फेरी बढ्यो कुखुराको मासुको मूल्य

कृषि पोष्ट संवाददाता

काठमाडौँ, ३ असोज ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाको समयमा निरन्तर रुपमा घट्दै आएको कुखुराको मासुको मूल्य एक सातामा १५ रुपैयाँले बृद्धि भएको छ ।

सरकारले लगाएको तीन साता लामो निषेधाज्ञा एक साता अगाडिदेखि अन्त्य भएसँगै उपत्यकामा नेपालीहरुको महान चार्ड दशैं नजिकिएको तथा लकडाउन तथा निषेधाज्ञाको अन्त्यले होटल तथा रेस्टुरेण्टहरू सञ्चालनमा आएको र सोह्रश्राद्ध पनि सकिएकाले बजारमा कुखुराको खपत बढ्न थालेकाले बजारमा यही मौका व्यवसायीले बोइलर कुखुराको मासुको मूल्यबृद्धि गरेका छन् ।

पछिल्लो दुई महिनादेखि उपभोक्ताले बजारमा खाद्यबस्तु तथा तरकारीको मूल्य बढी रहेको छ । एक सातादेखि भारतबाट आयात हुने प्याज भारतले प्रतिबन्ध लगाएकाले नेपाली बजारमा प्याजको मूल्यबृद्धि तथा कालोबजारी समेत बढेको छ भने उपभोक्ता मूल्यबृद्धिको मारमा परेका छन् ।

शनिबारदेखि लागू हुने गरी पोल्ट्री संघले जिउँदो कुखुरा प्रतिकेजी १० रुपैंयाँ र तयारी मासुमा १५ रुपैयाँले मूल्य बढाएको पोल्ट्री संघका अध्यक्ष जंगबहादुर वीसीले बताएका छन् । उनका अनुसार अहिले बजारमा कुखुराको मासुको मागका बढेका तर माग बढेको तुलनामा आपूर्ति घट्दै गएकाले मासुको मूल्य केही बढेको छ । उनले भने,‘पछिल्लो समय उत्पादित कुखुराको लट सकिन थालेपछि मूल्य बढ्नु स्वाभाविक हो ।’

बीचमा भाउ घट्न थाल्दा कुखुरापालकले खोरमा चल्ला हाल्नै कम गरेका थिए, त्यसैले यतिबेला कुखुरा माग भन्दा कम आउन थालेको थियो । अहिले पोल्ट्री व्यवसायीले बेच्ने जिउँदो कुखुराको मूल्य प्रतिकेजी एक सय ९० रुपैयाँ छ भने मासुको उपभोक्ता मूल्य २ सय ७० रुपैयाँ कायम भएको पोल्ट्री संघले जनाएको छ ।

गत साता प्रतिकेजी १५ रुपैयाँ बढेर २ सय ५५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका थिए । गत महिना मागभन्दा उत्पादन बढी हुँदा मूल्य घटेर प्रतिकेजी २ सय ४० रुपैयाँ र जिउँदो कुखुरा प्रतिकेजी १ सय ७० रुपैयाँ भएको थियो ।

असारमा उत्पादन कम भएका कारण बजारमा मासुको मूल्य बढेर प्रतिकेजी ३ सय ९० रुपैयाँसम्म पुगेको थियो । गत बिहीबारदेखि निषेधाज्ञा अन्त्य भएको र सरकारले होटल तथा रेस्टुरेण्टहरु खोल्न दिएकाले कुखुराको मासुको खपत बढ्दै गएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏