महानगरको टोलीले १५ हजार ७० खसी बोकामा हरियो रङ्ग लगायो

कृषि पो्ट संवाददाता

काठमाडौँ, ८ कात्तिक ।

काठमाडौं महानगरले कार्तिक ७ गतेसम्म काठमाडौंका बजारमा ल्याइएकामध्ये १५ हजार ७० वटा खसी बोका भेडा च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको छ । यसरी हरियो रङ्ग लगाइएका चौपाया स्वस्थ्य र निरोगी तथा मासु खानका लागि योग्य हुन् ।

यो कार्तिक १ गतेदेखि ७ गतेसम्मको अवधिमा रङ्ग लगाइएका चौपायाको संख्या हो । पशु विकास अधिकृत डम्मरबहादुर बम भन्नुहुन्छ — हामीले कलंकी र टुकुचाका ठूला तथा नियमित बजार, खाद्य व्यापार कम्पनी र बालाजु बाइपासका मौसमी बजार तथा सामाखुशी टाउन प्लानिङ्मा व्यापारीले ल्याएको असंगठित बजारमा भएका चौपायाको स्वास्थ्य अवस्था हेरेका हौं । यीमध्ये कलंकीमा ३ वटा खसी र सामाखुशी टाउन प्लानिङ्मा १ वटा च्याङग्रा विरामी थिए । ती विरामी चौपायालाई निरोगीबाट अलग राखेर व्यापारीमार्फत उपचार गराएको थियो । तिनको उपचारका लागि हामीले नै औषधि प्रेस्क्राइव गरेका थियौं ।

बमकाअनुसार चौपायाको स्वास्थ्य परीक्षणका लागि संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग र बागमती प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पनि काम गरिरहेको छ । उहाँहरुले कति चौपायाको स्वास्थ्य परीक्षण गर्नुभयो, त्यसको तथ्याङ्क एकीकृत गर्न बाँकी छ ।

काठमाडौं चौपाया खरिद बिक्री प्रा. लि. का व्यवस्थापक जीवनराज खतिवडा भन्छन्, कलंकीबाट हिजोसम्ममा करीब १७ हजार चौपाया बिक्री भएका छन् । आजसम्ममा करीब २० हजार पुग्छन् होला । उनकाअनुसार यस बर्ष बजारमा करीब ११ सय वटा मात्र च्याङ्ग्रा ल्याइए । यता टुकुचाका अध्यक्ष सन्तोष खत्री भन्छन्, खसी बोका कम छन् । यहाँबाट आजसम्ममा ६ हजारको कारोबार भएको छ ।

बजारमा महानगरको टोलीले चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिशा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका हेर्ने गरेको छ ।

यस बर्ष बिभिन्न जिल्लाबाट ल्याइएका चौपायामा महामारीको अवस्था हेर्न नमूना रगत संकलन गरिएको छ । पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाका अनुसार, स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि यस बर्षदलेखि पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालिएको हो । यसरी संकलन गरिएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण भइरहेको छ ।

डा झाकाअनुसार महानगरले पर्व विदाका समयमा पनि बजार र असंगठित चौपाया बजारको नियमित निगरानी गर्नेछ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏