सम्भावना खोज्दै विदेशीएका युवाहरुको लागि गतिलो उदाहरण बन्दै घिमिरे

कृषि पोष्ट संवाददाता

शुशिल चौलागाईं

‘पहिले जिविकोेपार्जनगर्न नै गाह्रो हुन्थ्यो, पशुपालन व्यवसाय सुरु गरेपछि जीवन सुखमय बनेको छ’, यो भनाई दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका कृषक सरोज घिमिरेको हो।

बिहानीको झिसमिसेमै उठेर उनी भैंसी दुहुनतर्फ लाग्छन् र बिहान करिब ७ बजे उनी मोटरसाइकल हुइँक्याउँदै दुध बोकेर संकलन केन्द्रतर्फ लैजान्छन्।
सरोज पाँच वर्षदेखि यस व्यवसायमा लागेका छन्। उनको परिवारको सम्पूर्ण खर्च यसै व्यवसायले धानेको छ। उनको गोठमा १५ भैंसी छन्। सरोजले दिनमा करिब ८० देखि ९० लिटर दुध बेच्ने गरेको बताए।
सरोज टन्न पैसा कमाउने सुनौलो सपना बोकेर केही वर्ष अघि कतार हानिएका थिए। तर, त्यहाँको दुःख र परिवारको मायाले उनलाई स्वदेशमै केही गर्ने सोंच पलायो र उनी नेपाल फर्किए।

सुरुमा भैंसी पालन गर्दाका दिन सम्झिँदै उनले उचित प्रविधि र सरकारी अनुदान नपाएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘कतारबाट नेपालमै केही गर्छु भनी फर्किएको थिएँ, तर सोंचेजस्तो भएन। सुरु सुरुमा एकदमै गाह्रो भयो। न सरकारी अनुदान न त कुनै तालिम तथा प्रविधि। तर व्यवसायमा मेहनतकासाथ लागिरहे अहिले सबै कुरा सहज छ।’ सरोजले पहिले दुधको बजार पनि सानो रहेकोले अपेक्षित सफलता प्राप्त गर्न नसकेको बताए। तर अहिले उनलाई बजारको चिन्ता छैन। घरमै दुध लिन आउनेको लाइन लाग्छ।

उनले यसबाट आएको आम्दानीले घर खर्च चलाउनुका साथै बचतपनि राम्रै गरेको बताए। यतिमात्रै होइन सरोजले दुध बेचेकै पैंसाबाट पक्की घरसमेत बनाएका छन्।

सरोज भन्छन्,‘कुनै पनि व्यवसाय सानो ठूलो भन्ने हुन्न। मेहनल गरे सानै लगानीको व्यवसायबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ।’ उनले पैंसाका लागि अहिलेसम्म कसैसँग हात थाप्नु नपरेको बताए। दुध बेचैकै पैंसाले उनले पक्की घरसमेत बनाएका छन्।
सरोजको सफल भैंसीपालन व्यवसाय सम्भावना खोज्दै विदेशीने युवाहरुका लागि उदाहरण बनेको छ। उनी भन्छन्,‘ खाडी मुलुकमा पसिना बगाउनु भन्दा आफ्नै देशमा परिवारसँग बस्दै व्यवसाय गर्नु राम्रो। यहाँ बस्दा आनन्द लाग्छ। आफ्नै परिवार वरपर हुँदा काम गर्ने जागर पनि बढेर आउँछ।’ उनी पैंसाका लागि विदेशमा सम्भावना देख्नेहरुलाई स्वदेशमै केही गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउन सुझाव दिन्छन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏