काठमाडौं, २६ असोज ।
कोरोना महामारीकै बीचमा मुलुकभर दशैंको माहोल शुरू भएको छ । दशैं नजिकिएसँगै यसका लागि आवश्यक तयारी शुरू हुन थालिसकेको छ । पेशा/व्यवसाय तथा अध्ययनका लागि शहरमा रहेका मानिसहरू दशैं मान्नका लागि घर फर्किने क्रम शुरू भइरहेको छ ।
महामारीकै बीचमा दशैंका लागि भनेर काठमाडौं उपत्यकामा ५५ हजारभन्दा बढी खसीबोका आयात हुने भएका छन् । व्यवसायीहरूका अनुसार, घटस्थापना (कात्तिक १ गते) सम्ममा काठमाडौं उपत्यकामा खसी बोका तथा भेडाच्यांग्रा आइपुग्नेछन् ।
कोरोना महामारीका कारण क्रयशक्ति घटेको भन्दै एकै लटमा धेरै खसीबोका ल्याउन व्यवसायीहरू हच्किएका देखिन्छन् । पहिला निश्चित संख्यामा ल्याउने अनि बजारको माग हेरेर थप खसीबोका ल्याउने तयारी व्यवसायीहरूको छ ।
उपत्यकावासीलाई ५५ हजार खसीबोका
काठमाडौं चौपाया खरिद प्रालिका अध्यक्ष जनक खड्काले घटस्थापनाको दिनसम्ममा काठमाडौं उपत्यकाका लागि करीब ५५ हजारको संख्यामा खसीबोका आइपुग्ने जानकारी दिए ।
विगतमा पनि ५५ हजारकै हाराहारीमा खसीबोका आयात भएको बताउँदै व्यवसायीहरूले अहिले पनि सोही परिमाणमा खसीबोका आयात गर्ने उनको भनाइ छ ।
लोकान्तरसँग उनले भने, ‘विगतमा जस्तै हामीले ५५ हजार खसीबोका ल्याउने तयारी गरेका छौं ।’
उनका अनुसार, अहिलेको दशैंमा च्यांग्रा भने कम परिमाणमा ल्याइने छ । ‘च्यांग्राको माग काठमाडौंमा धेरै भएको छैन, पोखरातिर चाहिँ यसको माग छ,’ उनले भने ।
उनका अनुसार, गत वर्षको दशैंमा काठमाडौं उपत्यकाका लागि ७ हजार च्यांग्रा ल्याइएको थियो ।
‘अहिले माग कम भएका कारण कति ल्याउने भन्ने नै यकिन हुन सकेको छैन, अहिलेसम्म २ हजार मात्रै ल्याउने कुरा छ,’ उनले भने ।
यस्तै, सहुलियत दरमा खसीबोका बिक्री गर्नका लागि सरकारले पनि खसीबोका आयात गर्ने गरेको छ ।
गत वर्षहरूमा पनि खसीबोका बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष ३ हजार खसीबोका तथा च्यांग्रा विक्री गर्ने तयारी गरेको छ ।
गत वर्षको जस्तै यस वर्ष पनि लिमिटेडले ३ हजार नै खसीबोका तथा च्यांग्रा खरिद बिक्री गर्ने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
लोकान्तरसँग उनले भने, ‘गत वर्षमा पनि हामीले ३ हजार खसीबोका तथा च्यांग्रा वितरण गरेका थियौं, अहिले पनि लक्ष्य त्यति नै छ । तर शुरूमा १ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउनेछौं ।’
उनका अनुसार, शुरूमा ल्याइने भनिएका खसीबोका तथा च्यांग्रा घटस्थापना (कार्तिक १)सम्ममा काठमाडौं आइसक्नेछन् । त्यसपछिको बजार माग हेरेर लिमिटेडले खसीबोका थप गर्ने उनको भनाइ छ ।
बजारमा कोरोना असर
व्यवसायीहरूले गत वर्षकै जसरी खसीबोका आयात गर्न लागेपनि बजारमा माग भने निकै कम छ । बजारमा माग निकै कम देखिएको भन्दै व्यवसायीहरू कोरोना महामारीले गत वर्षमा जस्तो यसपालि कमाइ नहुने चिन्ता व्यक्त गर्छन् ।
काठमाडौं चौपाया खरिद प्रालिका अध्यक्ष खड्का गत वर्षमा जस्तो अहिले माग बजारमा नभएको बताउँछन् । ‘कोरोना महामारीकै बीचमा दशैं छ, खसीबोकाको माग पहिलेको तुलनामा निकै कम देखिन्छ’, उनले भने ।
बजारमा खसीबोकाको माग हेरेर परिमाण थप्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बजार समय पर्खेर बसेको छ । कोरोनाले बजारमा असर पारेको भन्दै माग कम हुने लिमिटेडको अनुमान छ ।
लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवेदी भन्छन्, ‘महामारीको समय छ, बजार माग कम हुने अनुमान गरिएको छ, त्यसकारण पनि बजार माग हेरेर हामी संख्या थप गर्छौं ।’
२५ हजार भए पुग्ने अनुमान
नेपाल चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुली यसपालि दशैंमा २५ हजार जति खसीबोकाले उपत्यकाको माग धान्ने बताउँछन् ।
‘गत वर्षको तुलनामा अहिले माग धेरै कम छ, असार साउन र भदौ महिनामा पनि मासुको बिक्री कम छ । त्यसकारण २५ हजार हाराहारीमा खसीबोकाको माग रहने अनुमान गरिएको छ,’ लोकान्तरसँग उनले भने ।
पश्चिमबाट धेरै खसी आउने उनी बताउँछन् । सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतबाट बढी मात्रामा खसीबोका काठमाडौंमा आयात हुने गरेको छ ।
यस्तै धादिङ, चितवन, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाहरूबाट पनि काठमाडौंमा खसीबोका भित्रिने गरेका छन् ।
वार्षिक ६ लाख काटिन्छन् खसीबोका !
पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा दशैंमा करीब ५० हजारको संख्यामा खसीबोका आवश्यक हुन्छ ।
विभागका महानिर्देशक डा. वंशी शर्माले लोकान्तरसँग भने, ‘काठमाडौं उपत्यकामा वार्षिक ६ लाख खसीबोका काटिन्छन् भने दशैंमा मात्रै ५० हजार खसीबोका आवश्यक हुन्छ ।’
उनका अनुसार, वार्षिक रूपमा नेपालमा ३३ लाख खसीबोका काटिन्छन् ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏