पोखरामा प्याजको भाउ ७० रूपैयाँ कायम

कृषि पोष्ट संवाददाता

काठमाडौँ, ६ असोज ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकेको हो । पोखरामा प्याजको अधिकतम मूल्य ७० रूपैयाँ कायम गरिएको छ ।

प्रशासनले व्यवसायीसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रूपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले बताए ।

खुद्रा मूल्य ७० रूपैयाँ प्रतिकेजी तोकिए पनि थोक मूल्य भने ५५ रूपैयाँ कायम गरिएको उनले बताए । ‘तोकेभन्दा बढी लिएको पाइए कार्वाही गर्छौं,’ उनले भने ।

सबै तरकारीको भाउ आकाशियो

चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।

उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए ।
नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏