पशुपालक किसानलाई परिचयपत्र दिइने

कृषि पोष्ट संवाददाता

पोखरा, २५ असोज ।

पोखराका पशुपालक कृषकलाई अब परिचयपत्र दिइने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपक्षीको सङ्ख्याका आधारमा वर्गीकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरणसहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया थालेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ तथा महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार सात वटा वर्गमा कृषकको पहिचान गरी परिचयपत्र दिइने पशु सेवा शाखाले जनाएको छ ।

महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ । पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गीकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गर्नेछन् ।

सोही वर्गका आधारमा वडाले दर्ता गर्नेछ । महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ ।

महानगरपालिकाले कृषकलाई विभिन्न सातवटा वर्गमा विभाजन गरेको छ । कृषक वर्गीकरण तथा परिचयपत्र वितरणबाट पशुपक्षीपालन व्यवसायलाई व्यवस्थित र सुदृढ तुल्याउनुका साथै पशु, पशुजन्य पदार्थको स्वस्थ्यरूपमा उत्पादन तथा बिक्री वितरणमा सहयोग पुग्ने विश्वास महानगरको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏