कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि

कृषि पोष्ट संवाददाता

विश्वभर कुरिलोका ३०० प्रजाति पाइन्छन । तरकारीको रुपमा कुरिलोको व्यावसायिक खेती बढिरहेको छ । अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।

नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ । वैज्ञानिक नाम Asparagus racemosus Wild var subacerosus Baker भएको कुरिलो Asparagaceae वानस्पतिक परिवारमा पर्छ ।

नेपालमा यसलाई कुरिलो, सतावरी, झिझिर काँडा, रानी कुरिलो, जंगली कुरिलो आदिका नामले चिनिन्छ । संस्कृतमा अतिरसा, शतमुली, शतावरी भनिने कुरिलोको अंग्रेजी नाम Golden Asparagus हो । कुरिलोलाई थारु भाषमा सतावर, नेवारीमा कुरिल, गुरुङ्गमा पुजुतोरो, चेपाङ्गमा गेदुङ्ग, लेप्चामा ताकोलक्रिम, सुनुवारमा च्याब्रा, हिन्दीमा शतावर, राईमा वोङ्गसालिम, शेर्पामा कोपी आदि नामले चिनिन्छ । नेपालमा समुद्र सतहबाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलोको खेती नै गरिएको छ ।

कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघसम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपीहाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ । माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।

तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ । टुसा सहितको जरालाई नर्सरीमा सारेर वा सिधै रोप्न पनि सकिन्छ । तर यसो गर्दा भन्दा बिउबाट रोपेको कुरिलो स्वस्थ र गुणस्तरको हुन्छ । घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।

कुरिलो रोप्नासाथै पानी लगाउनुपर्छ । जाडोमा महिनाको १ चोटी र गर्मीमा महिनाको २ चोटी पानी हाल्नुपर्छ । माघ फागुनमा मुना टुसाउनु भन्दा पहिला माटो सुकेको बेला गोडमेल र काँटछाँट गरिसक्नुपर्छ । दुबो र सिरुले कुरिलोको जरालाइ छेडेर नोक्सानी गर्ने र मुसा लाग्ने हुनाले यसलाई देख्नासाथै हटाइहाल्नुपर्छ । कुरिलोसँगै पहिलो बर्ष मकै खेति र मुला, धनियाँ जस्ता सागसब्जी र मुसुरो, चना जस्ता दाल लगाउन सकिन्छ । अनि कुरिलोको घाँस बाख्रा वा वस्तुलाई खुवाउने र फूल फुलेको बेला मौरी पालन गरेर बढी फाइदा लिन सकिन्छ । माघ फागुनमा गोडमेल गरेर पानी लगाएपछि आउने टुसा निकै राम्रो तरकारी मानिन्छ । यसमा औषधीय गुणका साथै प्रशस्त प्रोटिन, भिटामिन र पौष्टिक तत्व हुन्छ ।

तीन बर्ष पुगेको कुरिलो खन्दा बढी फाइदा हुन्छ । बीउ संकलन गरिसकेपछि पहाडमा पौष माघ र तराइमा माघ फागुनमा खन्नु उपयुक्त हुन्छ । वनबाट कुरिलो संकलन गर्दा फेरि विरुवा आउन सक्ने गरि एकदुईवटा टुसा सहितको जरा छाड्नुपर्छ । खेति गरिएको ठाउँमा भने सबै खनेर फेरि लगाउँदा राम्रो हुन्छ । एक झाङ कुरिलोमा ५ देखि १०० वटा सम्म कन्द (जरा) हुन्छन । वनमा भएको एउटा बोटबाट तीन सय ग्राम देखि सात किलोग्राम सम्म काँचो जरा आउँछ भने खेती गरिएको ठाउँमा ५ किलोग्राम देखि १२ किलोग्राम सम्म काँचो जरा निस्कन्छ । खन्नासाथ जरालाई छहारीमा फिंजाएर राख्नुपर्छ । घाममा सुकाउँदा भित्रभित्रै चाउरी परि कालो हुन्छ र बिग्रन्छ ।

कलिला र छिप्पिएका जरालाई बेग्लाबेग्लै राखी आलमुनियमको भाँडोमा ३० देखि ४५ मिनेट उसिनेर राम्ररी पाकेपछि बोक्रा निकालेर सुनौलो रंगको हुने गरि सुकाउनुपर्छ । मान्द्रो वा त्रिपालमा पातलो गरि १ हप्ता जति सुकाएको कुरिलो जुटको बोरामा हालेर हावा खेल्ने ठाउँमा राख्नुपर्छ । पाँच किलो काँचो जराबाट एक किलो सुकेको बिक्रीयोग्य कुरिलो निस्कन्छ ।

कुरिलो नेपालमा प्रशोधन हुँदैन । बरु सोझै भारततर्फ जान्छ । राम्रो गुणस्तरको सुकेको कुरिलो जरा प्रति किलोग्राम ३५० रुपैयाँ देखि ६०० रुपैयाँ सम्ममा बिक्छ । एक हेक्टरबाट दुई हजार पाँच सय देखि तीन हजार किलोग्राम सम्म सुकेको जरा निकाल्न सकिन्छ ।
राष्ट्रिय वनवाट कुरिलो संकलन गर्नु पहिला नै अनुमति लिनुपर्छ र सुकेको जराको प्रति किलोग्राम ५ रुपैयाँ राजश्व बुझाउनुपर्छ ।

फाेटाेः सुशील मैनाली

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏