सोलार फार्मिङसँगै बेसार खेती र नर्सरी पनि

कृषि पोष्ट संवाददाता

तस्बिर : भगवती पाण्डे

कोरोना महामारी नफैलिएको हुँदो हो त सौर्य ऊर्जाबाट निकालिएको साढे ८ मेगावाट विद्युत यतिबेला राष्ट्रिय ग्रिडमा जोडिइसकेको हुने थियो।

रिडी हाइड्रोपावर कम्पनीले २०७६ साल मंसिरदेखि बुटवल सोलार ग्रिड कनेक्टेड प्रोजेक्टको नामबाट साढे ८ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम अघि बढाएको थियो। अब एक-दुई हप्तामै यो सौर्य ऊर्जा राष्ट्रिय प्रशारण लाइनमा जोडिएर आयोजना पूरा हुने छ। परियोजनाका अनुसार मणिग्राम अमुवा सडकखण्डमा रहेको शान्ति नमूना माविको जग्गा लिजमा लिएर बनिरहेको आयोजनाको प्यानल, ट्रान्सफर्मर, इन्भर्टर जडान काम सकिएको छ। सबस्टेसन निर्माण पनि सकिएको छ भने यहाँबाट उत्पादित विद्युत जोड्न अमुवा सबस्टेसनमा ट्रान्समिसन लाइनको काम भइरहेको छ।

परियोजना प्रबन्धक एवं इलेक्ट्रोनिक्स इन्जिनियर यतु रावतले प्यानल जडान गरिएको स्थानदेखि सबस्टेसनसम्मको साढे सात किलोमिटर ट्रान्समिसन लाइनमा अब डेढ किलोमिटर मात्र जोड्न बाँकी रहेको बताए। त्यसपछि आयोजनाको सबै काम पुरा हुने उनको भनाइ छ।’अब एक-डेढ हप्तामा बाँकी रहेको ट्रान्समिसन लाइन पनि जोडेर पूरा हुन्छ। त्यसपछि विद्युत उत्पादन गरी सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ,’ उनले भने। २०७७ सालको वैशाखमै विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने भनिए पनि कोरोना लकडाउनका कारण प्राविधिक ल्याउन नसक्दा ढिला भएको परियोजनाले जनाएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टाको २६ बिघा जग्गा लिजमा लिएर यो आयोजना निर्माण थालिएको थियो।

मणिग्राममा लिजमा लिएको जग्गामा ३२ हजार सोलार पाता जडान गरिएको छ। प्रत्येक पाता तीन सय ३० वाट क्षमताका छन्। रावतका अनुसार यो परियोजना ब्याट्रीमा निर्भर हुँदैन। बरू प्रत्येक पाताबाट उत्पादित विद्युत सिधै ग्रिडमा लगेर जोडिन्छ। रूपन्देहीको बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ६ लेन सडक डिभाइडरमा जडान गरिएका सोलार प्यानल असफल भएको भन्दै विद्युतीय सडक बत्ती जडान गरिरहँदा नजिकैको यो परियोजनाले भने सौर्य ऊर्जाप्रति आकर्षण थपेको छ। परियोजना प्रबन्धक रावत यो आयोजनामा ब्याट्री नभएकाले टिकाउ हुने पनि दावी गर्छन्। मर्मतसम्भारमा नियमित ध्यान दिन सक्यो भने सोलार फार्मिङबाट राम्रो उत्पादन लिन सकिने उनले बताए।

‘यो ग्रिड कनेक्टेड प्रोजेक्ट भएकाले ब्याट्री राखिएको छैन। त्यसले पनि मर्मतमा झन्झट हुँदैन। प्राविधिक टिमले नियमित रेखदेख र मर्मतसम्भार गर्न सके वर्षौंवर्ष उत्पादन लिन सकिन्छ,’ उनले भने। आफ्नै ३० प्रतिशत र ७० प्रतिशत ऋण गरी कुल ७० करोड लगानीमा सुरू गरिएको आयोजनामा बैंक अफ काठमाडौं, सिटिजन्स र नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेका छन्। सोलार फार्मिङबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न आठ सय ५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ। इन्भर्टरबाट आएको विद्युत ८ दशमलव ५ एमबिएको ट्रान्सफर्मरले ३३ केभीमा परिणत गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने रावतले जानकारी दिए।

अहिले त्यही ३३ केभीको ट्रान्समिसन लाइन विस्तार भइरहेको उनले बताए।

ब्याट्री नराखी ग्रिड कनेक्टेड भएकाले परियोजनाले घाम लागेको समयमा मात्र विद्युत उत्पादन गर्ने छ। यसरी हेर्दा दैनिक ९/१० घन्टा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ। सुख्खायाममा खोलामा पानी नभएका बेला रिडी हाइड्रोपावरबाट हुने विद्युत उत्पादनको कमी पूरा गर्ने यो परियोजनाको लक्ष्य भएको रावत बताउँछन्। ‘दिउँसो सोलारबाट विद्युत उत्पादन गर्ने र दिउँसोको पानी संकलन गरेर राती हाइड्रोपावरबाट विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।

आयोजना सुरू हुँदा यहाँ उत्पादित विद्युत योगीकुटीमा रहेको सबस्टेसनमा पठाउने गरी सम्झौता गरिएको भए पनि ट्रान्समिसन लाइन विस्तार हुन नसक्दा अमुवा सबस्टेसनमा जोड्ने गरी काम थालिएको हो। परियोजनाले विद्युत प्राधिकरणसँग प्रतियुनिट सात रूपैयाँ ३० पैसाका दरले उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरिसकेको छ। वार्षिक एक करोड ४५ लाख युनिट विद्युत आपूर्ति गर्ने ग्यारेन्टीसहित प्राधिकरणसँग २५ वर्षका लागि खरिद सम्झौता भएको छ।

सोलार फार्मिङसँगै बेसार खेती र नर्सरीः

परियोजनाले लिजमा लिएको जग्गा यसअघि धान र गहुँखेती हुने उर्वराभूमि हो। त्यसैले सोलार फार्मिङसँगै यहाँ परियोजनाले फलफूल र बेसार खेती गरेको छ। लिजमा लिएको २६ विघा जग्गामध्ये आधाभन्दा कममा सौर्य पाता जडान गरिएको छ। केही जग्गामा बाटो, अफिस लगायत संरचना बनाइएको छ भने बाँकी खाली छ। त्यस्तै सोलार पाताको लाइनप नि ४ मिटर दुरीमा राखिएकाले बीचको भाग खाली छ।

त्यही खाली जग्गामा परियोजनाले बेसार खेती गरेको हो। दुई महिना पहिले लगाएको बेसार अहिले हुर्किएर हरियै छ। बेसारसँगै तरूल, ड्रागन फ्रुट, मेवा लगायत पनि खेती गरिएको छ। त्यस्तै मणिग्राम फलफूल तथा तरकारी नर्सरी उद्योगका नामबाट ड्रागन, एभोकाडो, म्याकडामिया, अगरउड, नरिवल, सुपारी, आँप, लिची, ठूलो वयर, ओखर, रूद्राक्ष, तरूल र बेसारका बिरूवा र बिउ समेत विक्री वितरण गर्दै आएको छ।

अहिले पहिलो वर्ष भएकाले २५ टन बेसार लगाएको परियोजनाले अर्को वर्ष २५ टन थप्ने योजना बनाएको छ। यसबाट कुल दुई सय ५० टन बेसार उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏