जापानबाट फर्केर व्यावसायिक बाख्रापालनमा रमाउँदै पर्वतको जलजलाका सुवेदी

कृषि पोष्ट संवाददाता

पर्वत , २८ भदौ ।

कोरोना भाईरसको महामारीका कारण धेरै क्षेत्र अस्तव्यस्त बनिरहेका छन् । कतिपयको रोजगारी गुमेको छ भने व्यापार, व्यावसाय, उद्योग, कलकारखाना समेत धरासायि बनेका बेला पर्वतको जलजला गाउँपालिकाका वडा नं ६ का जागरुक युवा पुरुषोत्तम सुवेदीले स्वदेश फर्किएर व्यावसायिक रुपमा बाख्रापालन थालेका छन् । अध्ययन तथा रोजगारीका दौरान विद्यार्थी भिषामा पाँच बर्ष जापान बसी आफ्ना बाबु कुलप्रसाद सुवेदीको मेहनतबाट द्रबीभूत भई गाउँमै केही गर्न सकिन्छ भनी गत २०७६ मा स्वदेश फर्केका पुरुषोत्तम सानैदेखि मेहनतमा विश्वास गर्ने व्यबसायिक सोच भएका कर्मशील युवा हुन् ।

पृथ्वीको जुन भौगोलिक पाटोमा बस्यो त्यहाँकै माटो सुहाउँदो कर्म गरियो भने सफलता हात पार्न सकिन्छ भन्ने विश्वास मनमा बोकेका उनी जापानमा कमाउने भन्ने गरिएको मासिक दुई लाख कमाई कलेजको फी तिर्न, डेरा भाडा तिर्न, कार्यस्थलसम्म पुग्ने तथा फर्कने सवारीलाई भाडा तिर्दै अनि खाद्यान्न एवं लत्ताकपडामै सकिएर १०/ १५ हजार मात्र बचत हुने अवस्थाको लेखाजोखा गरी मासिक ५०- ६० हजार त बरु गाउँघरमै घरको आटो पिठो खाएर परिवारसँग रमाएर पनि कमाएर बचाउन सकिन्छ भनी गाउँ फर्किएको बताउँछन् ।

कोभिड-१९ को महामारी नियन्त्रणका लागि जिल्ला जिल्लामा गरिएका बन्दाबन्दीका कारण गाउँबाट कतै निस्कन नपाएका उनी खाली समयमा आफ्ना बाबुसँग मिली ३ वटा आधुनिक एवं व्यवस्थित खोर निर्माणमा जुटे । झण्डै ८० वटा बाख्रा अटाउने क्षमताका ती खोरमा पाल्न गाउँमै उपलब्ध खरी जातका माउ बाख्रा तथा पाठा-पाठीहरु खरिद गर्दै गए । कम्तीमा ७५ वटा जति बाख्रा पुर्याउने लक्ष्य राखेका पुरुषोत्तमले हालसम्म माउ १३ वटा, बोका ७ वटा तथा ५ वटा पाठी गरी २५ वटा बाख्रा पाल्न सुरु गरिसकेका छन् ।

व्यवसाय आरम्भ गरी स्थानीय तहमा फर्म (व्यवसाय) दर्ताको प्रक्रियामा रहेका जुझारु युवा पुरुषोत्तम प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँ-गाउँमा संचालनमा रहेको तथा स्वरोजगार युवाहरुलाई प्रोत्साहन गर्ने राज्यको नीति भएकोले स्थानीय वडा कार्यालय, गाउँपालिका तथा जिल्लास्तरीय कार्यालयहरुबाट समेत आवश्यक सहयोग प्राप्त हुनेमा ढुक्क देखिन्छन् । हालालाई सात रोपनी पाखोबारीमा बाख्राका लागि पोषिला घाँसपात लगाएका उनले उच्च मनोबलका साथ भन्छन -गाउँमा केही छैन भनी विदेशमा त पैसाको बोटबाट नै पैसा टिप्न जाने हो कि जसरी बैदेशिक रोजगारीमा ओईरिने युवाका लागि असल पाठ सिकाउन पनि मैले व्यबसाय सुरु गरेको हुँ । बाख्राको जुतो खेतीपातीका लागि अति नै उत्तम मल हुने र सो उपयोगबाट तरकारी, फलफूल, खाद्यान्न बाली तथा घाँसखेतीलाई समेत फलदायक हुने हुँदा बाख्रापालनले बहुपक्षीय फाइदा पुगी उत्पादन चक्रलाई समेत टेवा पुग्ने स्थानीय बासिन्दाहरु सुनाउँछन् ।

स्थानीय अगुवा कृषक तथा व्यवसायीबाट अभिप्रेरित

स्थानीयस्तरमा झण्डै दुई दशक अगाडिदेखि व्यवसायिक फलफूल तथा कफी खेती गर्दै आएका लेखफाँटका अगुवा कृषक टिकानाथ सुवेदी, लेखफाँटकै रातामाटामा व्यवसायिक किवी खेती गरेका स्थानीय समाजसेवी यज्ञ सुवेदीको मेहेनत र व्यवसायिक सफलताबाट आफु उत्प्रेरित भएको पुरुषोत्तम बताउँछन् । छोराले थुप्रै खर्च गरेर विदेश गई छोटो समयमै फर्केकोमा बाबु-आमा खुशी हुनुहुन्न होला निु भनी जिज्ञासा राख्दा पुरुषोत्तम जवाफ दिन्छन कि ‘आफ्ना सन्तानसँग सँगै बसेर हो मा हो गर्न पाउँदा उहाँहरु निकै हर्षित् हुनुहुन्छ ।’ उनको व्यवसायमा उनका बाबु फुलप्रसाद तथा आमा चन्द्रकुमारी सुवेदीले सघाउने गरेका छन् । पर्वतको उत्तरी भेगमा पर्ने जलजला क्षेत्रको भौगोलिक बनोट तथा हावापानी फलफूल तथा तरकारी खेती र घाँसपात एवं चरिचरणको पर्याप्तताका कारण पशुपालनका लागि समेत अति नै उपयुक्त रहेको छ । यस भेगको बाँसखर्कमा थुप्रै समय अघिदेखि गरिदैं आएको व्यवसायिक सुन्तला खेती गण्डकी प्रदेशमै नमूना मानिन्छ ।

स्थानीय शालिजा माध्यमिक विद्यालयका पूर्व शिक्षक महेन्द्रप्रसाद सुवेदीले गाउँका व्यवसायिक उद्यममा जुटेका उनीजस्ता बेरोजगार युवाहरुलाई युवालाई सम्बन्धित स्थानीय तह तथा अन्य सरोकारवाला निकायले आवश्यक सहयोग तथा अनुदान प्रदान गरेमा व्यवसायिक यात्रा सफल र दिगो हुने मात्र नभै अन्य बेरोजगार युवाहरुलाई समेत हौसला मिल्ने बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏