कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन

कृषि पोष्ट संवाददाता

लेखकः विश्वराज अधिकारी

विश्व अर्थव्यवस्थामा अब कृषिको अत्यधिक प्रभाव पहिलेजस्तो रहेन। उद्योग र सेवा व्यवसायले मानवजीवनलाई पूर्णतया आफ्नो नियन्त्रणमा लिएको छ, परस्पर निर्भरता बढाएको छ । अमेरिका, क्यानडाजस्ता मुलुकहरूमा कृषिको प्रभाव ठूलो मात्रामा भए तापनि युरोपलगायत अफ्रिका, एशियाका मुलुकहरू उद्योग र सेवा व्यवसायमा ज्यादै आश्रित हुन पुगेका छन् । यो कारणले गर्दा विकासशील राष्ट्रहरूका लागि व्यापार मानव शरीरमा रक्तसञ्चारको भूमिकाझै महत्वपूर्ण हुन पुगेको छ । व्यापार स्थिर हुनेबित्तिकै मानिस भोकभोकै मर्ने स्थिति छ ।

अर्कोतिर, कोरोना–सङ्कटले गर्दा अहिले नेपालको व्यापार क्षेत्र अवरुद्ध हुन पुगेको छ । व्यापार अवरुद्ध हुन पुगेकोले पर्यटन, उद्योग, सेवा–व्यवसाय, उत्पादन सबै गतिहीन हुन पुगेको छ। व्यापार यसरी स्थिर हुनुहुँदैन । सरकार एवं सम्बन्धित पक्षले व्यापारलाई स्थिर हुन दिनुहुँदैन, जीवित राख्नुपर्छ। लकडाउनको स्थिति, भौतिक दूरी कायम राखेर भएपनि, व्यापार सञ्चालित भइरहनुपर्छ । बरु लकडाउनको स्थितिमा व्यापार, व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर भएर सोच्नुपर्छ। लकडाउनमा पनि व्यापार सञ्चालन गर्न नयाँ–नयाँ पद्धति, प्रक्रिया, विधि एवं उपायको खोजी गर्नुपर्छ। तर व्यापार कुनै पनि हालतमा अवरुद्ध पार्नुहुँदैन । यस्तो गरिएमा गरीब जनता, दैनिक आम्दानीमा बाँच्ने श्रमिक, मजदूरहरूको जीवन कठिन हुने मात्र हुने होइन, देश नै पनि दिवालिया हुन सक्छ ।

नेपालले खासगरी कृषि उत्पादनमा वृद्धि गर्नुको अब विकल्प छैन । अन्य आवश्यकतालाई थाती राखेर, केवल बाँच्न सकिने आवश्यकता पूरा गर्न नेपालले कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ । कोरोना सङ्कटको सामना गर्न सरकारले दिएको ‘राहत’ वा आर्थिक सहयोगले केही समयसम्म मदत मिल्ला तर सरकारले यस किसिमको राहत कहिलेसम्म दिन सक्छ?

अहिले नेपालको कृषि सुस्त स्थितिमा छ । कृषि उत्पादनमा ठूलो ह्रास आएको छ। अर्कोतिर नेपाली श्रमिकहरू अन्तर्राष्ट्रिय बजारमा पुगेर काम गर्न पाउने स्थिति छैन । ‘रेमिट्यान्स’ एक किसिमले रोकिएको स्थिति छ । पर्यटन त नराम्ररी धराशयी हुन पुगेको छ । नेपालको अन्तर्राष्ट्रिय पर्यटन व्यवसायलाई पहिलेको स्थितिमा आउन वर्ष दिनभन्दा बढी लाग्नेछ, त्यो पनि कोरोना सङ्कट आजभोलिमा समाप्त भएमा। यो अझै लम्बिने हो भने पर्यटनको भविष्य अनिश्चित हुने निश्चित छ । त्यस कारण यो स्थितिमा व्यापार अवरुद्ध पार्नु भनेको शरीरमा रक्तसञ्चार रोक्नु हो । यो यथार्थलाई सरकारका पदाधिकारीहरू, नीति निर्माता एवं सम्बद्ध पक्षले गम्भीरतापूर्वक सोच्न आवश्यक छ । स्थानीय सरकारहरूले गम्भीरतापूर्वक लिन आवश्यक छ । यो सामान्य होइन, अति महत्वपूर्ण कुरा हो । जीवन–मृत्युसँग सम्बन्धित कुरा हो । अव्यवस्थित ‘लकडाउन’ समस्याको समाधान होइन। बरु समस्यामाथि समस्या थप्नु हो ।

नेपाली जीवनपद्धति अहिले पूर्णतया उद्योग, व्यापार, सेवा–व्यवसायमा आश्रित हुन पुगेको छ । चालीस–पचास वर्ष पहिले स्थिति यस्तो थिएन । अधिकांश व्यक्तिसँग जग्गा थियो। तराईको कुरा गर्ने हो भने ज्यादै निर्धन परिवारबाहेक, गरीब परिवारसँग पनि पाँच या दश धुर जग्गा थियो । जग्गा नहुने परिवारले अरूको जग्गा अधिया वा बटैयामा जोत्ने गर्दथे । यस्तै स्थिति पहाडमा पनि थियो । यस किसिमको स्थितिले गर्दा तराई होस् वा पहाड, व्यापार अवरुद्ध हुँदा कोही भोकभोकै मर्ने स्थिति थिएन । आफूसँग रहेको भूमिको उपयोग गरेर, त्यसमा विभिन्न किसिमका अन्नहरू फलाएर परिवार आफ्नो भरणपोषण गर्न सक्षम थियो । धान, मकै, कोदो, गहुँ, अलुआ, चिना, कौनी, फापर, चना, खेसारी, तोरी आदि भएपनि उत्पादन गरेर पेट भर्न सक्ने स्थिति थियो । उहिले कृषिको अधिक प्रभाव रहेको समयमा परिवारहरू अनेक किसिमका भौतिक, विलासी वस्तुहरू उपयोग गर्न सक्ने स्थितिमा नभए पनि भोकै बस्नुपर्ने स्थिति थिएन । किनभने व्यक्तिहरू जीवन निर्वाह अत्यावश्यक वस्तु आफै उत्पादन गर्न सक्षम थिए । प्रत्येक गाउँ एक किसिमले आत्मनिर्भर थियो । आफूलाई आवश्यक पर्ने वस्तु (चामल, दाल, तरकारी, मासु, तेल, मसला, इन्धन आदि) उत्पादन गर्न सक्षम थियो । कपडा, भाँडा आदि उत्पादन गर्न न सके तापनि । पशु–अवशेष (गोबर)को प्रयोग गरेर, गोहरा–चिपरी बनाएर, गाउँहरू ऊर्जा (खाना पकाउने) उत्पादन गर्न पनि सक्षम थिए ।

पहाडमा रहेका सामुदायिक, सरकारी भूमिहरूलाई ‘अल्पकालीन नीति’ तयार पारेर, त्यस अन्तर्गत रहेर, गरीब वा भूमिहीन परिवारलाई उपयोग गर्न दिन आवश्यक छ । तराईका सामुदायिक एवं सरकारी जग्गाहरू पनि गरीबहरूलाई जोत्न दिनुपर्छ ।

तर अहिलेको मानवजीवन अति पारस्परिक सम्बन्ध (Interdependence) मा बाँचिरहेको छ । नेपालमा त झनै पारस्परिक सम्बन्ध उच्च बिन्दुमा छ । अहिले नेपालमा प्रत्येक व्यक्तिले, आफूले केवल श्रममात्र उत्पादन गर्छ, बाँकी सामग्री बजारबाट खरीद गर्छ । एकजना मानिसले एउटा श्रम मात्र बिक्री गर्छ र श्रम बिक्रीबाट प्राप्त आम्दानीले अनेक किसिमका सामग्री खरीद गर्छ । यसरी प्रत्येक व्यक्ति सघन पारस्परिक सम्बन्धमा बाँचिरहेको छ भने प्रत्येक व्यक्ति जीवनयापनका लागि आफ्नो श्रम बिक्री गर्न बाध्य छ । स्वेच्छाले होइन, अनिवार्यताले, विकल्पहीनताले गर्दा । यस्तो स्थितिमा यदि व्यापारलाई पनि लकडाउन गरिदिने हो भने जीवन निर्वाह असम्भव हुन पुग्नेछ । त्यस कारण जीवन निर्वाहलाई गतिशीलता दिन लकडाउनको स्थितिमा पनि व्यापार सञ्चालन गर्न सकिने उपायहरूको खोजी गर्न आवश्यक छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेझै ‘दियो बालेर’ कोरोना सङ्कट समाधान हुन सक्तैन । कोरोना सङ्कट समाधान गर्न व्यापारका नयाँ–नयाँ तरीका, उपाय, पद्धति, विधिको खोजी आवश्यक छ । कोरोना सङ्कट लम्बिएमा, मध्यमवर्गीय परिवारका लागि पनि जीवन निर्वाह कठिन हुन सक्छ । अहिले त उनीहरूसँग बचत रहेकोले त्यो बचत प्रयोग गरेर, जीवन निर्वाह गरिरहेका छन् । तर भोलिका दिनहरूमा मध्यमवर्गीय परिवारको त्यो बचत सकिएमा उनीहरूको जीवन निर्वाह पनि कष्टकर हुनेछ ।

कोरोना सङ्कटको सामना गर्न, वर्तमान परिस्थितिमा नेपालसँग केवल एकमात्र उचित एवं प्रभावकारी विकल्प छ । र त्यो हो, राष्ट्रिय उत्पादनमा वृद्धि गर्नु । नेपालले खासगरी कृषि उत्पादनमा वृद्धि गर्नुको अब विकल्प छैन । अन्य आवश्यकतालाई थाती राखेर, केवल बाँच्न सकिने आवश्यकता पूरा गर्न नेपालले कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ । कोरोना सङ्कटको सामना गर्न सरकारले दिएको ‘राहत’ वा आर्थिक सहयोगले केही समयसम्म मदत मिल्ला तर सरकारले यस किसिमको राहत कहिलेसम्म दिन सक्छ? व्यापार–व्यवसाय ठप्प भएको स्थितिमा (विभिन्न किसिमका शुल्क एवं कर प्राप्त हुन नसकेकोले) सरकारले पनि कसरी आय प्राप्त गर्न सक्छ? आय क्रमशः घट्दै गएमा सरकारले राहत दिन सक्छ? धनी राष्ट्रहरूको अर्थव्यवस्था पनि धरमराएको स्थितिमा के नेपालले धनी राष्ट्रहरूसँग सहयोगको अपेक्षा गर्न सक्छ? के नेपालले अन्तर्राष्ट्रिय दाताहरूबाट सहयोग पाउला? सर्वाधिक धनी राष्ट्र अमेरिकाको स्थिति त अहिले नाजुक छ । यस्तो स्थितिमा कसले नेपाललाई सहयोग गर्ला?

अबको स्थितिमा यो अनिश्चितताको कालो बादलले घेरेको समयमा, हामीले कृषि उत्पादनमा जोड दिन आवश्यक छ । जसले जे सक्छ, जोसँग जुन किसिमको अनुभव छ, जहाँ जे हुन सक्छ, जति हुन सक्छ, जुन स्थान जे कुराको लागि उपयुक्त छ, हरेक व्यक्तिले त्यो सीप, साधन र जमीनको उपयोग गर्नुपर्छ ।

यो विषम परिस्थितिमा हामीले केवल गमलामा तरकारी रोपेर पनि मुलुकलाई तरकारी उत्पादनको क्षेत्रमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सक्छौं । दीर्घकालमा आत्मनिर्भर नै पनि बनाउन सक्छौं । यो कोरा कल्पना होइन, यथार्थ हो । यही अवधारणालाई मान्यता र महत्व दिएर नै इजरायलले कृषि क्षेत्रमा अभूतपूर्व विकास गरेको हो। सानो मुलुक भए तापनि इजरायल कृषिमा आत्मनिर्भर छ ।

यो स्थितिको सामना गर्न प्रत्येक व्यक्तिले आफ्नो बारी, खेत वा उपलब्ध जुनसुकै जमीनको उपयोग प्रभावकारी किसिमले गर्न आवश्यक छ । कोरोना सङ्कटले देशलाई नै दिवालिया पार्न सक्ने स्थिति आउन नदिन प्रत्येक व्यक्तिले यो विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ। कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ ।
खासगरी पहाडी विकट क्षेत्र, जहाँको भूमि उपयोग हुन सकेको छैन, ती भूमिमा कृषि कार्य विस्तार गर्न आवश्यक छ । पहाडमा रहेका सामुदायिक, सरकारी भूमिहरूलाई ‘अल्पकालीन नीति’ तयार पारेर, त्यस अन्तर्गत रहेर, गरीब वा भूमिहीन परिवारलाई उपयोग गर्न दिन आवश्यक छ । तराईका सामुदायिक एवं सरकारी जग्गाहरू पनि गरीबहरूलाई जोत्न दिनुपर्छ ।

संसारकै सर्वाधिक धनी देश अमेरिकाले यो कोरोना सङ्कटमा व्यापार स्थिर (बन्द) हुन दिएको छैन । अनेक किसिमका सावधानी अँगालेर अमेरिकीहरूले व्यापारलाई स्थिर हुन दिएका छैनन् । व्यापार चलि नै रहेको छ । भौतिक दूरी कायम राखेर व्यापार गर्न सकिने नयाँ–नयाँ विधिको प्रयोग भइरहेको छ। अमेरिकाले व्यापारको महत्व बुझेको छ । व्यापार अवरुद्ध भएमा कस्तो स्थिति आउन सक्छ भन्ने हेक्का अमेरिकी सरकार र जनता दुवैलाई छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏