बन्दाबन्दीका कारण तनहुँमा दूध खपत ५० प्रतिशत घट्यो

कृषि पोष्ट संवाददाता

असोज २, तनहुँ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण होटेल व्यवसाय बन्द भएसँगै तनहुँमा दूधको खपतमा कमी आएको छ ।

तनहुँ जिल्लामा दैनिक तीन हजार लिटर दूध सजिलै खपत हुने गरेको भएपनि पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्द भएपछि एक हजार पाँच सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक संघले जानकारी दिएको छ ।

संघका अनुसार अहिले दैनिक तीन हजार लिटर दूध संकलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करीब एक हजार पाँच सय लिटर दूध पोखरास्थित सुजल डेरीमा पठाउने गरिएको छ ।

दूधको खपतमा कमी आएपछि संघले घ्यू, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको संघका सचिव राजु भुजेलले बताए ।

संघले जिल्लाको व्यास, शुक्ला गण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध संकलन गर्ने गरेको छ । खपतपछि संकलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उनले बताए ।

गोरखा, लमजुङ र तनहुँ जिल्लामा उत्पादन गरिएको दूध संकलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित संघको आफ्नै भवन छ । विस २०५३ मा भाडाको घरमा पाँच ओटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो संघमा अहिले १८ सहकारी संस्था आवद्ध भइसकेको संघका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । संघले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरीद गर्ने गरिएको उनले बताए ।

कम लागतमा बढी उत्पादन लिने नीति

कम लागतमा बढी उत्पादन लिनका लागि संघले आवद्ध किसानलाई समय समयमा आवश्यक तालिम र गोष्ठीको आयोजना गर्दै आएको छ ।

संघले व्यवसायिक पशुपालनतर्फ किसानलाई प्रोत्साहन गर्ने, किसानले उत्पादन गरेको दूध घरदैलोबाटै खरीद गर्ने र गुणस्तरयुक्त दाना उपलब्ध गराउने नीति लिएपछि दूध उत्पादनतर्फ किसान आकर्षित भएको अध्यक्ष शर्माको भनाइ छ । रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏