कृषि मलको ठेक्का सम्झौता रद्द, १० करोडको धरौटी जफत हुने

कृषि पोष्ट संवाददाता

काठमाडौ , २१ भदौ ।

तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले क्षमा माग्दै दुःख व्यक्त गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गर्नुभएको हो । उहाँले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुुभयो । उहाँले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताउनुभयो । जसमध्ये शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि. रहेको छ । कृषि समग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७ ) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो । दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मिति सम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएमो मन्त्री भूसालले बताउनुभयो । उहाँले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताउनुभयो ।

उहाँले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत बताउनुभयो । उहाँले ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिएपनि विस्तारै सहज हुँदै जाने बताउनुभयो । यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको समेत बताउनुभयो । प्रधानमन्त्री स्तरबाट अनुमति पाइसकेकाले मल पैंचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री भूसालले बताउनुभयो । पैंचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्रीबिच समझादारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । अवको १५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भूसालले बताउनुभयो ।

नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरि काम आरम्भ भइसकेको पनि मन्त्री भूसालले बताउनुभयो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏