कृषिमा यन्त्रीकिकरणको प्रयोग गर्दै बागमती प्रदेश सरकार

कृषि पो्ट संवाददाता

चितवन , ७ कात्तिक ।

चितवनको माडी नगरपालिका स्थित कान्तिपुरमा सामूहिक चक्लाबन्दी खेतीमा लगाइएको धान कम्बाइन हार्वेस्टरबाट काट्न सुरु गरिएको छ । आज बुधवार बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले यन्त्रीकरणको प्रयोग मार्फत आफैले रोपेको धान आफै काटेका छन् । १७ औं राष्ट्रिय धान दिवसका दिन असार १५ गते उहाँले यन्त्रीकरणको प्रयोग मार्फत धान राेपेका थिए ।

चक्लाबन्दी खेतीमा आफैले रोपेको धान आफै काट्न पाउँदा मन्त्री लामा उत्साहित देखिन्थे । सो अवसरमा बोल्दै उनले माडीका सिमान्तकृत समुदायको जीवनस्तर उकास्न सामूहिक खेतीको अबधारणा अघि सारिएको बताए । कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको उनकाे भनाई छ । मन्त्री लामाले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताए । उनले भने,‘माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बनाउनु छ, त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुहोस ।’ उनले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने धारणा व्यक्त गरे । माडी उर्वर भूमि रहेको भन्दै उनले अन्न भण्डारको रुपमा विकास गर्दै लैजाने बताए ।

यस्तै प्रदेश सभा सदस्य रामलाल महतोले पहिले र अहिलेको माडीमा धेरै परिवर्तन आएको बताएका छन् । माडीमा भएको कामले उत्साहा जगाएको भन्दै चक्लाबन्दी खेती नमूना बन्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारले दुई स्थानमा सामूहिक खेती सुरु गरेको उनले जानकारी दिए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको चक्लाबन्दी खेती बागमती प्रदेशको गौरबको योजना भएको बताए । पछाडी परेको क्षेत्रलाई माथि उकास्न मन्त्री आफैले निरन्तर पहल गरिरहेको भन्दै उहाँले धन्यवाद व्यक्त गरेका छन् । उनले लागत घटाउन यन्त्रिकिकरणको प्रयोग गर्दै सामुहिक खेतीमा प्रवेश गरेको जानकारी दिए । सामुहिक खेतीमा माडी नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

बागमती प्रदेश सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकिकरण गरी चक्लाबन्दी खेती सुरु गरेको हो । ९६ जना कृषकको १०० विगाह जमिनमा चक्लाबन्दी गरिएको छ । प्रारम्भिक चरणमा ५० विगाहामा चक्लाबन्दी भइसकेको छ । यसबर्ष १५ विगाह क्षेत्रफलमा धान रोपिएको सहकारीका प्रवन्धक शिवजी गायकले जानकारी दिए। सो स्थान १२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडापालनका लागि गोठ निर्माण गरिएको छ । सोही स्थानमा गन्दर्व समुदायको सांस्कृतिक संग्रालय र सामुहिक गन्दर्व बस्ती निर्माण गरिएको छ ।

वागमती प्रदेश सरकारले चितवनको माडी सहित चार जिल्लामा चक्लाबन्दी खेती सुरु गरेको छ । चितवन र सिन्धुलीबाट सुरु गरिएको सामूहिक खेती नुवाकोट र सिन्धुपाल्चोकमा पनि विस्तार गरिएको छ ।

चक्लाबन्दी खेतीका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान र केन्द्र सरकारले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण सहयोग गरेका छन् । गतबर्ष मात्रै सो क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैंया सहयोग गरेका छन् ।

मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनले सामुहिक खेती सफल बनाउन ज्ञान केन्द्रले निरन्तर प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । कान्तिपुरको सामूहिक खेतीमा ४० प्रकारका यन्त्र उपकरण सहयोग गरेको उनले बताए । सो स्थानमा मेसिनरी सेड र भण्डारण स्थल समेत बनाइएको छ ।

कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रूपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏