विज्ञको सुझाब : दसैँको खानपानमा संयम बनौँ

कृषि पोष्ट संवाददाता

काठमाडौँ , ९ कात्तिक ।

विश्वव्यापी महामारीको बीचमा आइपुगेको दसैँ पनि आठौँ दिनमा छ । अधिकांशको घर–घरमा मासुका परिकार बनिरहेको छ । तर, जथाभावी मासु तथा मदिरा खाँदा मानिसलाई विभिन्न खालका रोगको खतरा हुनसक्ने चिकित्सक बताउँछन् । त्यसमाथि पनि कतिपय रोगका बिरामीले मासु खाँदा अझैं संयम हुन जरुरी छ ।

विज्ञहरुका अनुसार मुटुरोगीले चिल्लोपदार्थ धेरै खानुहुँदैन । यस्ता बिरामीले माछा–मासु र घिउ नौनीजस्ता चिल्लोपदार्थबाट टाढै रहनुपर्छ । यस्ता बिरामीले खानामा रेसादार खानेकुरा र हरिया सागसब्जी खाँदा फाइदा हुन्छ । त्यसैगरी उमारिएका गेडागुडी र झोल पदार्थले मुटुरोगीलाई फाइदा गर्छ ।

यसैगरी, मिर्गौला रोगीले माछा मासु र चिल्लोपदार्थ खाँदा विशेष ख्याल गर्नुपर्छ । त्यसैगरी सुगर प्रेसर, कोलेस्ट्रोल, मधुमेहका बिरामीका लागि पनि दसैँ–तिहारजस्ता चाड पर्व मासुजन्य पदार्थ वा चिल्लो सकेसम्म कम खानुपर्छ ।

युरिक एसिड भएका बिरामीले प्रोटिनयुक्त खानेकुरा, मदिरा र रातो मासु खानुहुन्न । युरिक एसिडको जोखिम बढाउन रातो मासुले भूमिका खेल्ने हेल्दी हेल्थ क्लिनिकका फिजिसियन डाक्टर गोपाल मगर बताउँछन् ।

कलेजो बिग्रिने मुख्य कारण मदिरा मासु र चिल्लोपदार्थको अत्यधिक प्रयोग हो । मासु मदिरा र चिल्लोपदार्थजन्य खाना खान कम गर्ने हो भने कलेजो रोगलाई असर नगर्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार अन्य दीर्घरोगीले पनि मासु तथा मदिराजन्य चिजको सेवनमा विशेष ख्याल गर्नुपर्छ ।

खानामा रेसा र चोकरयुक्त खानेकुरा जस्तैः सलाद, हरिया सागसब्जी, चोकरयुक्त पिठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै भएमा शरीरलाई फाइदा हुन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏