जब ग्राहक बनेर उद्योग मन्त्री भट्ट तरकारी बजार पुगे…

कृषि पो्ट संवाददाता

काठमाडौं, ३१ भदौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहानै कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमनमा निस्किए । प्याजको मूल्यमा कालाबजारी भएको गुनासो सुनिन थालेसँगै मन्त्री भट्ट छड्के अनुगमनमा निस्किएका हुन् । सर्वसाधारणले नचिन्ने गरी (तरकारी किन्ने ग्राहक बनेर) उनी बजार पुगेका थिए । मन्त्री भट्टले बल्खुका सात वटा पसलमा प्याजको मूल्यबारे जानकारी लिएका थिए ।

ती पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले बताए । ‘केही पसलेले भने मन्त्री भट्टसहितको अनुगमन टोलीलाई प्याज नभएको बताएका थिए तर चिनेका मान्छेलाई ती पसलेले महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको ओझाले बताए ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको पाइएपछि सात वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ । प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई समेत टोलीले नियन्त्रणमा लिएको छ । मन्त्री भट्टले यसअघि पनि कालिमाटी तथा बल्खुस्थित तरकारी र फलफूल बजारको अनुगमन गरेका थिए ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏