बारीबाटै ८० रुपैयाँ किलोमा गोलभेँडा बेच्छन् किसान

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३१ भदौं ।

इच्छाकामना गाउँपालिका वडा नम्बर–२ थामडाँडाका २८ वर्षीय बुधलाल चेपाङ दुईपटकसम्म मलेसिया गएर फर्किए । विदेशमा कमाएको धनले गरिब परिवार लालनपालनमै खर्च भएपछि तेस्रोपटकका लागि उनी मलेसिया जान तयार भएनन् । बरु, उनले गाउँमै सुर्कासुर्की बारी खनजोत गरेर अन्नपात लगाउन थाले । मुख्य रूपमा मकैखेती हुने त्यस ठाउँमा बिस्तारै उनी तरकारी खेतीतर्फ पनि आकर्षित हुन थाले ।

अहिले बुधलाल गोलभेँडा बिक्री गर्न व्यस्त छन् । अफ सिजनमा फलाएको गोलभेँडाले राम्रो मूल्य पाएपछि उनी मख्ख छन् । व्यापारीहरू बारीमै आएरसमेत गोलभेँडा लाने गरेको उनले सुनाए । झन्डै १० कट्ठा क्षेत्रफलमा उनले गोलभेँडा खेती गरेका छन् ।

बुधलालले भने, ‘एक महिनाअघि बजारसम्म लगेर जम्मा ३५ रुपैयाँ किलो बेचेको हुँ । अहिले व्यापारी बारीमै ८० रुपैयाँ किलो दिन आइपुग्छन् ।’ त्यस ठाउँको तरकारी संकलन र बिक्री केन्द्रका रूपमा फिस्लिङ बजार रहेको छ । एक महिनाको बीचमा पटक–पटक भाउ बढेर ८० रुपैयाँसम्म पुगेको उनी बताउँछन् । बारीमा ८० रुपैयाँ परेको गोलभेँडाको भाउ उपभोक्तासम्म पुग्दा दोब्बरसम्म भाउ बढ्ने गरेको पाइन्छ ।

यसबीचमा बिचौलियाका कारण उपभोक्ता ठगिने गरेका छन् । तपाईंले ८० रुपैयाँमा बेचेको गोलभेँडा किसान, उपभोक्ताले १ सय ६० रुपैयासम्म मूल्य तिर्नुपरेको छ नि भनी प्रश्न गर्दा उनले भने, ‘केही घन्टामै बिचौलियाले यसरी पैसा खाइदिँदा किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका छौँ ।’

हरेक दिन बिहान गाउँमा चल्ने ट्रक, बोलेरो जिपले गाउँबाट तरकारी ओसार्ने गर्छ । फिस्लिङ झारेको तरकारी काठमाडौं, पोखरा, नारायणगढ र गोरखा जाने गरेको छ । तरकारी लिनका लागि ढुवानीको साधन उपलब्ध भएकाले अन्नबालीभन्दा पनि नगदेबालीमा किसानहरू आकिर्षत हुन थालेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏