमा मगर जातिको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्न मै व्यस्त छिन् ।

सिद्धलेख-४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा कुलिचिएर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्छन् । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ ।

उनका अनुसार वडामा ७ सय ७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत वाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन रहेको मुख्य पेसा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो रहेको र तल्लो भागमा गाई÷भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ ।

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उनी बताउँछन् । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत दिने गरेको छ । साना किसानले मात्रै वार्षिक रु २२ करोड बढी मूल्यको तरकारी सङ्कलन गर्ने गरेको छ ।

आफ्नो वडामा मात्रै ३ सय परिवारलाई कुनै न कुनै रूपमा कृषि अनुदान दिएको र सडक सञ्लाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिए । उनका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पुर्‍याउने लक्ष्य रहेको छ । रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏