भैँसीपालन गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम बन्दै

कृषि पोष्ट संवाददाता

टीकापुर, १२ कात्तिक ।

टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो । ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहा भन्नुहुन्छ, दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।

उहाँ मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउनुहुन्छ । घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, नेहाले भन्नुभयो,भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, म सन्तुष्ट छु ।
भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ की तारा सुनारले पनि मासिक रु. १२ हजारसम्म आम्दानी लिइरहनु भएको छ । दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ’’, सुनार भन्नुहुन्छ, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।

बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । वडा नं. ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी रु १२ देखि १५ हजारसम्म हुन्छ । ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भन्नुभयो, ‘‘ समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।
स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो । देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउनुभयो ।

रु. ४२ हजार ब्याजमा ऋण दिन्छौँ । त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भन्नुभयो,भैँसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौँ । समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ।’’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताउनुभयो ।

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ । किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बंङ्गुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिनुभयो । रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏