काँक्रो खेती गर्दै हुनुहुन्छ ? यस्तो छ खेती गर्ने विधि र उपयोगिताहरु

कृषि पोष्ट संवाददाता

सुस्मा पौडेल

काँक्रोको वैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो । यो कुकुरबिटासी (Cucurbitaceae) परिवारमा पर्दछ । यो एक वर्षीय लहरे बाली हो । यसको उत्पत्ति भारतको दक्षिण पूर्वी भागमा भएको पाइन्छ ।

काँक्रो नेपालको परापूर्व कालदेखि नै खेती गरिँदै आएको मुख्य बाली हो । यसको खेती पहाडदेखि तराईसम्म गर्न सकिन्छ । नेपालमा मध्यपहाडी क्षेत्र यसको मुख्य उद्गम थलो मानिन्छ ।

अन्य लहरेबाली जस्तै काक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । काँक्रो तराईमा माघ, फाल्गुनमा रोपिन्छ भने बेमौसमी खेतीको लागि पुसमा बेर्ना तयार गरी रोपिने गरिन्छ । मध्ये पहाडमा चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिन्छ । काँक्रोलाई सलाद बनाएर चानामा नुन खुर्सानी दलेर, अचार बनाएर, तरकारी पकाएर, फल प्रशोधन गरेर सिधै खाने गरिन्छ ।

हावापानी न्यानो मौसममा खेती गरिने बाली भएकाले यसलाई न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट वृद्धि हुन २५° सेल्सियसदेखि ३०° सेल्सियस तापक्रम आवश्यकता पर्दछ । यसले तुषारो सहँदैन । आद्रता बढी भयो भने पनि यसको बोट वृद्धि विकास हुँदैन ।

माटो काँक्रो खेतिका लागि बलौटे दोभट र पाँगो माटो उपयुुक्त हुन्छ । उच्च उर्वराशक्ति र ५.५ देखि ६.५ पिएच भएको माटो उपयुक्त हुन्छ । काँक्रो खेती चिम्टाइलो माटोमा गर्न नसकिने भने हैन तर तर यस्तो प्रकारको माटोमा लहरा बढी लाग्ने तर फल चाहिँ कम लाग्छ । त्यसैले यस्तो प्रकारको माटो त्यति उपयुक्त हुँदैन ।

जग्गाको तयारी काक्रो खेतीका लागि २-३ पटक राम्रो सङ गहिरो गरि खनजोत गर्ने र माटो बुर्बुराउदो बनाउनु पर्छ। १८० से. मि चौडाइ को ड्याग बनाउने र दुई ड्याङको बीचमा कुलेसो बनाउने ।

बिउदर प्रति कठ्ठा २०-३० ग्राम हाइब्रिड (Hybrid) र लोकल अथवा स्थानीय जात भएको खण्डमा १३ ग्राम प्रति कठ्ठा ।

रोप्ने तरिका ३० देखि ३५ सेमीको खाडल खनी सिफारिस मात्राको मलखाद को प्रयोग गर्नुपर्छ । २-३ दिन पछि २ दाना खस्ने गरी २-३ सेमी गहिरो पारेर बीउ रोप्नुपर्छ ।

रोप्ने दूरी Row×Row= २ मिटर Plant ×plant= १ मिटर

थाँक्रो अथवा छाप्रो हाल्ने काँक्रो लहरे बाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको काँक्रो फल माटोमा परी नबिग्रियोस् भन्ने उद्देश्यका साथ थाँक्रो अथवा छाप्रा दिइन्छ । बोटहरु थोरै सङ्ख्या भए रुखको हाँगा अथवा बासको लिङ्गो बोटको नजिकै गाडेर थाँक्रा दिइन्छ । व्यावसायिक स्तरमा खेती गर्दा १.५ मिटरदेखि २ मिटर अग्लो खम्बा गाडी बासको भाटा अथबा डोरी बाँधेर टाँड बनाइन्छ ।

काँक्रोको उपयोगिता

१. काँक्रोको धेरै औषधिजन्य महत्त्व छ । २. काँक्रो पौष्टिकताले धेरै महत्त्वपूर्ण मानिन्छ । यसमा भिटामिन बि, सि क्याल्सियम र फोस्फोरस पाइन्छ । ३. काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ र यसले कब्जियत हुनबाट बचाउँछ । ४. काँक्रो खानाले ग्यास्ट्रिक कम हुन्छ । यसको प्रयोगले जन्डिसका बिरामीहरुलाइ फाइदा गर्दछ । ५. मोटोपन घटाउन सहयोग गर्दछ । ६. गर्मीको समयमा शितल घटाउँछ।

(पौडेल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा अध्यनरत कृषि विधाकी विद्यार्थी हुन्)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏