बोडी खेतीमा लाग्ने रोग कीरा र यिनको व्यवस्थापन

कृषि पोष्ट संवाददाता

प्राविधिक ज्ञान तथा कार्यविधि

बोडी खेतीमा विभिन्न किसिमका कीरा तथा रोगहरु लाग्दछन् । ती मध्ये लाही, गाढे कीरा, पर्तरो आदि प्रमुख हुन् र पात कालो हुने रोग, सिन्दुरे, भाइरसजन्य रोग प्रमुख हुन् ।

लाही कीराले बिरुवाको कलिला भागमा बसी रस चुस्दछन् र भाइरसजन्य रोगहरु सार्दछन् । यसको नियन्त्रणका लागि सानो बिरुवा भएमा १ भाग गाई÷भँैसीको पिसाबमा १० भाग पानी मिसाइ १५ दिनसम्म राखी सो घोल एक हप्ताको फरकमा छर्ने, तर बिरुवा ठूलो भएमा १ भाग पिसाबमा ५ भाग पानी मिसाएर ७ दिनको फरकमा छर्नु पर्दछ ।

ड्ड हाँगा र काण्डमा गाँठे कीरा लाग्दछ जसले गर्दा बिरुवा बढ्न सक्दैन । यसको नियन्त्रणका लागि गहुँत र पानीको प्रयोग गर्नु पर्दछ । भर्टिसिलिएम लेकाली ५ एम.एल. वा दमन भि.ए.ल ५ ग्राम र सखर वा चिनी ५ ग्राम प्रतिलिटर पानीका दरले १० दिनको फरकमा २ पटक छर्नु पर्दछ ।

पतेरोले बोडीको काण्डमा बसी रस चुस्दछ । पतेरोको सङ्ख्या धेरै भएमा बिरुवा ओइलाउन सक्दछ । यसको नियन्त्रणका लागि १० ग्राम सखर वा चिनी वा खुदो १ लिटर पानीमा मिसाइ चास्नी जस्तो बनाएर २ एम. एल.नुभान वा अन्य साइपर मेथिन विषादी उक्त चास्नीमा २ मि.लि.का दरले मिसाइ पूरै बोटमा छर्नु पर्दछ ।

वर्षायाममा लगाएको बोडीमा कोसा तथा पात कालो हुने रोग बढी देखिन्छ । यसको व्यवस्थापनका लागि बिरुवाको सानै अवस्थादेखि वेभिष्टिन २ ग्राम र डाइथेन एम ४५ दुई ग्राम वा क्रिनोक्शिल गोल्ड अथवा साफ २ ग्राम प्रतिलिटर
पानीका दरले १५ दिनको फरकमा छर्नु पर्दछ ।

बोडीमा सिन्दुरे रोग लागेमा पातमा राता फोकाहरु देखिन्छन् र पात बिस्तारै सुक्दछन् । यसको व्यवस्थापनका लागि वेभिस्टिन १ ग्राम प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा ३ पटक छर्नु पर्दछ । यसैगरी डाइथेन यम. एम. ४५, २ देखि ३ ग्राम प्रतिलिटर पानीमा मिसाएर १० देखि १५ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।

बोडीमा भाइरसजन्य रोगहरु पनि लाग्दछन् । जसले गर्दा पात खुम्चिने, पात छिरबिरे हुने, कोसा चाउरी पर्ने आदि हुन्छ । यसको रोकथामका लागि रोगर २ मि.लि प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ । गाईको दूध २० एम. एल. प्रतिलिटर पानीमा मिसाएर १० देखि १५ दिनको फरकमा छर्ने र १÷२ दिन पछि वायोलिफ क्यर १ मि.लि. प्रतिलिटर पानीमा १५ दिनको फरकमा छर्नु पर्दछ । यसै गरी भिरकुन एच ४ एम. एल. प्रति लिटर पानीका दरले १५ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏